काठमाडौँ,असोज ६
भारतको आगरामा जारी एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपाल थाईल्याण्डसंग पराजित भएको छ । समूह ‘ए’ अन्तर्गत शनिबार भएको दोस्रो खेलमा थाईल्याण्डले २–० गोल अन्तरले नेपाललाई पराजित गरेको हो ।
गोल गर्ने धेरै अवसरको सिर्जना गरे पनि फिनिसिङ फितलो हुुनु नेपालका लागि दुर्भाग्यपूर्ण बन्यो । प्रतियोगिता ४६ औं संस्करणमा पुग्दा पहिलो पटक भाग लिने अवसर पाएको नेपालले सुरुवात भने चित्त बुझ्दो गर्न सकेन ।
थाईल्याण्डले खेलको २१ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै नेपाललाई दबावमा राखेको थियो । कोरियन रेफ्रीको गलत निर्णयका कारण थाईल्याण्डले फ्रिकिकको अवसर पाएको थियो ।
नेपाली खेलाडी १० जनामा सीमित भएको मौकामा ७६ औं मिनेटमा थाना इसोरले गोल थपेर थाईल्याण्डको जित पक्का गराएका थिए । ६४ औं मिनेटमा नेपाल १० खेलाडीमा सीमित बनेको थियो ।
फरवार्ड बुद्ध वल तामाङलाई विना कारण रातो कार्ड देखाएर मैदान छोडाउँदा नेपाल १० खेलाडीमा खुम्चियो । आफ्ना खेलाडीलाई रातो कार्ड दिएको विषयमा नेपाली प्रशिक्षक, व्यवस्थापक र उपस्थित दर्शकले समेत असन्तुष्टि जनाएका छन् ।