४ असार, काठमाण्डौ ।
आर्लिङटन, टेक्सास, एटी एन्ड टी स्टेडियमको विशाल छानामुनि हजारौं समर्थकको आवाज आज विहान गुञ्जिरहेको थियो। फिफा विश्वकप २०२६ को समूह चरणमा मैदानमा दुई टिम उभिएका थिए, इङ्गल्यान्ड र क्रोएसिया। क्रोएसिया, त्यो नाम हो, जसले इङ्गल्यान्डका समर्थकलाई अझै पनि एउटा पुरानो घाउ सम्झाइदिन्छ।
आठ वर्षअघि, २०१८ को विश्वकप सेमिफाइनलमा यही टिमले इङ्गल्यान्डको सपना तोडेको थियो । तर आजको कथा फरक थियो। ८ वर्ष अघिको घाउमा आज इङ्गल्यान्डले मलपट्टी लगाएको छ । १२ औँ मिनेट। ह्यारी केन पेनाल्टी स्पटमा उभिएका थिए। स्टेडियम केही क्षणका लागि मौन भयो।

त्यो क्षणलाई ह्यारीले कुनै पनि गल्ती नगरी सदुपयोग गरे । अनि इङ्गल्यान्ड अग्रता बनाउदै अघि बढ्यो । त्यसपछि ४२ औँ मिनेटमा अर्को दृश्य आयो। कर्नरबाट आएको बल। भीडभाडको बीचमा माथि उफ्रिएको एउटा टाउको। त्याहा थिए फेरि केन। अनि फेरि गोल। यसरी नै म्याच अन्ततः ४–२ ले इङ्गल्यान्डको पक्षमा समाप्त भयो।
ती दुई गोलसँगै ह्यारी केन इङ्गल्यान्डका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बने। ग्यारी लिनेकरको दशकौँ पुरानो कीर्तिमान बराबरी गर्दै उनले इतिहासको अर्को ढोका खोले। फुटबलको संसारमा मेस्सी र रोनाल्डोले दशकौँसम्म हेडलाइन कब्जा गरे। जादू, गति, असम्भव ड्रिबल, अविश्वसनीय गोल। त्यही युगमा एउटा नाम प्रायः शान्त रह्यो। त्यो नाम हो, ह्यारी केन।

सायद उनी सबैभन्दा आकर्षक खेलाडी थिएनन्। तर जब खेल सकिन्थ्यो, स्कोरबोर्डमा उनको नाम धेरैपटक देखिन्थ्यो। आजको कथा त्यही खेलाडीको हो। एक यस्तो खेलाडी, जसले प्रतिभाभन्दा बढी धैर्यमा विश्वास ग¥यो। एक यस्तो खेलाडी, जसले आलोचनाभन्दा बढी निरन्तरतामा भरोसा ग¥यो। र एक यस्तो खेलाडी, जसले अन्ततः इतिहासलाई आफ्नो पक्षमा बोल्न बाध्य बनायो।
सन् १९९३, पूर्वी लन्डनको चिङफोर्ड। यहीं जन्मिएका थिए ह्यारी एडवर्ड केन। उनको बाल्यकाल कुनै फिल्मी संघर्षले भरिएको थिएन। न मेसीजस्तो स्वास्थ्य समस्याको कथा थियो, न रोनाल्डोजस्तो गरिबीको। साधारण परिवार। साधारण बालक तर एउटा असाधारण सपना, त्यो थियो फुटबल।
सानै उमेरमा उनी आर्सनलको एकेडेमी पुगे। तर धेरै समय टिकेनन्। निर्णय आयो, पर्याप्त छिटो छैनन्। आर्सनलले उनलाई छाडिदियो। त्यो क्षण सायद सामान्य थियो। तर फुटबल इतिहासले पछि प्रमाणित ग¥यो, कहिलेकाहीँ सबैभन्दा ठूलो गल्तीहरू पनि यस्तै शान्त रूपमा गरिन्छन्।
केन त्यसपछि टटनहम हटस्पर पुगे। तर त्यहाँ पनि उनको यात्रा सहज थिएन। उनीबारे कसैले “अर्को सुपरस्टार“ भनेन। कोचहरू उनलाई मेहनती भन्थे। बस्, मेहनती। त्यसपछि सुरु भयो ऋण सम्झौताहरूको लामो यात्रा।लेटन ओरिएन्ट, मिलवाल, नोरिच, लेस्टर सिटी, यसरी नै एक क्लबबाट अर्को क्लब। एक अवसरबाट अर्को अवसर।
धेरैले निष्कर्ष निकालिसकेका थिए, “यो केटा टटनहमका लागि पर्याप्त छैन।“तर एउटा कुरा कसैले देखेन। हरेक असफलतापछि, अरू घर फर्किँदा केन मैदानमै रहन्थे। उनी अतिरिक्त अभ्यास, अतिरिक्त शट, अतिरिक्त मेहनत गरिरहन्थे । बिस्तारै, केही बदलिन थाल्यो।
त्यो सिजन थियो २०१४–१५ । मौरिसियो पोचेटिनोले उनलाई अवसर दिए। त्यो अवसरले उनको जीवन बदलिदियो। केनले गोल गर्न थाले। फेरि गोल गर्न थाले। र फेरि पनि गोल नै गरे । केही वर्षभित्रै उनी प्रिमियर लिगका सबैभन्दा खतरनाक स्ट्राइकर बने। २०१५–१६ मा गोल्डेन बुट, २०१६–१७ मा फेरि र २०२०–२१ मा फेरि पनि उनी त्यसको हकदार बने ।
