दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

९ जेठ , काठमाण्डौ ।

सोमबार एमालेको पुनर्गठन अभियानको सुझाव लिंदालिंदै सुर्खेतबाट समातिएका पूर्व अर्थमन्त्री विष्णु पौडेलविरूद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान हुँदैछ। एमाले उपाध्यक्ष पौडेलमाथि लागेको मुख्य आरोप चाहिं उनले विवादास्पद व्यापारी दीपक भट्टसँग मिलेर अवैध सम्पत्ति आर्जन गरेको भन्ने छ।

दीपक भट्टलगायत विवादास्पद व्यवसायीहरुलाई लाभ पुयाउनेदेखि विभिन्न व्यवसायीबाट लाभ लिएको संलग्नता खुलेपछि सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई पक्राउ गरेको बताइन्छ। केही दिनअघि मात्र विशेष अदालतले दीपक भट्ट र अर्का व्यवसायी सुलभ अग्रवाललाई पूर्पक्षका लागि थुनामा पठाइसकेको छ।

Advertisement

यही प्रकरणमा पाँच पटक अर्थमन्त्री भइसकेका पौडेलले नीतिगत निर्णयमार्फत आर्जन गरेको पैसा अरु कसैको नाममा सम्पति खरिद गर्न प्रयोग गरेको विभागको अनुसन्धानले देखाएको छ। एमालेभित्र शक्तिशाली मानिएका पौडेल २०५३ सालमा पहिलोपटक मन्त्री भएका थिए भने २०८२ सम्ममा ८ पटक मन्त्री भइसकेका छन्।

२९ वर्षसम्म सत्तामा ढलिमली गरेका पौडेललाई यसबीचमा बालुवाटारको सरकारी जग्गा ललिता निवास किर्ते गरेर लिएको समेत आरोप लाग्यो। पछि उनले त्यो जमिन फिर्ता गरेपछि उन्मुक्ति पाएका थिए। तर यसपाली पौडेल पक्राउ परेको प्रसंग चाहिं व्यवसायी दीपक भट्टसँगको कनेक्सनपछि नै हो।

Advertisement

सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानबाट पौडेलले भट्टलाई लाभ हुने गरी विभिन्न डिल गराएको फेला परेको बताइन्छ। पौडेलले डिल गरेको भन्ने विषयमा विभिन्न पक्षको बयानबाट पनि खुलिसकेको छ। अर्थमन्त्रीहुँदा पौडेलले एउटा व्यापारीलाई कुनै एक कम्पनीको सेयर दीपक भट्टको कम्पनीलाई सस्तोमा बेच्न दबाब दिएको आरोप छ ।

सस्तोमा सेयर बिक्री गरेबापत मलाई के लाभ हुन्छ ? भन्ने व्यापारीको प्रश्नमा पौडेलले चार वटा फाइदा हुने काम गरिदिन्छु भनेको विभाग बताउँछ। आश्वासन दिएकोमध्ये केही काम पौडेल अर्थमन्त्री भएका बेलामा सम्पन्न समेत गरेका छन्। त्यही बयानका आधारमा पौडेलमाथि अनुसन्धान गर्न पक्राउ गरिएको विभागले जनाएको छ।

त्यसमा पनि विभिन्न कालखण्डमा गरिएका निर्णय र डिलबाट भट्टलाई लाभ पुरÞ्याउँदै पौडेलले आफूलाई आएको पैसाबाट गाइपालक किसानका नाममा बुटवलमा जग्गा जमिन किनेको अनुसन्धानका क्रममा भेटिएको छ। पौडेलले डिल मिलाइदिए बापत ती किसानको नाममा जग्गाजमिन खरिद गरेको देखिएको छ।

यी गाइपालक किसानको केही वर्षअघिसम्म सम्पत्ति देखिदैन। जब पौडेल सरकारमा पुगे, त्यसपछि उनको आर्थिक उदय ह्वात्तै बढेको विभागले भनेको छ। आर्जन गरिएको सम्पतिमा पौडेलको प्रत्यक्ष स्वामित्व देखिँदैन। तर नियन्त्रण र लाभ भने पौडेलले लिएको देखिन्छ। सम्पति शुद्धीकरणको भाषामा यसलाई ’इन्डाइरेक्ट बेनिफिसियल ओनरसिप’ अर्थात ’अप्रत्यक्ष वास्तविक धनी’ भनिन्छ।

यसरी अर्थमन्त्रीहुँदा पौडेलले विभिन्न व्यक्तिको नाममा केही सम्पत्ति पार्किङ गरेको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन्। मिडिया रिपोर्टहरूका अनुसार पौडेलले अनुसन्धान भइरहेको जानकारी पाएपछि केही सरकारी अधिकारीलाई भेटेर प्रस्ट्याउने प्रयास गरेका थिए।

