९ जेठ , काठमाण्डौ ।
कतारले रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा आइतबार राति भएको विस्फोट र आगलागीमा नेपाली श्रमिक पनि घाइते भएको जनाएको छ । त्यस घटनामा १३ जनाको मृत्यु र ६६ जना घाइते भएको सार्वजनिक भएको थियो । घाइते नेपालीको संख्या र परिचय भने सार्वजनिक गरिएको छैन ।
दुर्घटनामा मृत्यु हुनेहरू भारतीय र पाकिस्तानी नागरिक रहेको कतारी अधिकारीहरूले जनाएका छन् । ऊर्जा मामिलासम्बन्धी राज्यमन्त्री तथा कतार इनर्जीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत साद बिन शेरिदा अल–काबीले सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा नेपालीसहित कतारी, भारतीय, पाकिस्तानी, बंगलादेशी, केन्याली, घानाली, तान्जानियाली र नाइजेरियाली नागरिक घाइते भएको जानकारी दिएका हुन्।
घाइतेमध्ये कसैको अवस्था गम्भीर नरहेको उनले बताए ।दुर्घटनापछि कतारमा कार्यरत नेपाली कामदारहरूको अवस्थाबारे चासो बढिरहेका बेला कतारी अधिकारीहरूले घाइते नेपालीसहित सबै घाइतेको अवस्था स्थिर रहेको बताएका छन् । अल–काबीले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
विस्फोटमा १२ भारतीय र एक पाकिस्तानी गरी १३ जनाको मृत्यु भएको हो । दोहास्थित भारतीय दूतावासले ‘एक्स’ मा पोस्ट गर्दै रस लाफान घटनामा १२ भारतीय नागरिकको ज्यान गएको पुष्टि गरेको छ । दूतावासले कतारी अधिकारीहरूलाई उद्धृत गर्दै सबै घाइतेहरूको अवस्था स्थिर रहेको र उनीहरूले उपयुक्त उपचार पाइरहेको जानकारी दिएको छ ।
कतारका ऊर्जा मन्त्री साद अल–काबीले यो घटनालाई आक्रमण नभई ‘दुर्घटना’ भनेका छन् । ‘दुर्घटना हो, तोडफोड वा शत्रुतापूर्ण गतिविधि होइन,’ उनले भनेका छन् । विगतमा पश्चिम एसिया युद्धका क्रममा इरानले खाडी क्षेत्रका ऊर्जा संरचनामा आक्रमण गर्ने क्रममा यसअघि रस लाफान क्षेत्रमा आक्रमण हुँदा क्षति पुगेको थियो ।
जसका कारण कतारले ग्यास उत्पादन अस्थायी रूपमा रोक्नु परेको थियो । सोमबार पनि विष्फोट र आगलागीको घटनाले आक्रमणको आशंका गरिएको थियो । तर कतार सरकारले आक्रमण नभएको स्पष्ट पारेको छ । विस्फोटको आवाज ६४ किलोमिटर टाढा दोहा शहरसम्म महसुस गरिएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार विष्फोटपछि ठूलो आगोको ज्वाला र बाक्लो धुवाँ उडेको थियो । आइतबार राति नै आगो नियन्त्रणमा लिइसकिएको छ । ऊर्जा मन्त्रीका अनुसार यस घटनाले निर्यात वा स्थानीय आवश्यकतामा कुनै असर पार्ने छैन। उनले वातावरणीय प्रभाव पनि नभएको बताएका छन् ।
कतार इनर्जीका अनुसार बरजान प्लान्ट डिसेम्बर २०२५ देखि अत्यावश्यक मर्मतका लागि बन्द थियो । दुर्घटना हुनुभन्दा दुई दिनअघि मात्र पुनः सञ्चालनमा ल्याइएको थियो । अल–काबीले घटनालाई सञ्चालनसम्बन्धी दुर्घटना भएको बताउँदै यसमा कुनै तोडफोड वा शत्रुतापूर्ण गतिविधिको संलग्नता नरहेको स्पष्ट पारे ।
‘कतार इनर्जीको आपत्कालीन उद्धार टोली र कतार सिभिल डिफेन्सले आगोलाई छिट्टै नियन्त्रणमा लिएका थिए,’ उनले भने । कतार इनर्जीले घटनाबाट एलएनजी उत्पादन केन्द्र, रास लाफान बन्दरगाह, निर्यात प्रणाली तथा अन्य आपूर्ति सञ्जालमा कुनै असर नपरेको जनाएको छ ।
कम्पनीका अनुसार क्षतिको मूल्याङ्कन तथा अनुसन्धानको काम जारी छ । अल–काबीले कतारसँग पर्याप्त ग्यास भण्डार र वैकल्पिक आपूर्ति क्षमता रहेकाले निर्यात तथा आन्तरिक आपूर्तिमा कुनै समस्या नआउने दाबी गरे । ¥यास लाफान बन्दरगाह संसारकै सबैभन्दा ठुलो कृत्रिम बन्दरगाह हो र यहाँ विश्वकै ठुलो एलएनजी निर्यात केन्द्र रहेको छ ।
आइतबार भएको यो विस्फोटको धक्का ७० किलोमिटर टाढा रहेको केन्द्रीय दोहासम्म महसुस गरिएको थियो, जसका कारण त्यहाँका बासिन्दाहरू त्रसित बनेका थिए । ऊर्जामन्त्री अल–काबीका अनुसार बारजान स्थानीय ग्यास आपूर्ति केन्द्रमा भएको यो विस्फोटको कारण पत्ता लगाउन सरकारले काम गरिरहेको छ ।
उनले यसबाट कुनै वातावरणीय जोखिम नरहेको बताए पनि उद्योगको कामकाज कहिलेदेखि पूर्ण रूपमा सञ्चालनमा आउँछ भन्ने कुरा यकिन गर्न गाह्रो भएको उल्लेख गरे । दुर्घटनाको अनुसन्धान सुरु भइसकेको छ र ज्यान गुमाउनेहरू सबै भारत र पाकिस्तानका नागरिक रहेको मन्त्री अल–काबीले पुष्टि गरेका छन् ।
मार्च महिनादेखि रोकिएको काम कामदारहरूले पुनः सुरु गर्ने क्रममा यो विस्फोट भएको हो । यसअघि अमेरिका–इजरायल र इरानबिचको युद्धका क्रममा भएको आक्रमणका कारण यो बन्दरगाहमा व्यापक क्षति पुगेको थियो। कतारइनर्जीका अनुसार उक्त क्षतिको मर्मतका लागि तीन देखि पाँच वर्ष लाग्नेछ र यसले एलएनजी उत्पादनमा १२.८ मिलियन टन कटौती गर्नेछ ।
कतारले यसअघि द्वन्द्वका कारण विश्वको कुल एलएनजी आपूर्तिको पाँचौँ हिस्सा रोकेको भए तापनि हालैका दिनहरूमा ढुवानी पुनः सुरु हुन थालेको थियो ।




