१७ माघ, एजेन्सी ।
युद्धविरामको सम्झौताअनरुप आज प्यालेष्टिनी सशस्त्र समूह हमासले थप ८ बन्दी रिहा गर्दैछ । हमासले आज थप तीन इजरायली बन्दी र पाँच जना थाइ बन्दीलाई रिहा गर्न लागेको टाइम्स अफ इजरायलले जनाएको छ ।
पत्रिकाका अनुसार हमासले दिएको तीन इजरायलीमा सेनाका २० वर्षीय जवान अगम बर्जर, २९ वर्षीय नागरिक अर्बेक येहुद र ८० वर्षका मोशे मोजेज छन् । रिह गर्न लागिएका पाँच जना थाई नागरिकको नाम भने खुलाइएको छैन ।
गाजामा हमासको कब्जामा ८ जना थाइ बन्दी छन् । नेपालका एक र तान्जानियाका एक जना छन् । थाईका अरु दुई बन्दी र तान्जानियाली नागरिकको मृत्यु भइसकेको इजरायलले भनेको छ । विपिन जोशीको बारे अहिलेसम्म केही पनि भनिएको छैन ।
तर इजरायलले हमासको नियन्त्रणमा रहेका नेपाली जीवितै रहेको बताएको छ । द टाइम्स अफ इजरायलले प्रकाशन गरेको समाचारमा गाजामा बन्धक बनाइएकाहरूमा एक नेपाली पनि रहेको लेखिएको छ । हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता एक मात्र नेपाली विपिन जोशी हुन् ।
आज रिहा हुने सूचीमा नेपाली बन्धक परेका छैनन् । द टाइम्स अफ इजरायलले लेखेको छ, ‘गाजामा अझै आठ थाई बन्धक छन्, साथै एक नेपाली र एक तान्जानियाली पनि छन्। तर दुई थाई नागरिक र एक तान्जानियाली भने मृत घोषणा गरिसकिएको छ।’
सामाजिक संजालमा विपिनको नाम समेत रिहा हुने सूचीको ५८ औं नम्बर रहेको भन्दै सार्वजनिक गरिएको भनिएपनि अन्तर्राष्ट्रिय समाचार संस्था रोर्यटसले इजरायलले कुनै आधिकारिक सूची सार्वजनिक नगरेको बताएको छ ।
यसबारे थप आधिकारिक पुष्टि हुन बाँकी छ। इजरायल र हमासबीच यही जनवरी १९ देखि युद्धविराम भएको छ । यसबीच उनीहरूले सम्झौताअनुसार आफ्ना नियन्त्रणमा रहेका एकअर्काका नागरिकलाई रिहा गरिरहेका छन् ।
यस क्रममा हमासले आज तेस्रोपटक बन्धक रिहा गर्न लागेको हो । यसअघि दुईपटक गरेर हमासले ७ बन्धक तथा बदलामा इजरायलले २९० प्यालेस्टिनी कैदी रिहा गरिसकेका छन् । गत वर्ष अक्टोबर ७ मा हमासले आक्रमण गरेपछि इजरायलले जवाफी आक्रमण गरेको हो ।
इजरायली जवाफी आक्रमणमा ४७ हजारभन्दा बढी गाजाबासी मारिएका छन् । इजरायली आक्रमणमा हमासका पनि हजारौँ लडाकु मारिए । हमासका सैन्य प्रमुख यह सिन्वर पनि इजरायली आक्रमणमा मारिए ।
यो १५ महिने युद्धका क्रममा हमासको हतियार भण्डार समाप्त भएको छ । तर, युद्धविराम भएसँगै गाजा क्षेत्रमा हमासको उपस्थिति देखिएको छ ।