११ असार, काठमाण्डौ ।
चिया पसलदेखि सभा सम्मेलनसम्म एउटै प्रश्न सुनिन्छन अन्तर्राष्ट्रिय बजारमा इरान युद्ध रोकिएसँगै कच्चा तेलको भाउ त घट्यो, तर हाम्रो ढाँड सेकिरहेको इन्धनको मूल्य नेपालमा चाहिँ कहिले घट्ला ? युद्धविरामका सुखद खबरका बीच हाम्रो देश अझै महँगीको रापबाट मुक्त हुन सकेको छैन।
एकातिर विश्व राजनीति र भूराजनीतिक उथलपुथलले कोरेको नयाँ ऊर्जा समीकरण छ भने, अर्कोतिर सञ्चित घाटा र ऋणको पुरानै कथा दोहो¥याइरहने हाम्रो आफ्नै प्रणाली छ।विश्व बजारमा कच्चा तेलको ग्राफ तल झर्दै गर्दा, नेपाल आयल निगमको मूल्यसूची भने किन उही बिन्दुमा अड्किएको छ ? यो दिनदिनै भान्सा चलाउन धौ–धौ परिरहेका आम उपभोक्ताको प्रत्यक्ष सरोकारको प्रश्न हो।
आज हामी इरान अमेरिकाबीच सम्झौतापछि होर्मुज जलमडरु सुचारु भएसँगै विश्व तेल बजारमा कच्चा तेलको भाउ घट्दा त्यसको प्रभाव भारत र स्वचालित मूल्य प्रणाली लागू हुने नेपालमा किन पर्न सकेन् भन्ने विषयमा चर्चा गर्नेछौं ।गत फेब्रुअरी २८ मा अमेरिका र इजरेलले इरानमा हमला सुरु गर्नुअघिको अवस्थालाई फर्केर हेर्दा कच्चा तेलको मूल्य प्रतिब्यारल करिब ७६ अमेरिकी डलरको हाराहारीमा थियो।
तर, जब युद्धको राप र ताप बढ्न थाल्यो, विश्वबजारमा ब्रेन्ट क्रूडको मूल्यले आकाश छोयो र कुनै बेला यो ११८ डलरसम्म पुग्यो। अहिले भने परिस्थिति बदलिएको छ। मध्यपूर्वमा अमेरिका र इरानबीच अन्तरिम युद्धविराम सम्झौता भएसँगै विश्वबजारमा कच्चा तेलको भाउ ह्वात्तै घटेर करिब ७२ डलरको आसपासमा आइपुगेको छ।
होर्मुज जलमार्गमा रोकिएका तेल ट्याङ्करहरू पुनः सुचारु भएका छन् र एसियाली बजारमा कच्चा तेलको आपूर्ति सहज बन्दै गएको छ।अन्तर्राष्ट्रिय बजारमा यसरी तेल सस्तो भएसँगै नेपाली उपभोक्ताले पनि राहतको सास फेर्ने ठूलो आशा गरेका थिए। तर, अझै पनि इन्धनको भाउ युद्धरत समयकै अवस्थामा रहेको छ ।
यस विषयमा नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले प्राविधिक कारणहरू अघि सारेका छन्। उनको भनाइलाई मान्ने हो भने, नेपालले विश्वबजारबाट सोझै कच्चा तेल किन्दैन। हामीले भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्रशोधित तेल खरिद गर्ने हुनाले विश्वबजारमा कच्चा तेलको भाउ घट्नेबित्तिकै नेपालमा रातारात त्यसको असर देखिँदैन।
प्रवक्ता ठाकुरका अनुसार मध्यपूर्वमा कतिपय प्रशोधन केन्द्रहरू हमलामा परेर प्रभावित बनेका कारण अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य अझै पनि कच्चा तेल घटेकै अनुपातमा झरिसकेको छैन। प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा आईओसीले पठाउने मूल्यसूचीका आधारमा नेपालमा ’स्वचालित विधि’बाट मूल्य निर्धारण हुने नियम भए तापनि युद्धले यो प्रणालीलाई नै गिजोलिदिएको निगमको दाबी छ।
अब आउने जुलाई १ तारिखबाट लागू हुने गरी सञ्चालक समितिले नयाँ मूल्य तोक्ने र त्यतिखेर भने मूल्य केही न केही घट्ने निगमको अपेक्षा छ। निगमले प्रशोधित तेलको प्राविधिक कारण देखाइरहदा राजनीतिक वृत्तमा भने यसले आक्रोश पैदा गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले इन्धनको मूल्य नघटाएको भन्दै सरकार र आयल निगमको नियतमाथि नै कडा प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले निगमको बहानाबाजीले आम उपभोक्तालाई थप मारमा पारेको स्पष्ट पारेका छन्।
उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्चतम बिन्दु ११७.६३ डलर प्रतिब्यारेलबाट घटेर ६९.२१ डलरमा आइपुग्दा करिब ३० प्रतिशतले भारी गिरावट आइसकेको तथ्याङ्क प्रस्तुत गरेका छन्। यति ठूलो मात्रामा भाउ घटिसक्दा पनि नेपाली उपभोक्ताले किन अझै पुरानै महँगो दरमा इन्धन किन्नुपर्ने भन्दै उनले सरकारलाई प्रश्न छन्।
