रियल मड्रिड र बार्सिलोनाको रोचक भिडन्त

रियल मड्रिड र बार्सिलोनाको रोचक भिडन्त

११ कार्तिक , एजेन्सी ।

विश्व फुटबलका दुई महारथी तथा चिरप्रतिद्वन्द्वी स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडबीचको भिडन्तमा बार्सिलोना हाबी भएको छ । नयाँ सिजनको ला लिगामा पहिलोपटक शनिबार राति साविक विजेता रियल र बार्सिलोनाले प्रतिस्पर्धा गरेका थिए ।

रियलको मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले ४–० गोलान्तरको सानदार जित निकालेको हो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा लामिन यमल र राफिन्हाले एक–एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा चार गोल गर्दै बार्सिलोनाले तीन अंक खोस्यो ।जितसँगै शीर्ष स्थानको बार्सिलोनाले ११ खेलमा ३० अंक बटुलेको छ । रियल भने २४ अंकका साथ दोस्रो स्थानमा छ ।

रियल मड्रिड र बार्सिलोना स्पेन राष्ट्रकै सबैभन्दा ठूला दुई सहर हुन् । दुवै सहरका दुवै फुटबल क्लब रियल र बार्सिलोनाबीच हुने हरेक म्याचलाई ‘एल क्लासिको’ को संज्ञा दिइन्छ। जसको मतलब हुन्छ सर्वोत्कृष्ट म्याच।

यी दुई क्लबबीचको दुश्मनी, उच्च कोटीको खेल प्रदर्शन, दुवैको ठूलो ‘फ्यान फलोइङ’, विश्व स्टार खेलाडीहरूको जमघट, गोलपछि खेलाडीले गर्ने सेलेब्रसन जस्ता विभिन्न कारणले गर्दा नै बार्सिलोना र रियलबीच खेल साँच्चिकै आकर्षक हुन्छ ।

सन् २००० को दशकको मध्यदेखि मात्र यी दुईबीचको म्याचले ‘एल क्लासिको’ नाम पाउन थालेको थियो। त्यसअघि यी दुईको म्याच ‘एल डर्बी म्याच’, बार्सा–मड्रिड म्याच वा मड्रिड–बार्सा म्याचको रूपमा चर्चित थियो।

बार्सिलोना र रियल मड्रिड मुख्यतः एक सिजनमा कम्तीमा दुईपटक पक्कै भिड्ने गर्छन्, स्पेनिस लिगको ‘होम एण्ड अवे’ म्याचमा। तर, कोपा डेल रे (स्पेनिस कप), च्याम्पियन्स लिग, स्पेनिस सुपर कप तथा सुपर कपलगायत प्रतियोगितामा पनि यी दुईको भेट हुने सम्भावना रहन्छ ।

‘एल क्लासिको’ म्याचलाई विश्व फुटबलमा नै हरेक वर्ष सबैभन्दा बढी हेरिने र कुरा गरिने क्लब फुटबल खेल मानिन्छ। यो प्रतिष्ठित म्याचको शुरुआत मे १३, सन् १९०२ बाट शुरु भएको थियो।

जुन हाल १२२ औं वर्षमा चलिरहेका छ।रियल मड्रिड र बार्सिलोना ‘एल क्लासिको’ म्याचमा हालसम्म २५८ पटक भिडिसकेका छन्। जसमा १०५ जितका साथ मड्रिडको पल्ला भारी छ।

बार्सिलोनाले १०१ खेल जितेको छ भने ५२ खेल बराबरीमा सकिएको छ। तर, यदि मैत्रीपूर्ण खेलको पनि हिसाब गर्ने हो भने कुल ३०१ खेलमा १२६ जितसहितबार्सिलोना अगाडि छ भने रियलले १११ खेल जितेको छ।

‘एल क्लासिको’ म्याचमा हालसम्मको सबैभन्दा ठूलो गोल अन्तरको जित ११–१ को छ। सन् १९४३ को कोपा डेल रेमा रियलले ११–१ ले फराकिलो अन्तरले पराजित गरेको थियो। ‘एल क्लासिको’ म्याच सर्वाधिक खेल्ने रेकर्डसर्जिओ बुस्क्वेट हुन् ।

उनले बार्सिलोनाबाट ४८ ‘एल क्लासिको’ म्याच खेलेका छन्।एल क्लासिकोमा सबैभन्दा धेरै खेल जित्ने खेलाडी पनि बुस्क्वेट नै हुन् । उनले २३ खेल जितेका छन् । यहाँ सर्वाधिक गोल गर्ने रेकर्ड भने अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले बनाएका छन्।

उनको नाउँमा २६ गोल छ। त्यस्तै गोलका लागि धेरै १४ असिस्ट पनि मेसीले नै गरेका छन्। एल क्लासिकोमा पेनाल्टीमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी पनि मेसी नै हुन् । उनले पेनाल्टीमार्फत् ६ गोल गरेका छन् ।

एल क्लासिकोमा अनुशासनहिन खेलाडीका रूपमा चिनिन्छन्, स्पेनिस खेलाडी सर्जियो रामोस । रियल मड्रिडका पूर्वडिफेन्डर रामोस एल क्लासिकोमा सबैभन्दा धेरै कार्ड पाउने खेलाडी हुन् ।

उनले २२ वटा पहेँलो कार्ड र पाँचवटा रेड कार्ड पाएका छन् । एल क्लासिकोमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी हुन्, रियल मड्रिडका पूर्वखेलाडी करिम बेन्जेमा । उनले सन् २०११ मा २१ सेकेन्डभित्रै गोल गरेर बनाएको उक्त कीर्तिमान कसैले तोड्न सकेको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.