१८ भदौ , काठमाण्डौ ।
अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। यसैकारण विभिन्न प्रदेशभा आंशिक तथा साधरणतया मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुशार आज विभिन्न ५ प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ । यस्तै केही सानाठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने भन्दै नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, लुम्बिनी र बाग्मती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्ग हित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आज देशका केही सानाठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस दिन संखुवासभा, ताप्लेजुङ, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, उदयपुर, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, रोल्पा, सल्यान, सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, बझाङ, बाजुरा, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला र हुम्ला भई बहने केही साना नदीमा बहाव बढ्ने पूर्वानुमान छ ।
आज र भोलि कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह सामान्य अवस्थामा रहने अनुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सामान्य अवस्थामा रहने पूर्वानुमान छ । आउँदो बिहीबार (पर्सि) कोसी, नारायणी र यसका केही सहायक नदीहरूको जलसतह उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।