१८ चैत , काठमाण्डौ ।
आज बुधबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला ६ हजार ७०० रूपैयाँ र आज सात हजार ४०० रूपैयाँ गरी यो दुई दिनमा सुनको भाउ तोलामा १४ हजार एक सय रूपैयाँँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ ।
मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला चार हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला चार हजार नौ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन प्रतिऔंस चार हजार ६ सय ८० अमेरिकी डलरमाथि कारोबार भइरहेको छ । अमेरिका र इरानबीच जारी तनाव केही हप्ताभित्रै अन्त्य हुन सक्ने संकेतहरू सार्वजनिक हुन थालेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको हो ।
सुरक्षित लगानीको रूपमा चिनिने सुनचाँदीमा पछिल्लो समय लगानीकर्ताको आकर्षण बढ्दा मूल्य उकालो लागेको हो । मंगलबार सार्वजनिक अन्तर्राष्ट्रिय बजार सूचकअनुसार सुनको मूल्य प्रतिऔंस ४,६८४ अमेरिकी डलर आसपास पुगेको छ, जुन एकैदिनमा करिब ३.४५ प्रतिशतले वृद्धि भएको हो । त्यसैगरी चाँदीको मूल्य पनि प्रतिऔंस ७४.५ डलरसम्म पुगेको छ, जसमा ५ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ ।
विशेषगरी अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्ताभित्रै अमेरिकी सैनिक इरानबाट फिर्ता हुन सक्ने संकेत दिएपछि युद्ध अन्त्यतर्फ उन्मुख भएको अनुमान गरिएको छ । यही संकेतले विश्व बजारमा अनिश्चितता केही कम भए पनि लगानीकर्ताले जोखिम व्यवस्थापनका लागि अझै सुनचाँदीमा लगानी बढाएका छन् ।
अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार युद्धको सम्भावित अन्त्यले कच्चा तेल बजारमा पनि स्थिरता ल्याउने अपेक्षा गरिएको छ, तर हालसम्मको संक्रमणकालीन अवस्थाले लगानीकर्तालाई सतर्क बनाइरहेको छ । यस्तो अवस्थामा उनीहरू सुरक्षित सम्पत्तितर्फ आकर्षित हुँदा सुनचाँदीको मूल्यमा उछाल आएको हो ।
अर्कोतर्फ, अमेरिकी डलरको कमजोरी र विश्वव्यापी आर्थिक अनिश्चितताले पनि बहुमूल्य धातुको मूल्य वृद्धि गर्न सहयोग पु¥याएको विश्लेषण गरिएको छ । विशेषगरी केन्द्रीय बैंकहरू र ठूला संस्थागत लगानीकर्ताले आफ्नो पोर्टफोलियो विविधीकरण गर्दै सुनमा लगानी बढाइरहेका छन् ।
नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै स्थानीय बजारमा सुनचाँदीको मूल्य थप महँगो हुने सम्भावना रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अधिकारीहरू बताउँछन् । समग्रमा, अमेरिका–इरान तनाव अन्त्यतर्फ उन्मुख भए पनि त्यसको संक्रमणकालीन प्रभावका कारण विश्व बजार अझै संवेदनशील अवस्थामा रहेको छ। यही कारणले सुनचाँदीको चमक अझै केही समय कायम रहने विश्लेषण गरिएको छ ।

