अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

८ असार ८३, सोमबार
Share this
813shares

८ असार, काठमाण्डौ ।

Advertisement

आज रास्वपाको प्रथम महाधिवेशन चितवनमा एक भव्य समारोहका बीच उद्घाटन भयो। महाधिवेशनमा शुभकामना दिनेहरूको लर्को लामै थियो। तीमध्ये एक थिए पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई। नेपाली राजनीतिक आकाशमा पूर्वप्रधानमन्त्री एवं विचारक डा. बाबुराम भट्टराईको अभिव्यक्तिले सधैँ एउटा विशिष्ट बहस सिर्जना गर्ने गर्दछ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विशेष मञ्चमा ७१ वर्ष पूरा गरी ७२ वर्षमा प्रवेश गर्दै गर्दा भट्टराईले दिएको अभिव्यक्तिलाई आज हामीले नेपाल टाइम्समा केलाउने प्रयास गरेका छौँ।पहिलो पुस्ताका टंकप्रसाद, बीपी कोइराला र पुष्पलालहरूले नेपालमा लोकतन्त्रको जग बसाले। दोस्रो पुस्ताका बाबुराम, प्रचण्ड, शेरबहादुर देउवा र केपी ओलीहरूले हतियार र शान्तिपूर्ण आन्दोलनको सम्मिश्रणबाट देशमा गणतन्त्र र नयाँ संविधान ल्याए।

Advertisement

तर, दोस्रो पुस्ता इतिहासकै सबैभन्दा ठुलो विचलन, कुशासन र संस्थागत भ्रष्टाचारको पर्याय बन्न पुग्यो। यही पृष्ठभूमिमा सामाजिक सञ्जाल, आधुनिक सूचना प्रविधि र जनआक्रोशको जगमा जन्मिएको ’जेन–जी’को विद्रोहले रवि र बालेनलाई नेपाली राजनीतिको केन्द्रमा स्थापित गरिदियो। डा. भट्टराईले यसलाई ’रिले दौड’ को संज्ञा दिँदै ब्याटल अब नयाँ पुस्ताको हातमा पुगेको घोषणा गरेका छन्।

तर, प्रश्न उठ्छः के साँच्चै अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि घुम्ला त? के यी दुई युवा नेताहरूले नेपाली राजनीतिको कुरुक्षेत्रमा आगामी तीन दशकसम्म आफ्नो सान्दर्भिकता बचाइराख्न सक्लान्? १०–११ वर्ष अघिदेखि ’नयाँ शक्ति’ को नारा लगाउँदै वैकल्पिक राजनीतिको जग बसाल्न खोजेका भट्टराई आफैँ संसद् र सत्ताको गणितमा असफल सिद्ध भए।

Advertisement

उनीमाथि आफ्नै पुराना सहयात्री र समाजका विभिन्न वर्गले ’अहिले आएर नयाँ शक्तिको चाकरी किन गरेको, के स्वार्थ छ?’ भनी प्रश्न उठाइरहेका छन्। यसको उत्तरमा भट्टराईले आफू प्रधानमन्त्री भइसकेको र ५० लाखको टाउकोको मूल्य बोकेर क्रान्तिबाट आएको मान्छे भएकाले अब कुनै ’ललिपप’ (पद वा प्रतिष्ठा) को लोभ नभएको स्पष्ट पारे।

उनले रास्वपा र बालेनको उदयलाई आफ्नो पुरानो ’नयाँ शक्ति अभियान’ कै सबैभन्दा ठुलो र जीवन्त उपलब्धिका रूपमा सहर्ष स्वीकार गरे। “जसरी बादशाह अकबरको कडा सुरक्षा घेरालाई तोडेर कसैले उनको जुँगा उखेल्न सक्दैनथ्यो, तर उनकै काखमा खेल्ने सानो नातिले सहजै जुँगा तानिदिन्थ्यो र सजायको सट्टा मिठाई पाउँथ्यो, ठिक त्यसैगरी आजका पुराना राजनीतिक दलका नेताहरूका अहङ्कारका जुँगा उखेल्ने सामथ्र्य बाह्य शक्ति वा ’कन्स्पिरेसी थ्योरी’ (षड्यन्त्रको सिद्धान्त) सँग छैन। यो सामथ्र्य केवल हाम्रै छोरा–नाति पुस्ताका रवि र बालेनहरूसँग मात्र छ।“