आयल निगमले सधैँ अघि सार्ने ’हामीले कच्चा होइन, प्रशोधित तेल किन्ने भएकाले तुरुन्तै मूल्य घट्दैन’ भन्ने भनाइलाई उनले ठाडै अस्वीकार गरेका छन्। प्रशोधन खर्च र केही दिनको समय अन्तर अवश्य भए पनि, कच्चा तेलको मूल्यमा आएको यति ठूलो गिरावटले प्रशोधित तेलको लागत पनि सोही अनुपातमा पक्कै घटाउने उनको तर्क छ।
यतिका दिन बितिसक्दा पनि मूल्य घटिरहेको वास्तविक सूचना नदिई तथ्य लुकाउनुलाई पौडेलले निगमभित्रको सुशासनको अभाव र चरम व्यवस्थापकीय कमजोरीको संज्ञा दिएका छन्। विशेषगरी निगमको स्वचालित मूल्य प्रणालीमाथिको उनको व्यङ्ग्य निकै चोटिलो छ।
भाउ बढ्ने बेलामा तुरुन्तै लागू हुने, तर घट्ने बेलामा चाहिँ लागू नहुने यो कस्तो प्रणाली हो भन्दै उनले घाटा हुँदा उपभोक्ताले महँगो मूल्य तिरेर साथ दिनुपर्ने तर सस्तो हुँदा चाहिँ राहत किन नपाउने प्रश्न गरेका छन् । हालको बजार मूल्यले उपभोक्ताको ढाड सेकिएको छ ।
होर्मुज जलमार्ग खुल्दै गर्दा र एसियामा प्रशोधित तेलको आपूर्ति सहज हुँदै गर्दा नेपालमा भने इन्धनको मूल्य हालसम्मकै उच्च बिन्दु आसपास छ। बजारमा अहिले पेट्रोलको मूल्य प्रतिलिटर दुई सय १४ रुपैयाँ ५० पैसा पुगेको छ, जसले दैनिक मोटरसाइकल र गाडी कुदाउने सर्वसाधारणलाई नराम्ररी पिरोलेको छ।
त्यसैगरी, सार्वजनिक यातायात, कृषि उपकरण र ढुवानीको मुख्य आधार मानिने डिजेल तथा मट्टितेलको मूल्य पनि प्रतिलिटर दुई सय २५ रुपैयाँ पुगेको छ। यसले समग्र बजारको महँगीलाई उकास्न इन्धनको काम गरिरहेको छ। भान्साको कुरा गर्ने हो भने अवस्था झनै दर्दनाक छ; खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर दुई हजार एक सय ६० रुपैयाँ पुगेको छ, जसले आम गृहिणीहरूको भान्साको बजेटलाई पूरै खलबलाइदिएको छ।
यतिसम्मकी अहिले पनि उपभोक्ता आधा सिलिन्डर ग्याँस नै खरिद गरेर चलाइरहेका छन् । यता उपभोक्ता महँगीले आक्रान्त हुँदा उता निगम भने आफ्नो ढुकुटी रित्तिएको बिलौना गरिरहेको छ । निगमले युद्धपछिको सङ्कट टार्न आफूले निकै कठिनाइ भोगेको र देशमा तेलको अभाव हुन नदिएको दाबी गरेको छ।
निगमका अनुसार मूल्य स्थिर राख्न करिब साढे दुई महिनामै ३६ अर्ब रुपैयाँ स्वाहा भइसकेको छ, जसमा १९ अर्ब रुपैयाँ मूल्य स्थिरीकरण कोषबाट र १७ अर्ब रुपैयाँ सञ्चित मुनाफाबाट खर्च गरिएको थियो। अहिले कोष र मुनाफा दुवै सकिएको निगमको दाबी छ।
आजका दिनमा पनि निगमलाई खाना पकाउने ग्यासको प्रत्येक सिलिन्डरमा १,१७४ रुपैयाँ घाटा रहेको र डिजेल तथा पेट्रोलमा प्रतिलिटर करिब ५ देखि ७ रुपैयाँ नाफा भए पनि त्यसले ग्यासको घाटा पूर्ति गर्न नसक्ने प्रवक्ता ठाकुरको स्पष्टीकरण छ।
एकातिर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लागेको स्पष्ट तथ्याङ्क छ भने अर्कोतिर आयल निगमको ’रित्तो ढुकुटी र प्रशोधित तेल’को प्राविधिक रटान छ। नेताहरू सामाजिक सञ्जालमा आक्रोश पोख्छन्, निगम विज्ञप्ति निकाल्छ।
तर यी दुईको चेपुवामा परेका छन, निमुखा आम नेपाली उपभोक्ता।आयल निगमले ’स्वचालित बिक्री मूल्य प्रणाली’ लागू गरेको दाबी त गर्छ, तर व्यवहारमा यो प्रणाली बढाउन मात्र स्वचालित र घटाउन चाहिँ म्यानुअल जस्तो देखिएको छ।
घाटाको सम्पूर्ण भार उपभोक्ताको थाप्लोमा हाल्ने तर नाफा वा अन्तर्राष्ट्रिय बजारको सस्तो मूल्यको लाभ चाहिँ समयमै नदिने यो प्रवृत्तिले आम नागरिक मारमा छन् । अब आउने जुलाई १ तारिखको मूल्यसूचीले आम नेपालीलाई साँच्चै राहत दिन्छ कि निगमको पुरानै ’घाटाको बिलौना’ र प्राविधिक बहानाबाजी फेरि दोहो¥याउँछ त्यो हेर्न बाकीँ नै छ।




