२२ असार , काठमाण्डौ।
सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै इंग्ल्याण्ड विश्वकपको क्वार्टरफाइनल चरणमा प्रवेश गरेको छ । मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिको पहिलोपटक पराजित भएको हो । उक्त स्टेडियममा भएका विभिन्न खेलमा मेक्सिकोले आठ खेल जितेको थियो भने दुई खेल बराबरीमा टुंग्याएको थियो ।
आज गोलको वर्षा, पेनाल्टी, भिएआर, रातो कार्डसहित खेल अत्यधिक रोमाञ्चक बनेको थियो । यो प्रतियोगिताकै सर्वाधिक रोमाञ्चक प्रतिस्पर्धामध्ये एक रह्यो । खेलको सुरुआतदेखि नै आक्रामक देखिएको इंग्ल्यान्डका लागि जुड बेलिङहम नायक बने । रातो कार्ड खाएर दश खेलाडीमा समेटिएको इंग्ल्याण्डका लागि बेलिंघमले दुई र ह्यारी केनले एक गोल गरे ।
जुड बेलिंघमले ९९ सेकेण्डको अन्तरालमा दुई गोल गरे । खेलको ३६ औँ मिनेटमा उनले बुकायो साकाको पासमा गोल गरे । यस्तै, ३८ औँ मिनेटमा ह्यारी केनको पासलाई गोलमा परिणत गरे । खेलको ५४ औँ मिनेटमा मेक्सिकोका जुलियन क्विनोसले गोल फर्काए । खेलको ५४ औँ मिनेटमा रेफ्रीले इंग्ल्याण्डका जेरल क्विनासलाई रातो कार्ड दिँदै मैदान बाहिर पठाए ।
१० जनामा सिमित इंगल्याण्डका लागि ५७ औँ मिनेटमा एक अवसर आयो । मेक्सिन गोलकिपर रउल रेन्जरले एन्थोनी गोर्डनलाई लडाएपछि रेफ्रीले इंग्ल्याण्डलाई पेनाल्टी दिए । उक्त मौकाको सदुपयोग गर्दै ह्यारी केनल ५९ औँ मिनेटमा गोल गरे । योसँगै विश्वकपम केनले ६ गोल गरे । ६७ औँ मिनेटमा ह्यारी केनले फाउल गर्दा मेक्सिकोले पेनाल्टीको मौका पायो ।
उक्त मौकामा रउल जिमिनेजले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए । इंग्ल्याण्डले क्वार्टरफाइनलमा अब नर्वेको सामना गर्नेछ । आज खराब मौसमका कारण मेक्सिको र इंग्ल्यान्डबीचको खेल एक घण्टा ढिला सुरु भएको थियो । अर्कोतर्फ पाँचपटकको विश्वविजेता ब्राजिललाई पराजित गर्दै नर्वे क्वार्टरफाइनल चरणमा प्रवेश गरेको छ ।
यससंगै ब्राजिली स्टार नेयमारले विश्वकप २०२६ मा आफ्नो टिम अन्तिम १६ को चरणबाट बाहिरिएलगत्तै सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । यसैबीच उता फिफा विश्वकपमा रातो कार्ड पाएपछि अर्को खेल स्वतः गुमाउनुपर्ने स्थापित नियममा अमेरिकाका फरवार्ड फोलारिन बालोगुनको निलम्बन फिफाले स्थगित गरेपछि विवादमा परेको छ ।
बोस्निया एन्ड हर्जेगोभिनाविरुद्धको खेलमा रातो कार्ड पाएका बालोगुन यससंगै अब बेल्जियमविरुद्धको अन्तिम– १६ को खेल खेल्न पाउने भएका छन् । प्रतियोगितामा तीन गोलसहित अमेरिकाका सर्वाधिक गोलकर्ता रहेका बालोगुनको निलम्बन हटाउने निर्णयबारे फिफाले स्पष्ट कारण सार्वजनिक गरेको छैन ।
फिफाले अनुशासन संहिताको धारा २७ उल्लेख गर्दै निलम्बन स्थगित गरेको जनाएको भए पनि यो व्यवस्था विश्वकपमा पहिलोपटक प्रयोग गरिएको हो । यसअघि विश्वकप इतिहासमा रातो कार्ड पाएपछि निलम्बन नव्यहोरेका खेलाडी ब्राजिलका गारिन्चा (१९६२) मात्र थिए ।
यस निर्णयपछि अमेरिकालाई विशेष सुविधा दिएको आरोप लागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई बालोगुनको निलम्बन पुनरावलोकन गर्न आग्रह गरेको भन्ने समाचार सार्वजनिक भए पनि यसको स्वतन्त्र भएको छैन ।
बेल्जियम फुटबल संघले फिफाको निर्णयप्रति आपत्ति जनाउँदै प्रतियोगिताको नियमविपरीत भएको जनाएको छ । फुटबल विश्लेषकहरूले पनि यसले भविष्यमा रातो कार्डसम्बन्धी निर्णयमा थप अपिल र विवाद निम्त्याउन सक्ने बताएका छन् । बेल्जियमले यसको विरुद्धमा कानुनी विकल्पहरू खोजिरहेको छ ।
उनीहरूका अनुसार यसअघि रेड कार्ड पाएका अन्य खेलाडीले प्रतिबन्ध भोग्नुपरेको थियो, तर अमेरिकाको हकमा नियम किन फेरियो भन्ने प्रश्न उठेको छ । यो निर्णयमा राजनीतिक प्रभाव परेको आशंका समेत गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ’ट्रुथ सोसल’ मार्फत फिफालाई ‘महान अन्यायलाई सच्याएको’ भन्दै धन्यवाद दिएका छन्।
कतिपय सञ्चारमाध्यमका अनुसार ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई फोन गरेर रेड कार्डको निर्णय पुनरावलोकन गर्न आग्रह गरेका थिए । अमेरिकी कप्तान क्रिस्टियन पुलिसिकले बालोगन खेल्न पाउने खबरले टोलीमा खुसीयाली छाएको बताएका छन्। यस प्रतियोगितामा ३ गोल गरिसकेका बालोगन अमेरिकाका सबैभन्दा महत्वपूर्ण खेलाडी हुन् ।
सामान्यतया विश्वकपमा रेड कार्ड विरुद्ध अपिल गर्ने व्यवस्था हुँदैन। कतारका खेलाडी असिम माडिबोले फउल गर्दा उनको प्रतिबन्ध उल्टै बढाइएको थियो। तर बालोगनको हकमा फिफाले देखाएको यो उदारतालाई लिएर धेरैले सह–आयोजक देश भएको नाताले अमेरिकालाई विशेष सुविधा दिएको आरोप लगाएका छन् । अमेरिका र बेल्जियमबीचको यो महत्वपूर्ण खेल सोमबार सियाटल स्टेडियममा हुनेछ ।