यो भाष्यले परम्परागत दलहरू काँग्रेस, एमाले, नेकपामा व्याप्त रहेको ’विदेशीले रैथाने शक्ति सिध्याउन लागे’ भन्ने न्यारेटिभलाई ठाडो चुनौती दिएको छ। यो कुनै विदेशी भू–राजनीतिको गोटी होइन, बरु घरेलु कुशासन र युवाहरूको निराशाबाट जन्मिएको विशुद्ध रैथाने आक्रोश हो भन्ने भट्टराईको विश्लेषण राजनीतिक रूपमा परिपक्व छ।

डा. भट्टराईले आफ्नो भाषणमा एउटा गम्भीर मनोवैज्ञानिक र राजनीतिक खतरा औँल्याएका छन्, जसले यी दुई वैकल्पिक शक्तिको जग नै भत्काउन सक्छ। त्यो हो— “रवि ठुलो कि बालेन ठुलो?“ भन्ने आन्तरिक र बाह्य खेल।वर्तमान परिप्रेक्ष्यमा रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत देशको ठुलो दलको नेतृत्व गर्दै सत्ता र संसद्को अङ्कगणितमा निर्णायक बनिसकेका छन्।

अर्कोतर्फ, बालेन्द्र शाह (बालेन) देशको राजधानी काठमाडौँ महानगरपालिकाको स्वतन्त्र मेयरका रूपमा रैथाने कर्मचारीतन्त्र र परम्परागत दलहरूको सिन्डिकेटलाई भत्काउँदै काम र परिणामको राजनीतिसँगै देशको कार्यकारीमा छन्। यी दुवैको कार्यशैली र राजनीतिक धरातल फरक छ। रवि लामिछाने पार्टी संयन्त्र, संसदीय राजनीति र मिडिया व्यवस्थापनमा अब्बल छन्।

बालेन्द्र शाह प्रशासनिक दृढता, कानुनको कडा कार्यान्वयन र पपुलिजम (लोकप्रियतावाद) को बलियो सम्मिश्रण छ।भट्टराईले मञ्चमा उनीहरूबीचको ’खासखुस’ र कुराकानीलाई सकारात्मक रूपमा लिँदै उनीहरूलाई पटक–पटक भेट्न र एक भइरहन सुझाव दिए। नेपालका परम्परागत शक्ति केन्द्रहरू र उनीहरूका आसेपासेहरूले यी दुई युवा नेताहरूबीच अहङ्कारको लडाइँ गराउने, फेसबुकका फलोअर्स र सञ्चारमाध्यममा ’को बढी पपुलर’ भनी तुलना गरेर मनमुटाव सिर्जना गराउने सम्भावना प्रबल रहन्छ।

यदि रवि र बालेन आगामी निर्वाचन र दूरगामी योजनामा एक ठाउँमा उभिन सकेनन् भने, वैकल्पिक राजनीतिको यो जग ५ वर्षमै ढल्नेछ। तर, यदि उनीहरूले एकअर्काको अस्तित्व र सामथ्र्यलाई स्वीकार गरेर अघि बढे भने, नेपालको राजनीति आगामी ३० वर्षसम्म साँच्चै उनीहरूकै मार्गचित्रमा हिँड्ने निश्चित छ।

’चुपचाप घण्टी’ बाट ’चुपचाप सुशासन र विकास’ तिरः अपग्रेड गर्न भट्टराईले सुझाव दिए। निर्वाचनका बेला रास्वपाको नारा थियो— “चुपचाप घण्टीमा छाप।“ यो नाराले देश–विदेशमा रहेका लाखौँ नेपाली युवाहरूलाई आकर्षित ग¥यो, जसले गर्दा रास्वपाले छोटो समयमै संसद्मा ठुलो स्पेस पायो। तर, डा. भट्टराईले भनेझैँ, अब यो शक्ति सत्ताको साझेदार र नीति निर्माणको तहमा पुगिसकेको छ।

