१ पुस,एजेन्सी ।
कुनै पनि नेपाली खेलाडी ड्राफ्टमा पर्न नसकेको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सन मंगलबार दुबईमा हुँदैछ । यो अक्सनमा विदेशी र भारतीय गरि ३३३ खेलाडी हुनेछन् । अक्सनमा ३० विदेशीसहित बढीमा ७७ खेलाडीमाथि बोली लाग्नेछ । आइपिएल विश्व क्रिकेटमा खेलाडीलाई सर्वाधिक पारिश्रमिक दिने फ्रेन्चाइज टि२० प्रतियोगिता हो ।
एकै रातबाट खेलाडी करोडपति बन्ने गर्दछन् । आइपिएलमा धेरै फ्रेन्चाइज टोलीलाई एकै खेलाडी आवश्यक परेको खण्डमा अक्सनमा धनको वर्षा हुने गर्दछ । यस पटक अक्सनमा अघिल्लो महिना विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमाथि धनको वर्षा हुने अनुमान गरिएको छ ।
आइपिएल २०२४ को अक्सनमा धनको वर्षा हुनसक्ने खेलाडीहरुको सूचीमा छन्, अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क । उनी अक्सन २०२४ मा सबैभन्दा बढी महँगो मूल्यमा बिक्न सक्ने खेलाडी हुन् । स्टार्क बिग म्याच प्लेयर हुन् । यस पटक उनले अक्सनमा २ करोड न्यूनतम मूल्यमा आफ्नो नाम दर्ता गराएका छन् ।
उनलाई किन्न बेंगलोरले बढी मूल्य लगाउने देखिन्छ । यस्तै चेन्नई, कोलकाता, दिल्ली, मुम्बई र हैदराबादले अक्सनमा स्टार्कलाई किन्न मूल्य लगाउने देखिन्छ । यस्तै अर्का खेलाडी हुन् अष्ट्रेलियाका बायाँ हाते ब्याटर ट्रविस हेड । जसलाई अक्सनमा धनको वर्षा हुनसक्ने अनुमान गरिएको छ । हेड पनि बिग म्याच प्लेयर हुन् ।
हेडले ओपनिङ र मध्यक्रम दुबैमा आक्रामक ब्याटिङको क्षमता राख्छन् । अक्सनमा हेडलाई किन्न धेरै फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यस्तै न्युजिल्यान्डका युवा अलराउन्डर रचिन रविन्द्रले अक्सनमा महँगो मूल्य पाउन सक्छन् । यद्यपी रचिनले अक्सनमा ५० लाख भारु मात्रै न्यूनतम मूल्य राखेका छन् ।
यस पटक अक्सनमा रचिनलाई किन्न कोलकाता, बेंगलोर, चेन्नई र मुम्बईबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यस्तै अक्सनमा महँगो मूल्यमा जान सक्ने अर्का क्रिकेटर हुन्, दक्षिण अफ्रिकाका युवा तीव्र गतिका बलर जेराल्ड कोट्जी । कोट्जी बाउन्सर बलका लागि माहिर छन् ।
हालसम्म आइपिएल नखेलेका उनले न्यूनतम मूल्य २ करोड भारु राखेका छन् । अर्का हुन् अष्ट्रेलियालाई विश्वकप उपाधि जिताउदाका सुपर हिरो प्याट कमिन्स । कमिन्स तीव्र गतिमा बलिङसँगै तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने गर्दछन् । २०२० को अक्सनमा कोलकाताले उनलाई १५ करोड ५० लाख भारुमा किनेको थियो ।
यसैगरि न्युजिल्यान्डका स्टार अलराउन्डर डर्याल मिचेल यस पटक अक्सनमा महँगो मूल्यमा बिक्न सक्छन् । मिचेलले अक्सनमा १ करोड ५० लाख भारु न्यूनतम राखेका छन् । अर्का खेलाडी छन्, अष्ट्रेलियाका तीव्र गतिका बलर जोश हेजलवुड । यसअघि उनलाई बेंगलोरले २०२२ को मेघा अक्सनमा ७ करोड ७५ लाख भारुमा किनेको थियो ।
यस्तै धनको वर्षा गराउने अर्का खेलाडी हुन्, श्रीलंकाका स्पिन अलराउन्डर वानिन्दु हसरंगा । हसरंगाले स्पिन आक्रामणसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । २०२२ को मेघा अक्सनमा उनलाई रोयल च्यालेन्जर्स बेंगलोरले १० करोड ७५ लाख भारुमा किनेको थियो । बेंगलोरले फुकुवा गरेपछि अक्सनमा हसरंगाले न्यूनतम मूल्य १ करोड ५० लाख भारु राखेका छन् ।