एक अनुसन्धान अधिकृत भन्छन्, ‘यो कुरा प्रधानमन्त्री कार्यालयसम्म पुग्यो। त्यसपछि रास्वपाको महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार पौडेलमाथि अनुसन्धान गर्न निर्देशन दिए।’ यही निर्देशनका आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुर्खेतस्थित प्रहरीलाई पत्राचार गरेपछि उनी समातिएको स्रोतको दाबी छ ।

लामो समयको अनुसन्धानपछि व्यवसायी भट्टविरुद्धको मुद्दा अदालत पुगेपछि उनी अहिले डिल्लीबजार कारगारमा छन्। सरकारले विभिन्न आर्थिक अपराधविरुद्ध भट्ट र शंकर समूह, इन्फिनिटी होल्डिङ्स र हिमालयन रि–इन्स्योरेन्सका सञ्चालकलगायत विभिन्न व्यापारीविरुद्ध २८ जेठमा एकैदिन तीन अदालतमा मुद्दा दायर गरिसकेको छ।

जिल्ला अदालत काठमाडौंमा धितोपत्र कसुरमा ८१ र बिमा कसुरमा ४२ जनाविरुद्ध मुद्दा चलाइएको छ। सम्पत्ति शुद्धीकरण कसुरमा ३९ जनाविरुद्ध विशेष अदालत र बैंकिङ कसुरमा ४ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा लगिएको छ। शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल तथा उपाध्यक्षद्वय सुलभ र शाहिल अग्रवाल र इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्टविरुद्ध चारवटै कसुरमा मुद्दा दायर गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले बिमा ऐनअन्तर्गतको कसुरमा ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २ सय २७, धितोपत्र ऐनबमोजिम कसुरमा १ अर्ब १४ करोड ८६ लाख ९ हजार ९ सय रुपैयाँ बिगो दाबी गर्दै मुद्दा चलाएको छ। त्यसपछि व्यवसायीहरूको नजरमा सफल अर्थमन्त्री मानिएका पौडेल पक्राउ परेपछि निजी क्षेत्रमा समेत तरंग पैदा भएको छ।

तर, मुलतः पौडेल पक्राउ परेको घटना राजनीतिक वृत्तमा उथलपुथल भइरहेको देखिन्छ। यसको अन्तर्य पनि भट्टको राजनीतिक कनेक्सनसंगै जोडिन्छ। किनकी भट्टको व्यापार र उच्च राजनीतिक सम्बन्ध एमालेका तत्कालीन नेता वामदेव गौतममार्फत अघि बढेको अनि गौतमपछिको गतिलो उठबस पौडेलसँग थियो।

पौडेल अर्थमन्त्री भएका बेलामा पुँजीबजारले हरियो बत्ति बाल्नुमा पनि भट्टको भूमिका रहेको बताइन्छ। भट्टसँग जोडिएका र उनीनिकट कम्पनीहरूको कारोबारले सर्किट नाघ्ने परिस्थितिको निर्माण गरेर भट्टले पौडेललाई अर्थमन्त्रीमा दमदार स्वागतको अर्थ लगाउने गरिएको थियो।

त्यसो त, कोभिडको समयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुँदा अर्थमन्त्रीमा विष्णु पौडेल नै थिए। उनीसँगकै कनेक्सनका कारण भट्टको पहलमा हिमालय पुनर्बीमा कम्पनीले लाइसेन्स पाएको थियो। उक्त कम्पनीको लाइसेन्सकै लागि योजनाबद्ध रूपमा सूर्य सिलवाललाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरियो। यही घटनाले पौडेल र भट्टको कनेक्सन पुष्टि हुने विभागको दाबी छ।

विष्णु पौडेल पहिलो पटक ०५३ चैत १२ देखि ०५४ असोज १० सम्म युवा, खेलकुद तथा संस्कृतिमन्त्री बनेका थिए। ०६५ भदौ ५ देखि ०६६ जेठ ७ सम्म उनी दोस्रो पटक मन्त्री बन्दै जलस्रोत मन्त्रालय सम्हाले। त्यतिबेला पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री बनेका थिए। त्यसैगरी झलनाथ खनालको नेतृत्वमा २०६७ सालमा बनेको मन्त्रिपरिषद्मा पौडेल रक्षामन्त्री थिए।

त्यतिबेला पौडेलले ०६७ चैत ३ देखि ०६८ भदौ ११ सम्म रक्षा मन्त्रालय सम्हाले। त्यसपछि थप पाँच पटक मन्त्री बनेका पौडेलले हरेक पटक अर्थ मन्त्रालय मात्रै सम्हाले। पहिलो पटक ०७२ कात्तिक र दोस्रो पटक ०७७ असोजमा अर्थमन्त्री बने। तेस्रो पटक ०७८ जेठमा, चौथो पटक ०७९ पुसमा उपप्रधानसहित अर्थमन्त्री बनेका पौडेल पछिल्लो पटक असार २०८१ मा अर्थमन्त्री बने।

