१० असार, काठमाण्डौ।
इरान दबाबमा छ , तनावमा छ र विभेदको शिकार पनि बनिरहेको छ । तर यो प्रतिकुल अवस्थाबीच उसले मैदानमा आफ्नो आत्मबललाई मर्न दिएको छैन । यति हो इरानले जित्न सकेको छैन । तर हार्न पनि मानेको छैन । उसले आफ्नो समूह जीको हालसम्म खेलेको दुबै खेल बराबरीमा टुंग्याएको छ ।
तर हारेको छैन । अमेरिका, मेक्सिको र क्यानडामा जारी विश्वकपमा इरानले आफ्नो दुबै खेल अमेरिकी भूमिमा खेलेको छ । र, अब समूह चरणको अन्तिम खेल पनि अमेरिकी भूमिमा नै खेल्ने छ । यो त्यो भूमि हो जहाँ हरेक कुरा इरानका लागि प्रतिकुल छन ।
किनभने अमेरिका र इरानबीच चलेको चार महिना लामो युद्ध केही समय अघि मात्र विरामको बाटो लिएको छ । तर यी दुई देशबीचको शत्रुता भने कायम छ । जसको उदाहरण हो विश्वकप खेल्न अमेरिका पुगेको इरानी टोलीमाथि भएको दुव्र्यवहार, विभेद र अपमान ।
इरानी टोलीले भिसा नपाउने सम्मको अनुमान गरिए । इरानले विश्वकप बहिष्कार गर्नेसम्मको योजनाहरु अघि आए । तर फुटबल यस्तो शक्ति हो जसले युद्धलाई पनि माथ गर्न सक्छ । भयो यस्तै इरानी टोली अमेरिका पुग्यो । तर अमेरिका पुग्दै गर्दा उसले भोगेको अपमान र अवहेलना कम दुःख लाग्दो छैन ।
खेलाडीहरुले अध्यागमनको नाममा भोगेको असहज व्यवहार, होटलमा बस्न नदिएको घटना र गलत नारावाजी । इरानी टोलीले मन दुखाउने पक्षहरु थिए यी सबै घटना । तर त्यसले इरानको खेलमा असर भने पार्न सकेको छैन । गत १६ जुनमा लस एन्जलसमा न्यूजिल्याण्डसँग २–२ को बराबरी खेलेको इरान जुन २२ मा पनि लस एन्जलस रंगशालामा बेल्जियमसँग गोलरहित बराबरी रहयो ।
अब जुन २७ मा सियाटलमा आफ्नो समूहको अन्तिम खेल इजिप्टसँग खेल्नेछ । तर यही म्याच इरानका लागि अर्को दबाबको खेल हुनेछ । तर इजिप्टले पनि यस्तै दबाब भोग्नेछ । जुन २७ मा सियाटलमा फरक समुदायको परेड नै लाग्ने भएको छ । यी दुई टोलीको खेललाई विश्वको फरक समुदायले फरक रुपमा उचाल्ने भएका छन् ।
जस्ले दुबै टोली अनुचित दबाबमा रहनेछन् । समलंैगिकतालाई गैरकानूनी मान्ने दुई मुलुकहरु हुन – इजिप्ट र इरान । उनीहरु समलैंगिकतालाई घोर अपराधकोरुपमा व्याख्या गर्दै आएका मुलुक हुन् । यही कारण फरक समुदायका मानिसले यी दुईबीचको खेललाई LGBTQ+pride match को संज्ञा दिएका छन् ।
जसको कारण यी दुई मुलुकबीचको खेलमा रंगशालामा अनौठा दृश्यहरु देख्न पाइने भएको छ । LGBTQसमुदायमा समलिङ्गी,अन्तरलिङ्गी, उभयलिङ्गी र अलैंगिक मानिसहरु समेटिने गरेका छन् । यही समुदायले प्राइड म्याच अर्थात गौरवको खेलकोरुपमा इजिप्ट र इरानको खेललाई चित्रित गरेपछि फुटबल जंगतमा हंगामा नै मच्चिने अवस्था देखिएको छ । यी दुईबीचको खेललाईLGBTQ समुदायले उत्सवको रुपमा लिने भएको छ ।
इरानमा, समलिङ्गी सम्बन्धको हकमा अधिकतम सजाय मृत्युदण्ड हो भने इजिप्टमा, नैतिकताका कानूनहरू प्रायःLGBTQ+ समुदायको अधिकार र सम्बन्धहरूलाई दबाउन प्रयोग गरिन्छ । सियाटलमा यी दुई देशको खेल अघि आधिकारिक प्राइड सप्ताहान्तको रुपमा मे २६ का दिन शुक्रबार यो समुदायले विशेष कार्यक्रम गर्ने भएको छ ।
जसमा वाशिंगटन राज्यका कलाकारहरूलाई कलाकृतिहरूको डिजाइन पेश गर्न आमन्त्रित गरिएको छ भने खेल हुने रंगशाला र शहर वरिपरि विशेष प्रदर्शन गरिने तयारी पनि भइरहेको छ ।LGBTQ+ समुदायका अगुवाहरु फुटबलमा सीमा, संस्कृति र विश्वासका मानिसहरूलाई एकताबद्ध गर्ने अद्वितीय शक्ति रहेको उल्लेख गर्दै आफुहरुको अधिकार विश्वव्यापीरुपमा स्थापित गराउन यो खेल आफ्नो समुदायका लागि विशेष हुने बताउछन् ।
LGBTQ+समुदायको यो तयारीलाई लिएर इजिप्ट र इरान दुबै मुलुक दबाबमा परेका छन् । तर पनि दुबै देशले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।विश्वकपमा LGBTQ+ समुदायका व्यक्तिहरूको समर्थनमा गरिएको यो प्रयास पहिलो पटक भने होइन । यस अघि कतारमा २०२२ को विश्वकपमा पनि यस्तै प्रयास भएको थियो ।
कतारमा समलिङ्गीविरुद्धको कानून कडा छ । जस्को कारण फिफाले LGBTQ+समुदायका व्यक्तिहरूको समर्थनमा OneLoveआर्मब्यान्ड लगाउने खेलाडीहरूले पहेंलो कार्ड पाउने नियम नै बनायो । त्यतिखेर इङ्गल्याण्ड र वेल्स टोलीका कतिपय खेलाडीले OneLove आर्मब्यान्ड लगाउने योजना बनाएका थिए ।
तर फिफाको निर्णय पछि दुबै टोलीका खेलाडीहरुले यो तयारी बाध्य भएर त्यागेका थिए । यतिमात्र नभइ साउदी अरेबियामा हुने सन् २०३० को विश्वकपका लागि पनि LGBTQ+ समुदायकाहरुले त्यहाँको कानूनलाई लिएर अहिलेदेखि नै विरोधको आवाज उठाउन थालिसकेका छन् ।
LGBTQ+ समुदायप्रति अमेरिका उदार छ । यही कारण पनि यो समुदाय ४ बर्ष अघि कतारमा भन्दा अमेरिकामा धेरै अघि बढ्न सक्छन । जसले मैदान बाहिर अर्को खेल होला तर यसले खेलाडीलाई भने थप दबाबमा नपारोस् । कानून राज्यसँगको जोडिएको सवाल हो खेलाडीसँग होइन ।




