१ माघ,काठमाण्डौ ।
नेपालबाट अन्तर्राष्ट्रिय उडानका यात्रु बोक्नेमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स सबैभन्दा अग्रस्थानमा रहेको छ । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको अन्तर्राष्ट्रिय यात्रुको आवागमनमा अन्य ३४ वटा विदेशी वायुसेवा कम्पनीलाई पछाडि पार्दै राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले अग्रस्थानमा आउन सफल भएको हो ।
काठमाडौं विमानस्थलमा भएको कुल उडान र अवतरणका ४५ लाख ४१ हजार १३७ यात्रुमध्ये नेपाल एयरलाइन्सको हिस्सा १४.२० प्रतिशत छ । निगमले नेपालबाट भएको उडान अवतरणमा ६ लाख ४५ हजार १६६ यात्रुलाई सेवा दिँदा दिएर अग्रणी स्थान कायमै राखिरहेको छ । त्यसो त नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानमा निगम सधैंजसो अगाडि नै आइरहन्छ ।
निगमले गत वर्ष सन् २०२३ मा ३ लाख ४५ हजार यात्रुलाई काठमाडौंबाट विभिन्न देशका अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याएको छ । निगमले बाहिरबाट नेपाल ल्याएको यस्ता अन्तर्राष्ट्रिय उडानका यात्रु २ लाख ९७ हजार रहेको विमानस्थलको तथ्यांकले देखाएको छ । निगमले पछिल्लो एक वर्षका गरेको जम्मा ३ हजार ७८१ उडानबाट करिब साढे ६ लाख यात्रुलाई सेवा दिएको हो ।
यस्तो उडानमा काठमाडौंबाट भएको प्रस्थान १ हजार ८९० र आगमन १ हजार ८९० रहेको पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जारी गरेको तथ्यांकमा उल्लेख छ । वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि ४ वटा जहाज प्रयोग गर्दै आएको छ । यसमध्ये २५४ सिट क्षमताका २ वटा वाइडबडी र १५० सिट क्षमताका २ वटा न्यरोवडी जहाज छन् ।
नेपाल वायुसेवा निगमपछि यात्रु धेरै बोक्नेमा कतार एयरलाइन्स छ । यो वायुसेवाले पछिल्लो एक वर्षमा ६ लाख २७ हजार यात्रु बोकेको छ । यो वायुसेवाले पनि काठमाडौं बाहिर लगेको यात्रु ३ लाख २६ हजार रहेको छ भने काठमाडौं ल्याएको यात्रु ३ लाखमात्रै छ । नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले पूर्णक्षमतामा यात्रु बोक्न पाएको छैन ।
निगमले पूर्णक्षमतामा यात्रु बोक्न पाउने हो भने अहिले भएकै जहाजबाट १० लाख अन्तर्राष्ट्रिय यात्रुलाई सेवा दिन सामान्य हुन्थ्यो । यस्तै निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरको बजार हिस्सा ६२.१० प्रतिशत छ । यो वायुसेवाले यात्रु उडानका हिसावले सबैभन्दा धेरै यात्रुलाई पछिल्लो एक वर्षमा सेवा दिएको छ ।
सन् २०२३ मा आन्तरिक उडानका ४१ लाख ५० हजार ३२६ यात्रुमध्ये बुद्ध एयर एकल्लैले २५ लाख ७७ हजार ६१८ यात्रुलाई सेवा दिएको छ । यो वायुसेवाले दिएको यस्तो यात्रु सेवा गत वर्ष सन् २०२२ मा २३ लाख ८७ हजार ८१२ रहेको थियो । बुद्ध एयरले पछिल्लो एक वर्षमा बोकेको यात्रु संख्या अघिल्लो वर्षको तुलनामा जम्मा ७.९४ प्रतिशतले मात्रै बढी हो ।
बुद्ध एयरको यस्तो यात्रु सेवा गत वर्ष २०२२ मा भने २४.८१ प्रतिशतले बढेको थियो । आन्तरिक उडानको यति एयरलाइन्सको यात्रु सेवा भने गत वर्ष सन् २०२३ मा ७ लाख १७ हजार ३० मात्रै रहेको छ । यस्तो यात्रु सेवा अघिल्लो वर्षको तुलनामा करिब २ लाखले घटेको छ । यति एयरलाइन्सले गत वर्ष ९ लाख ३७ हजार यात्रुलाई सेवा दिएको थियो ।
आन्तरिक उडानको श्री एयरलाइन्सले ६ लाख ५ हजार ३३८ यात्रुलाई सेवा दिएको छ । श्रीको यस्तो अघिल्लो वर्ष सन् २०२२ को तुलनामा घटेको छ । गत वर्ष सन् २०२२ मा श्रीले ७ लाख १७ हजार ५२३ यात्रुलाई सेवा दिएको थियो । आन्तरिक उडानको सीता एयरले गत वर्ष सन् २०२३ मा २१ हजार यात्रुलाई सेवा दिएको छ ।
यो वायुसेवा कम्पनीको भने अघिल्लो वर्ष सन् २०२२ को तुलनमा यात्रु संख्या करिब ६ हजारले बढेको छ । यसले गत वर्ष १४ हजार ६६१ यात्रुलाई सेवा दिएको थियो । अन्तर्राष्ट्रिय उडानमा सबैभन्दा धेरै यात्रुलाई सेवा दिएर अग्रणी स्थानमा आएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम आन्तरिक उडानमा भने निकै कमजोर छ ।
जहाज संख्या कम भएको र दुर्गम क्षेत्रमा मात्रै उडान गर्ने साना जहाजका कारण यो वायुसेवाले गत वर्ष सन् २०२३ मा जम्मा १३ हजार २८७ यात्रुलाई सेवा दिएको छ । यो वायुसेवाले अघिल्लो वर्ष सन् २०२२ मा १७ हजार ४१७ यात्रुलाई सेवा दिएको छ । नेपाल एयरलाइन्सले सन् २०२१ मा २० हजार २०८ यात्रुलाई सेवा दिएको छ ।