यही विगतहरूले पुष्टि गर्छन्, एमालेभित्र पौडेल त्यस्ता प्रभावशाली नाती बनिरहे, जसले पटक–पटक आफूले भनेजस्तै मन्त्रालयको स्वाद लिन पाए। भाद्र २३ र २४ को जेनजी आन्दोलनपछि मात्र उनी सत्ताच्युत भएका हुन्। यहाँ अर्काे रोचक तथ्य पनि देखिन्छ । ओली जतिपटक प्रधानमन्त्री भएका छन्, च्यतिनै पटक पौडेल पनि ओलीको क्याबिनेटमा दोहोरिएका छन् ।

पौडेल एमालेको तीन वर्षअघि भएको महाधिवेशनबाट उपाध्यक्ष बनेका हुन्। सुरुमा पाल्पाबाट निर्वाचित भएका पौडेल त्यसपछि रूपन्देहीबाट निर्वाचित भैरहेका छन्। उनी पाँच पटक सांसद बनिसकेका छन् । यसरी राज्यसत्तामा मात्र हैन, पार्टी सत्तामा पनि पौडेल सधैं लाभ लिइरहने अनि प्रभाव छोडिराख्ने नेता बन्न सके।

जस्तो कि, एमाले र माओवादी केन्द्रको एकताको भूमिकामा पौडेल निकै सक्रिय थिए। २०७४ को चुनावअघि दुई दलबीच भएको वाम गठबन्धनको भूमिकामा पौडेल एमालेतर्फबाट सक्रिय थिए भने माओवादी केन्द्रबाट जनार्दन शर्मा सक्रिय थिए। अर्काे रोचक चाहिँ के छ भने, पौडेल र शर्मासँग निकट रहेका दीपक भट्ट यो गठबन्धनको भूमिकामा प्रत्यक्ष जोडिएका थिए।

ओली र प्रचण्डको बीचमा बसेर भट्टले पौडेल र शर्मालाई हस्ताक्षर गराएको तस्बिर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ। त्यो बेला दीपकले पार्टीहरू मिलाउने, सरकार फेरबदल गर्ने र मन्त्रीहरू नियुक्त गर्नेसम्मको हैसियत राख्ने गरेको चर्चा हुन्थ्यो। जसमध्ये दीपकका विश्वासपात्र नेता हुन् विष्णु पौडेल।

दीपककै भनसुनमा त्यसबेला झन्डै दुईतिहाईको शक्तिशाली नेकपा सरकारमा विष्णुलाई अर्थमन्त्री बनाइएको बताइन्छ। किनकी विष्णु पौडेल रक्षामन्त्री हुँदादेखि नै दीपक भट्ट निकट थिए। ०७४ मा भट्टले वाम गठबन्धन बनाउने सुत्रधारको रूपमा काम गरे। अनि त्यो टिममा सक्रिय देखिएका नेता पौडेल थिए।

त्यसैले अहिले पौडेल सम्पत्ति शुद्धीकरणको मुद्दामा तानिनुमा भट्ट कनेक्सनले पनि काम गरेको विभागको दाबी छ। राजनीतिक कनेक्सनमार्फत भट्टले व्यापारिक साम्राज्य विस्तार गरेका थिए, त्यो विस्तारमा पौडेलको भूमिका देखिएको विभाग बताउँछ।

पौडेलले आफू अर्थमन्त्री हुँदा नीतिगत निर्णय गरेरै भट्टलाई सहयोग गरेको आरोप छ। उनले दीपक भट्टसहितका विवादास्पद व्यवसायीलाई नीतिगत निर्णय गरेर लाभ पु¥याउने गर्थे। त्यसबापत प्राप्त अवैध आम्दानीलाई उनले आफन्तको नाममा विभिन्न ठाउँमा जग्गा किन्ने गरेको प्रमाण भेटिएको बताइन्छ।

पौडेल आफैले पैसा र सम्पत्ति नजोडे पनि अन्य व्यक्तिलाई नीतिगत लाभ पुग्ने निर्णय गराइदिएर त्यसवाफत् लाभ लिने गरेका थिए। सम्पत्ति अरूको भएपनि त्यसमा पौडेलले नै लाभ लिने गरेका थिए। भैरहवा क्षेत्र आसपासमा केही व्यवसायीहरूले बर्षौंदेखि सञ्चालन गरेको कम्पनीमा पनि दीपक भट्टलाई जोड्ने काम उनै पौडेलले गरेका थिए।

त्यसबाहेक, पौडेलको सहयोगमा उदाएका केही व्यवसायीलाई पछि दबाब दिएर भट्टका नाममा सेयर हस्तान्तरण गर्न लगाएको बताइन्छ। सो क्रममा सरकार बनाउने र ढाल्ने सम्झौता गर्दा भट्ट पनि प्रत्यक्षरुपमा संलग्न भएको भेटिएको छ। भट्ट र पौडेलको निकट सम्बन्ध पुष्टी हुने थुप्रै कागजपत्र र तस्बिरसमेत फेला परेको विभाग स्रोतको भनाइ छ । विभागले पौडेलको निवासमा पनि छापा मारेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

सम्बन्धित समाचार

Scroll to Top