अंग्रेजी नयाँ वर्षमा किन मनाइन्छ टोपी दिवस ?

अंग्रेजी नयाँ वर्षमा किन मनाइन्छ टोपी दिवस ?

१७ पुष , काठमाण्डौ।

नेपाली टोपी, केवल एक वस्त्र मात्र होइन, हाम्रो इतिहास, परम्परा, र गौरवशाली पहिचानको प्रतीक पनि हो। दौरा–सुरुवालसहितको यो टोपीले नेपालीहरूको राष्ट्रियता, संस्कृति र एकताको भावना झल्काउँछ । आज, राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउँदै गर्दा,हामी हाम्रो मौलिक संस्कृतिप्रति गर्व गर्दै नेपाली टोपीको महत्त्वलाई पुनः स्मरण गर्छौं।

यो टोपी हाम्रो सामाजिक र सांस्कृतिक जडहरूको कथा पनि हो, जसले हामीलाई हाम्रो पहिचान र परम्परासँग जोडिराखेको छ। यसै अवसरमा १२ औँ नेपाली टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । जागरुक युवा अभियान नेपालको आयोजनामा बुधवार काठमाडौंको वसन्तुपुरमा एक कार्यक्रम गरी मनाइएको हो ।

‘नेपाली टोपी लगाऔँः पहिचान जोगाऔँ’ भन्ने नारासहित यस वर्ष १२ औंैं नेपाली टोपी दिवस मनाइएको हो । दौरा शुरुवाल, टोपी र गुन्युचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न माग गर्दै नेपाली टोपी दिवस मनाउँदै आएको छ ।

उनीहरुले ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न सरकारसँग माग समेत गरेका छन् । उनीहरुले नेपाली टोपी लगाऔँ, पहिचान बढाऔँ, हाम्रो राष्ट्रिय पहिचान खै, विश्वको पहिचान पढौँ, नेपाली पहिचान तोकौँ, सामुदायिक टोपीको सम्मान, तपाईं हाम्रो अभियान जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न २०७० सालदेखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् ।

सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको संख्या पनि धेरै देखिने गरेको छ । बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको संख्या बढ्न थालेको छ ।

नेपाली युवाले बिर्संदै गएको राष्ट्रिय पोशाकको पुनःजागरण हुन थालेको छ । औपचारिक रुपमा राष्ट्रिय पोशाक हटाइएपछि युवाहरु जागरुक भएर यो अभियान सुरु गरेका हुन् ।’ अंग्रेजी नयाँ वर्षलाई नेपालीपन दिनका लागि यसै दिनमा नेपाली टोपी दिवस मनाउन थालिएको अभियन्ताहरुले बताएका छन् ।

यस्तै आजदेखि सन् २०२५ सुरु भएको छ । नयाँ वर्षलाई विश्वभर धुमधामका साथ स्वागत गरिएको छ । नयाँ वर्ष लागेलगत्तै विश्वका विभिन्न भागमा आतसबाजी प्रदर्शन गरिएको थियो । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात भएको मान्यता छ।

पोप ग्रेगोरियनले जुलियन पात्रोअनुसार संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ। जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको थियो ।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ। यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्। तर, केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँका ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ। मङ्गलबार बेलुकीदेखि नै राजधानीका ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा विशेष चहलपहल देखिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.