रविलाई एकाविहानै सरकारी वकिलको कार्यालय लगियो

१४ मंसिर ८१, शुक्रबार
Share this
823shares

१४ मंसिर, काठमाण्डौ।

Advertisement

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको काठमाडौंमा बयान लिन थालिएको छ । उनलाई बयानका लागि सरकारी वकिलको कार्यालय काठमाडौंमा विहानै उपस्थित गराइएको छ ।

जहाँ उनको बयान जारी छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई विहीबार बेलुका बयानका लागि काठमाडौं ल्याइएको थियो । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी भएको थियो ।

Advertisement

उनीसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ । प्रहरीले पहिले स्वर्णलक्ष्मी सहकारीमा छापा मारेर केही कागजातहरू बरामद गरेको थियो, जसमा गाडी किन्न भनेर रवि लामिछाने र जिबी राईले दुई पटक गरेर ४६÷४६ लाख रुपैयाँ लिएको भेटिएको थियो ।

स्वर्णलक्ष्मीबाट जीबी र रविले दुई पटक ऋण लिएको तर फिर्ता नगरेको भेटिएको प्रहरीले जनाएको छ । २०७८ भदौ ४ मा उनीहरुले ‘फोर ह्विलर लोन’ र २०७८ कात्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकासा गराएको भेटिएको छ ।

Advertisement

‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार र ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार ऋण लिएका छन् । दुई पटक गरी जम्मा ९३ लाख ८६ हजार ऋण लिएका थिए । उनीहरूले ६१ लाख ७३ हजार फिर्ता गरेका छैनन् ।

गैर कानुनी हिसाबले जीबी र लामिछानेको नाममा प्रवाह भएको ऋणको ३५ थान भौचर प्रहरीले फेला परेको जनाइएको छ । यसपछि उनी छानबिनको दायरामा तानिएका हुन् । पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन भएको प्रकरणमा प्रहरीले लामिछानेलाई २ कात्तिकमा प्रहरीले वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको थियो ।

सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान थालेको थियो । लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ ।

प्रहरी अधिकृतहरुले यो बीचमा ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरु समेत बरामद गरेको छ भने लामिछाने र उनकी पत्नीको खातामा भएको कम्तिमा ५० करोड रुपैयाँ बराबरको कारोबारबारे पनि जाँच गरिरहेको छ ।

हाल काठमाडौँमा रविलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ । कारागार कार्यालय कास्कीमा थुनामा रहेका कुमार रम्तेललाई पनि काठमाडौँमा ल्याएर बयान लिइएको छ । ओखलढुंगा घर भएका रम्तेल स्वर्णलक्ष्मी सहकारीका पनि कोषाध्यक्ष हुन् ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राई हुन् । रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

२७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ । अब काठमाडौंमा रविको केही दिन बयान चल्ने प्रहरीको भनाइ छ । यसअघि लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि रुपन्देही लगिएको थियो ।

लामिछानेले हिरासतबाटै सोमबार राति आफूमाथि सरकारी वकिलको कार्यालयबाट पनि षड्यन्त्र भएको आरोप लगाउँदै लामो सन्देश सार्वजनिक गरेका थिए । लामिछानेलाई काठमाडौंमा बयानका लागि कम्तीमा ३ दिन राख्ने तयारी गरिएको छ ।

पछिल्लो पटक लामिछानेलाई कास्की जिल्ला अदालतले मंसिर ९ गते १५ दिनका लागि म्याद थप गरिएको छ । काठमाडौंको बयान सकिएपछि उनलाई कास्की लगिने छ भने उनीमाथि चितवनमा पनि पक्राउ पुर्जी जारी भएकाले कास्कीबाटै चितवन लैजाने प्रहरीको तयारी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top