अमेरिकी ‘युद्धविराम’ प्रस्तावमा रुस र चीनको भिटो

१० चैत, एजेन्सी । 

Advertisement

गाजामा तत्काल युद्धविराम गर्नुपर्ने भन्दै राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा अमेरिकाले लगेको मस्यौदा प्रस्तावलाई रुस र चीनले शुक्रबार भिटो लगाएका छन् । साथै मस्यौदा प्रस्तावले इजराइलमाथि दबाब नदिएको भन्दै मस्कोले वासिङ्टनमाथि ‘पाखण्डपूर्ण तमाशा’ गरेको आरोप लगाएको छ ।

पछिल्ला युद्धविरामको आह्वानसहितका प्रस्तावहरूलाई भिटो लगाएको इजराइलको प्रमुख सहयोगी अमेरिकाले पहिलोपटक ‘तत्काल र दिगो युद्धविरामको अनिवार्यता’ को समर्थन गरेको र हमासले अक्टोबर ७ मा गरेको आक्रमणको निन्दा गरेको प्रस्तावलाई अगाडि बढाएको थियो ।

Advertisement

उक्त प्रस्तावमा रुस र चीनले भिटो प्रयोग गरे भने अल्जेरियाले पनि प्रस्तावको विपक्षमा मतदान गर्यो । गुयना अनुपस्थित भयो । स्थायी सदस्यहरू फ्रान्स र बेलायतसहित सुरक्षा परिषद्का अन्य ११ सदस्यले प्रस्तावको पक्षमा मतदान गरेका थिए । राष्ट्रसङ्घका लागि रुसी राजदूत वासिली नेबेन्जियाले इजराइलमाथि नियन्त्रण गर्न अमेरिकाले केही नगरिरहेको भन्दै गाजालाई धर्तीबाट करिब समाप्त गरेपछि युद्धविरामको कुरा गरेकामा वासिङ्टनको उपहास गरे ।

‘हामीले एउटा विशिष्ट पाखण्डपूर्ण तमाशा हेरेका छौँ,’ उनले भने, ‘अमेरिकी प्रस्तावलाई अत्यधिक राजनीतिकरण गरिएको छ, यसको एउटा मात्र उद्देश्य भनेको मतदाताहरूसँग खेल्नु र गाजामा युद्धविरामको कुनै पनि प्रकारले उल्लेख गरेर उनीहरूलाई चिन्तित बनाउनु हो, यो प्रस्तावले इजराइलको दण्डहीनता सुनिश्चित गर्नेछ र यसका अपराधहरूलाई मस्यौदामा मूल्याङ्कनसमेत गरिएको छैन।’

Advertisement

उक्त मस्यौदा प्रस्तावले हमासद्वारा बन्धक बनाइएकाहरूलाई रिहाई गरिएको बदलामा युद्ध रोक्न अमेरिका र इजिप्टको समर्थनमा कतारको नेतृत्वमा जारी वार्तासँग युद्धविरामलाई जोडेको छ । अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले रुसी र चिनियाँ भिटोलाई ‘निन्दनीय’ मात्र नभएर ‘तुच्छ’ भएको समेत टिप्पणी गरे ।

‘रुस र चीन अमेरिकाले लेखेको प्रस्तावका लागि मतदान गर्न चाहँदैन थिए,’ उनले भने, ‘इमानदार बनौँ, सबै उग्र बयान आए पनि रुस र चीनले दिगो शान्तिलाई अगाडि बढाउन वा मानवीय प्रतिक्रिया प्रयासमा सार्थक योगदान दिन कूटनीतिकरूपमा केही पनि गरिरहेका छैनन् भन्ने हामी सबैलाई थाहा छ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top