अब उनलाई बेवास्ता गर्न कसैका लागि सम्भव थिएन। उनले आफूले आफैलाई बलियो बनाइसकेका थिए । टटनहमका लागि उनी केवल नम्बर ९ थिएनन्। उनी क्लबको अनुहार बनेका थिए। तर एउटा समस्या अझै बाँकी थियो। गोल थिए, रेकर्ड थिए, प्रशंसा थियो तर ट्रफी थिएन। २०१९को च्याम्पियन्स लिग फाइनलमा हार, २०२१को लिग कप फाइनलमा फेरि हार र त्यही वर्ष युरो २०२० को फाइनलमा इटालीसँग पेनाल्टीमा पराजय।
हरेक ठूलो रातमा केन उपस्थित थिए। तर ट्रफी भने सधैं टाढा रह्यो। मिडियाले उनलाई “दुर्भाग्यशाली हिरो“ भन्न थाले । अनि आलोचकहरूले प्रश्न गरे, “महान खेलाडीलाई ट्रफीले परिभाषित गर्छ कि गर्दैन ?“यो प्रश्न वर्षौंसम्म उनको पछि लागिरह्यो। तर त्यही बीचमा अर्को अध्याय लेखिँदै थियो। २०१८ को रुसकोे विश्वकप ।केनले ६ गोल गरे अनि गोल्डेन बुट जिते।
इङ्गल्यान्डलाई सेमिफाइनलसम्म पु¥याए। त्यो प्रदर्शनले एउटा कुरा प्रमाणित ग¥यो कि, दबाबको मञ्चमा उनी कहिल्यै डराउँदैनन्। ह्यारी केनको खेल किन फरक छ ? सायद किनभने उनी असाधारण देखिन खोज्दैनन्। उनी सही समयमा सही ठाउँमा पुग्छन्। दुवै खुट्टाले गोल गर्न सक्छन्। हेडरमा घातक छन्।
र आवश्यक पर्दा आफैं गोल गर्नेभन्दा अरूलाई गोल गराउन रुचाउँछन्। उनको खेल चिच्याइदैन। तर प्रभाव छोडेर जान्छ। एकपटक केनले भनेका थिए, “मसँग रोनाल्डोको गति छैन। मेसीको जादू छैन। तर मसँग मेरो आफ्नै तरिका छ।“ सायद त्यही नै उनको सबैभन्दा ठूलो शक्ति थियो। २०२३मा १७ वर्षपछि उनले टटनहम छाडे। गन्तव्य बन्यो बायर्न म्युनिख।
जाँदा उनी टटनहमको इतिहासकै सर्वाधिक २८० गोलकर्ता बनिसकेका थिए। तर अझै एउटा खाली ठाउँ थियो। त्यो थियो ,ट्रफी । पहिलो सिजनमा उनले गोलको वर्षा गरे। तर बायर्नले उपाधि गुमायो। फेरि आलोचना रोकिएन । फेरि उही प्रश्न थियो, के केन सधैं नजिक पुगेर चुक्ने खेलाडी मात्र हुन् त केन ?
तर यसपटक कथा त्यहीँ रोकिएन। २०२४–२५मा बायर्नले बुन्डेसलिगा जित्यो। र ३१ वर्षको उमेरमा ह्यारी केनले अन्ततः आफ्नो पहिलो ठूलो उपाधि हात पारे। त्यो केवल ट्रफी थिएन। त्यो वर्षौंको प्रतीक्षा थियो। वर्षौंको आलोचनाको उत्तर थियो। त्यसपछिको सिजन अझै अविश्वसनीय बन्यो। ५१ खेल। ६१ गोल।
युरोपका शीर्ष पाँच लिगमा कसैले पनि त्यति गोल गरेन। संख्याहरू यति प्रभावशाली थिए कि तुलना सीधै क्रिस्टियानो रोनाल्डोको ऐतिहासिक सिजनसँग हुन थाल्यो। तर केनले त्यो उपलब्धि अझ कम खेलमा हासिल गरेका थिए। अब उनी केवल उत्कृष्ट स्ट्राइकर थिएनन्। उनी एक ऐतिहासिक गोलकर्ता बनिसकेका थिए।
र आज विश्वकप २०२६ मा क्रोएसियाविरुद्ध उनले दुई गोल गरे अनि अर्को रेकर्ड, अर्को उपलब्धिर अर्को अध्याय लेखे । इङ्गल्यान्डको इतिहासमा सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता उनी बनेका छन् । विश्वकपमा सर्वाधिक गोल गर्ने इङ्गलिस खेलाडी र डेभिड बेकहामपछि तीन फरक विश्वकपमा गोल गर्ने खेलाडी केन बनेका छन् ।
संख्याहरू बढिरहेका छन्। तर उनको एउटा लक्ष्य अझै बाँकी छ। १९६६ पछि इङ्गल्यान्डले विश्वकप जितेको छैन। र ह्यारी केनको करियरमा अझै एउटा सपना अधुरो छ। सायद यही विश्वकप त्यो उत्तर बन्न सक्छ।तर एउटा कुरा निश्चित छ। टटनहमको एकेडेमीमा शंका गरिएको त्यो केटोले आज विश्व फुटबलको इतिहासमा आफ्नो नाम लेखिसकेको छ।
प्रतिभाशाली खेलाडीहरू हरेक वर्ष जन्मिन्छन्। तर निरन्तरताले इतिहास बनाउने खेलाडीहरू विरलै जन्मिन्छन्। र ह्यारी केनको कथा शायद त्यही हो। चमकभन्दा माथि उठेको कथा। धैर्यको कथा विश्वासको कथा। किनभने अन्त्यमा, फुटबलमा बहस धेरै हुन सक्छ। तर संख्याहरू झूट बोल्दैनन्। र संख्याहरूले आज पनि एउटै कुरा भन्छन्, ह्यारी केन कोही भन्दा कम छैनन्।
