१७ माघ,काठमाण्डौ।
कुनै बेलासंगै बाच्नेसंगै मर्ने कसम खादै बन्दुक बोकेर देशमा व्यवस्था परिवर्तन गरी जनताको अवस्था फर्ने भन्दै जङगल पसेका दुइ नेता बीचको सम्बन्धले नेपाली राजनितिमा निकै हलचल ल्याउने गर्छ । लामो समयदेखि दुई सहयोद्धा बीच प्रेम–घृणाको सम्बन्ध चल्दै आएको छ ।
जनयुद्धका यी सहयोद्धा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई अहिले फरक पार्टीको नेतृत्व गरिरहेका छन् । भारतपरस्त र राजापरस्तको आरोप लगाउँदै जुहारी खेलिरहेका प्रचण्ड–बाबुराम चुनवाङ बैठकमा एकताबद्ध भएका थिए ।
सोही बैठकबाट तत्कालीन माओवादीले अन्तरिम सरकार, गोलमेच सम्मेलन र संविधान सभा निर्वाचनको नीति अगाडि सारेको थियो । जुन एजेण्डा सार्दा बाबुराम कारबाहीमा परेका थिए । प्रचण्ड र बाबुरामको अन्तरसंघर्ष र कारबाहीको सिलसिला सशस्त्र युद्धकालभरि पनि नचलेको हैन् ।
तर शान्ति प्रक्रियामा आइसकेपछि सोह्रखुट्टे, नयाँबजारमा एउटै घरमा डेरा बसेका प्रचण्ड र बाबुरामको सम्बन्ध लामो समय टिक्न सकेन । प्रचण्डको बुझाइमा बाबुराम एकदमै अप्ठ्यारा नेता हुन् भने बाबुरामको बुझाइमा प्रचण्ड अवसरवादी र बेइमान हुन् ।
बुधबार मात्रै नेपाल समाजवादी विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै बाबुरामले प्रचण्डलाई लक्षित गर्दै भने, ‘जति छोपे पनि बिरालोले म्याउँ गरिहाल्छ । उहाँले बेलाबेला म्याउँ गरिराख्नुभएको छ । हामीले सहकार्य गरेका हौं, तर उनीहरु हामीलाई सिध्याउने षड्यन्त्रतिर लागे ।
सहकार्य गरेर गल्ती नगरेको भए पनि बेइमानहरुबाट ठगिएको चाँही हो । ’कोही साथीहरू त्यसैमा खाऊँ, पिऊँ, मस्ती गरौं भन्नेमा हुनुहुन्छ । प्रचण्डजी पनि त्यसैमा हुनुहुन्छ । नेपालीमा एउटा भनाइ छ, बरु भात छोड्नु तर, साथ नछोड्नु ।
तर यी दुई नेता बीचमा चाँही यो भनाइ सार्थक हुन सकेन् । चुनवाङ बैठकको समझदारी र एकताको बलमा पहिलो संविधानसभाबाट माओवादी मुलुककै सबैभन्दा ठूलो शक्ति बने पनि माओवादीको पालुङटार प्लेनमले चुनवाङ बैठकका निर्णयलाई चुनौती दिँदै विद्रोहको लाइन लिएको थियो ।
पार्टीभित्र लाइन फरक परेपछि त्यतिबेलैबाट बिजारोपण भएको प्रचण्ड–बाबुरामको झगडा अन्ततः राजनीतिक डिभोर्समा गएर टुंगिएको थियो । आरोप–प्रत्यारोप र खिसीटिउरीका श्रृङ्खला पार गरेर आएका नेताहरूले सार्वजनिक मञ्चबाट एकले अर्को अतिशयोक्तिपूर्ण प्रशंसा मात्रै गरिरहेका छैनन्, पत्यारै नलाग्ने ‘त्याग’ पनि गर्ने गरेका छन् ।
‘अब प्रचण्डसँग लत्रिएर बस्दिनँ’ भन्दै २०७२ मा आफैंले चार दशक बढी जीवनको ऊर्जा खर्चिएर बनाएको पार्टी परित्याग गरेका बाबुरामले ७९को निर्वाचनमा आफूले लड्दै आएको गोर्खाको चुनाव क्षेत्रनै प्रचण्डका लागि त्याग गरिदिए ।
तर केही महिना भित्रै आफ्नो त्यागले बाबुरामलाई भत्भती पोल्न थालेको थियो । बाबुरामले निर्वाचन क्षेत्र प्रचण्डलाई सुम्पिएर उनीसँगको सम्बन्धलाई फेरि नयाँ सिराबाट गास्न खोजेका थिए । निर्वाचनपछि पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको थियो ।
तर, प्रचण्डको खोलो तरेपछि लौरो विर्सने प्रवृत्तिका कारण बाबुरामसँगको सम्बन्धमा फेरी शत्रुतामा नै वदलियो । बाबुरामले पार्टीको नामलक्षित परिकल्पना गरेको समाजवादी मोर्चा नै प्रचण्डले हाइज्याक गरिदिए ।
