२१ असोज , काठमाण्डौ।
बक्सअफिसमा सुपरडुपर हिट भारतीय फिल्म ‘स्त्री २’ र अर्को सुपरडुपर हिट तेलेगु फिल्म पुष्पा त यहाँहरुले हेर्नु नै भएको होला । उक्त फिल्मका एकदमै चर्चित गीत ‘आइ नही’ र ‘श्रीवल्ली’ त झन् सर्वाधिक चर्चा बटुलेको छ ।
यस्ता थुप्रै चर्चित गीतहरुको कोरियोग्राफी (नृत्य निर्देशन) जानी मास्टर भने अहिले जेलमा छन् । नाबालिग सहायकलाई बलात्कार गरेको आरोपमा जेल परेका जानीको खबर लिएर हामी नेपाल टाइम्स अनलाइन समाचारमा उपस्थित भएका छौं ।
नेल्लौर आन्द्र प्रदेशमा जन्मिएका शाइक जानी बाशा उर्फ जानी मास्टर तेलेगु, तमिल, कन्नाडा र हिन्दी सिनेमाका चर्चित नृत्य निर्देशक हुन् । उनी पश्चिमी र लोक शैलीहरूका विभिन्न नृत्य शैलीहरू कोरियोग्राफ गर्छन् ।
उनले राष्ट्रिय चलचित्र पुरस्कार, तीन फिल्मफेयर अवार्ड साउथ र तीन सिमा अवार्ड प्राप्त गरेका छन् । तर उनै जानी मास्टर हाल हैदरावादको चंचलगुडा सेन्ट्रल जेलमा छन् । उनीमाथि नाबालिग सहायकलाई बलात्कार गरेको आरोप लागेको छ ।
जसले गर्दा उनको उत्कृष्ट कोरियोग्राफरको राष्ट्रिय अवार्ड पनि खोसिएको छ । प्रहरीले गत १५ सेप्टेम्बरमा पोक्सोमा उनी विरुद्ध मुद्दा दर्ता गरेको थियो । जानीलाई १९ सेप्टेम्बरमा गोवाबाट पक्राउ गरिएको थियो ।
उनलाई २० सेप्टेम्बरमा अदालतमा पेश गरिएको थियो । त्यसयता उनी हैदरावादको चंचलगुडा सेन्ट्रल जेलमा रहेका छन् । उनको अवार्ड खोसिएको भारतको सूचना तथा प्रसारण मन्त्रालयले यसबारे जनाएको छ ।
जानीविरुद्ध १५ सेप्टेम्बरमा उनकी सहायक रहेकी युवतीले तेलंगानाको साइबराबाद रायदुर्गम पुलिस स्टेशनमा एफआईआर दर्ता गरेकी थिइन् । सन् २०२२ मा रिलिज भएको धनुषको फिल्म ‘तिरुचिथ्रम्बलम’को ‘मेघम करुकथा’ गीतको नृत्य कोरियोग्राफी गरेका जानी मास्टरलाई राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो ।
उनले सतीश कृष्णनसँग यस गीतको कोरियोग्राफी गरेका हुन् । मुद्दा दायर गरेकी युवतीले चेन्नई, मुम्बई र हैदरावादमा विभिन्न प्रोजेक्टको सुटिङका क्रममा आफूलाई यौन शोषण गरेको आरोप लगाएकी छन् ।
उनले हैदरावादस्थित आफ्नो घरमा पनि पटकपटक दुव्र्यवहार गरेको आरोप लगाइएको छ । युवतीले आफ्नो उजुरीमा सन् २०१७ मा जानी मास्टरसँग भेट भएको बताएकी छन्। दुई वर्षपछि, जानीले उनलाई आफ्नो सहायक कोरियोग्राफरको कामको प्रस्ताव गरे, जुन उनले स्वीकार गरिन् ।
त्यसपछि मुम्बईमा एक शोका क्रममा जानीले उनलाई होटलमा यौन दुव्र्यवहार गरेको जनाइएको छ । त्यसपछि जानीले लगातार धम्की दिएर शोषण गरेको युवतीको आरोप छ।
उनले आफूलाई विवाहका लागि बारम्बार दबाब दिइरहेको पनि उनी बताउँछिन् । एकपटक आफ्नो घरमा लगेर जानी र उनकी श्रीमती (आयशा)ले उनलाई कुटपिट गरेको आरोप पनि उनको छ ।