त्यसैले अब पुरानो नाराले मात्र पुग्दैन। यसलाई “चुपचाप सुशासन र विकास“ मा अपग्रेड गर्नुपर्ने टड्कारो आवश्यकता छ। अहिलेको सबैभन्दा ठुलो चुनौती भनेकै ’गफ र नारा’ लाई ’परिणाम र डेलिभरी’ मा बदल्नु हो। रास्वपाभित्र डा. स्वर्णिम वाग्ले, शिशिर खनाल जस्ता बौद्धिक र प्राविधिक रूपमा सक्षम व्यक्तिहरू हुनु सकारात्मक पक्ष हो, जसलाई भट्टराईले पनि सहर्ष स्वीकारेका छन्।

तर, सत्तामा बस्दा पुराना दलहरूकै शैलीमा मन्त्रीहरू विवादमा तानिनु, सहकारी प्रकरण जस्ता विषयहरूमा प्रश्न उठ्नु र प्रशासनिक निर्णयहरूमा अलमलिनुले नयाँ शक्तिमाथि पनि आशङ्काका बादलहरू मडारिन थालेका छन्। बालेनले काठमाडौँमा केही साहसिक कामहरू गरे तापनि अदालतका आदेशहरू, कानुनी प्रक्रिया र कहिलेकाहीँ उत्तेजक सामाजिक सञ्जालका स्टेटसका कारण उनीमाथि ’स्टन्टबाजी’ को आरोप लाग्ने गरेको छ।

त्यसैले, अबको यात्रा केवल ताली र फलोअर्सको सङ्ख्यामा होइन, नागरिकले दैनिक जीवनमा महसुस गर्ने सुशासन र आर्थिक विकासमा आधारित हुनुपर्दछ। नयाँ शक्तिको उदय प्रविधि र आक्रोशको जगमा त भयो, तर यसको वैचारिक धरातल के हो? डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल र आफ्नो भाषणमार्फत रास्वपाको विधानमा उल्लेखित ’संवैधानिक समाजवाद’ माथि बौद्धिक प्रश्न उठाएका छन्।

कुनै पनि राजनीतिक दल वा आन्दोलन लामो समय सम्म टिकिरहनका लागि त्यसको स्पष्ट अर्थ–राजनीतिक कार्यदिशा चाहिन्छ। केवल ’हामी भ्रष्टाचार गर्दैनौँ’ र ’हामी युवा हौँ’ भन्ने नाराले मात्र देशको जटिल भू–राजनीति, हिमाल–पहाड–मधेसको विविधता र आर्थिक सङ्कटको समाधान हुन सक्दैन।

रास्वपाले अगाडि सारेको ’संवैधानिक समाजवाद’ उदारवादी पूँजीवाद हो कि, कल्याणकारी राज्यको अवधारणा हो कि, वा पुरानै कम्युनिस्ट ढाँचाको समाजवाद हो? यो अझै स्पष्ट छैन। भू–राजनीतिको जटिल मोडमा रहेको नेपालमा उत्तर (चीन) र दक्षिण (भारत) तथा पश्चिम (अमेरिका) का रणनीतिक स्वार्थहरू टकराइरहेका छन्।

यस्तो अवस्थामा रवि र बालेनको पुस्ताले राष्ट्रिय हित र परराष्ट्र नीतिमा कस्तो अडान लिन्छ, त्यसले उनीहरूको ३० वर्षे राजनीतिक आयु तय गर्नेछ। यो मूल प्रश्नको उत्तर खोज्न हामीले इतिहास र वर्तमान दुवैलाई केलाउनुपर्छ। डा. बाबुराम भट्टराईको ३० वर्षे भविष्यवाणी पूरा हुन र देशको नेतृत्व पूर्ण रूपमा रवि र बालेनको पुस्तामा जानका लागि गर्नुपर्ने केही अनिवार्य सर्त छन्।त्यसलाई पालना गर्नुपर्छ।