प्रचण्डले २०८० असारमा बाबुराम विनाको समाजवादी मोर्चाको घोषणा गरेपछि बाबुराम पार्टी एकता र वैकल्पिक शक्तिको सपनाबाट झल्यास ब्युँझिएका थिए । यद्यपि समाजवादी मोर्चाबाट बाबुराम उछिट्टिनुमा प्रचण्ड मात्रै होइन उपेन्द्र यादव समेत तगारो बनेका थिए ।
बाबुरामले प्रचण्डबाट भोगेको यो मात्रै अन्तिम चोट होइन । उनकै सहअध्यक्ष महिन्द्रराय यादव समेत अहिले माओवादी कित्तामा छन् । उनले समूह माओवादीसँगको एकताको अन्तिम घडीमा रहेको छ । त्यसयता बाबुराम प्रचण्डलाई चुनाव क्षेत्र छाड्नु आफ्नो गल्ती भएको पटक पटक बताउने गरेका छन् ।
बाबुरामको प्रवृति व्यक्तिगत स्वार्थ मात्रै पूर्ति गर्न खोज्ने, गुटबन्दीमा मात्रैमा रमाउने, पार्टी होइन गुट बनाउने, स्वार्थ समूह बनाउने, गिरोह बनाउनेतिर लाग्ने अवसरवादीहरूको खेलौना भएको जस्ता आरोप प्रचण्डले लगाउने गर्छन् । तर प्रचण्ड र बाबुराम दुबै अस्थिर छबि भएका नेता हुन् ।
अतिमहत्वाकांक्षाबाट प्रचण्ड र बाबुराम दुबै अछुतो छैनन् । उतार–चढावमय प्रचण्ड र बाबुरामको यही सम्बन्धमा दुवैको व्यक्तिगत महत्वाकाङ्क्षाले चिसोपन थप्दै आएको छ । प्रचण्डलाई एउटा आरोप लाग्छ उनी आफ्नो स्वार्थ पुरा गर्न जोसँग पनि मिल्न तयार हुन्छन ।
प्रचण्डले कसलाई कतिबेला धोका दिन्छन अत्तोपत्तो हुँदैन । जनयुद्धको सहयात्री बाबुराम भट्टराई, मोहन बैद्यदेखि शान्तिपूर्ण राजनीतिमा अवतरण गराउने गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र माधवकुमार नेपालसम्मलाई प्रचण्डले धोका दिएका छन् ।
प्रचण्डको धोकाबाट ओली पनि अछुतो छैनन् । यसमा पनि एउटै यात्रामा हिडेका भट्टराईलाई प्रचण्डले सबैभन्दा ठूलो चोट दिएका छन् । माओवादी पृष्ठभूमिका नेता तथा कार्यकर्ता संकटमा परेको बेला भट्टराईले एकजुट हुन खोजे पनि प्रचण्डको प्रवृत्तिले मिल्न दिँदैन ।
यसैले बाबुरामले निष्कर्ष निकालेका छन्, पुरानाहरुसँगको सहकार्य सफल र उपयोगि भएन । यसबाट पाठ सिकेर पुरानाहरु सुध्रिने र सहकार्य गर्ने सम्भावना रहेन । वैकल्पिक नयाँ शक्तिहरुसँग सहकार्य गरेर देशलाई विकल्प दिनुपर्छ भन्ने हाम्रो पछिल्लो निष्कर्ष हो ।’
पार्टीका प्रमुख नेताहरु बीचको झगडाले नेता कार्यकर्ताले मात्र हैन देश र जनताले समेत दुःख पाइरहेका छन् । २०४६ सालको प्रजातन्त्र स्थापनापछि प्रमुख दल नेपाली कांग्रेसमा दुइ नेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला बीचको झगडा नै यो देशको समुन्नती र स्थायी सरकारका लागि वाधक बन्न पुग्यो ।
त्यसपछि गिरिजाप्रसाद र शेरवहादुर देउवा बीचको टकरावले लोकतन्त्र नै खतरामा पुग्यो । तत्कालीन नेकपा एमालेका माधवकुमार नेपाल र केपी शर्मा ओली हुन् या वामदेब गौतम, प्रजातन्त्र पछि खुलेका दलहरु भित्रै एकले अर्कालाई सक्ने प्रयास हुँदा दलहरु नै सकिएका इतिहास साक्षी छन् ।
नेपालको राजनीतिमा नेताहरूबीचको प्रतिस्पर्धा स्वाभाविक हो, तर पार्टीभित्रको द्वन्द्वले सम्पूर्ण देशले क्षति व्यहोर्दै आएको छ। अब राजनीतिक नेतृत्वले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर स्थिरता र समृद्धिको बाटो पहिल्याउने कि इतिहासकै गलत क्रमलाई निरन्तरता दिने? यही प्रश्न नेपाली जनताका लागि आज पनि अनुत्तरित छ ।