पृथ्वीकै ठूला बालुवाका ढिस्कोको रहस्य पत्ता लाग्यो

पृथ्वीकै ठूला बालुवाका ढिस्कोको रहस्य पत्ता लाग्यो

२२ फागुन, एजेन्सी । 
पृथ्वीको सबैभन्दा ठूलो र जटिल प्रकारमध्ये एउटा बालुवाको ढिस्कोको उमेर पहिलो पटक गणना गरिएको छ। विशेष खालका आकार भएका कारण यिनीहरूलाई अङ्ग्रेजीमा स्टार ड्यून्स अथवा पिरामिड ड्यून्स नाम दिइएको छ । बालुवाका यी विशेष ढिस्काहरू सयौँ मिटर अग्ला हुन्छन् ।

यस्ता ढिस्काहरू अफ्रिका, एसिया र उत्तर अमेरिकासहित मङ्गल ग्रहसम्म भेटिएका छन् तर विज्ञहरूले अहिलेसम्म ती ढिस्काहरू कहिले बनेका थिए भनेर पत्ता लगाउन सकेका थिएनन् । अहिले भने वैज्ञानिकहरूले मोरोक्कोमा रहेको लाला लालिया नामको बालुवाको ढिस्को १३ हजार वर्ष पहिले बनेको पत्ता लगाएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

स्टार ड्यून्स विपरीत तर्फबाट आएको हावाका कारण बन्ने गर्छन्। बालुवाको ढिस्कोको उमेरले वैज्ञानिकलाई ती हावाबारे बुझ्न मद्दत गर्छ जसले त्यो समयको जलवायुबारे बुझ्न सहयोग गर्ने युनिभर्सिटी अफ अबरिस्टविथका प्राध्यापक जियोफ ड्यूलरले भनेको बीबीसीले उल्लेख गरेको छ ।

उनले बर्कबेक युनिभर्सिटीस्थित प्राध्यापक चार्ल्स ब्रिस्टोसँग मिलेर आफ्नो अनुसन्धान प्रकाशित गरेका छन् । लाला लालिया (रैथाने अमेजिया नाम जसको अर्थ पवित्र उच्च विन्दु हुन्छ) दक्षिण–पूर्वी मोरोक्कोस्थित एर्ग चेबी स्यान्ड सीमा अवस्थित छ । यो एक सय मिटर अग्लो र ७०० मिटर चौडा फैलिएको छ ।

सुरुमा बनेपछि यो करिब ८००० वर्षसम्म वृद्धि हुन छोडेको थियो । त्यसपछिका पछिल्ला केही हजार वर्षहरूमा भने तीव्र रूपमा यसको आकार वृद्धि भएको छ । सामान्यतः मरुभूमिहरूको पहिचान पृथ्वीको भौगर्भिक इतिहासमा गर्न सकिन्छ । हुन्छ तर अहिलेसम्म स्टार ड्यून्सबारे जानकारी भने पाइन्नथ्यो ।

प्रोफेशर ड्यूलर भन्छन्, शायद यी ढिस्काहरू निकै ठूला हुने भएकाले विज्ञहरूले एउटा विशेष खालको ढिस्कोबारे अवलोकन गरिरहेका छन् भन्ने महसुस नै गरेका थिएनन् । “यी अध्ययन परिणामले सम्भवतः धेरै मानिसलाई चकित पार्न सक्छ किनभने यी ढिस्काहरू कति छिट्टै बने भन्ने कुरा हामी देख्न सक्छौँ।

यो मरुभूमिभरि प्रतिवर्ष करिब ५० सेन्टिमिटरले बढिहेको छ,“ उनले थपे । वैज्ञानिकहरूले स्टार ड्यूनको उमेर पत्ता लगाउन लुमनेसेन्स प्रविधिको प्रयोग गरेका थिए । यो विधिले बालुवाको कणमा पछिल्लो पटक कहिले दिनको उज्यालो परेको थियो भन्ने गणना गर्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.