पहिलो कुरा डेलिभरी र सुशासनको ग्यारेन्टी यो सरकारले गर्नुपर्ने छ। जनता पुराना दलहरूसँग वैचारिक रूपमा असहमत भएर नयाँतिर लागेका होइनन्, बरु पुरानाले काम नगरेर नयाँ रोजेका हुन्। यदि रवि र बालेनले गृह मन्त्रालय, शिक्षा मन्त्रालय वा महानगरपालिका चलाउँदा पुरानै दलको भन्दा भिन्न र ठोस नतिजा दिन सकेनन् भने, जनताले उनीहरूलाई पनि पुरानालाई जस्तै निर्ममतापूर्वक फ्याँकिदिनेछन्। पपुलिजमको आयु छोटो हुन्छ, तर डेलिभरीको आयु लामो हुन्छ।

पार्टीले बहुदलीय लोकतन्त्रमा भिन्न विचारहरूलाई साथ लिएर हिँड्न सक्नुपर्छ। आलोचना गर्ने पत्रकार वा नागरिकलाई शत्रुवत् व्यवहार गर्ने प्रवृत्तिले उनीहरूलाई अधिनायकवादी दिशातिर धकेल्न सक्छ। ३० वर्ष नेतृत्व गर्नका लागि उदारता र लोकतान्त्रिक संस्कार अनिवार्य हुन्छ।

रास्वपा अहिले पनि धेरै हदसम्म ’रवि लामिछानेको क्रेज’ मा टिकेको छ। बालेनको अभियान ’बालेनको व्यक्तिगत ब्रान्ड’ मा टिकेको छ। व्यक्ति नजन्मिँदै वा व्यक्ति नरहँदै पनि विचार र संस्था टिकिरहनुपर्छ। रास्वपाले आफूलाई एउटा व्यक्तिवादी पार्टीबाट माथि उठाएर संस्थागत र लोकतान्त्रिक पद्धतिमा ढाल्न सकेन भने रविको पतनसँगै पार्टीको पनि पतन हुनेछ।

नेपाल जस्तो बहुजातीय, बहुभाषिक र जटिल भू–राजनीति भएको देशमा मधेस, जनजाति र पिछडिएका क्षेत्रको भावनालाई सम्बोधन नगरी राष्ट्रिय नेता बन्न असम्भव छ। रवि र बालेनको प्रभाव अहिलेसम्म सहरी र मध्यमवर्गीय युवाहरू हुँदै ग्रामीण क्षेत्र, सुदूरपश्चिम, कर्णाली र मधेसका भुइँमान्छेहरूका मुद्दालाई उनीहरूले कसरी आत्मसात् गर्छन्, त्यसले उनीहरूको भविष्य निर्धारण गर्नेछ।

समकालीन राजनीतिको अकाट्य सत्य हो— अबको भविष्य नयाँ पुस्ताकै हो। तर, अबको ३० वर्ष रवि र बालेनकै हातमा देशको साँचो जान्छ कि जाँदैन भन्ने कुरा पुराना दलहरूको अवरोधमा भन्दा बढी रवि र बालेन स्वयंको परिपक्वता, सहकार्यको भावना, वैचारिक स्पष्टता र डेलिभरीको क्षमतामा निर्भर गर्दछ।

यदि उनीहरूले आफूभित्रको व्यक्तिगत स्वार्थ र ’को ठुलो’ भन्ने अहङ्कारलाई त्यागेर, ’चुपचाप सुशासन र विकास’ को मार्गचित्रमा इमानदारिताका साथ अघि बढे भने, आगामी तीन दशक नेपालमा वैकल्पिक राजनीतिकै वर्चस्व रहनेछ र देशले समृद्धिको नयाँ चुचुरो चुम्नेछ। होइन भने, यो उदय केवल इतिहासको एउटा सुन्दर तर अल्पायुको ’झिल्को’ मात्र बनेर हराउनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top