चीनको वाणिज्य उपमन्त्री यान दोङ काठमाडौंमा

२२ असार ८३, मंगलबार

२३ असार , काठमाण्डौ।

चीनको वाणिज्य उपमन्त्री यान दोङ सोमबार बेलुका काठमाडौं ओर्लिएका छन् । उनी भारतमा निर्वासित तिब्बती धर्मगुरु दलाई लामाको जन्मदिनकै दिन काठमाडौं आइपुगेका हुन् । हिजो तिब्बती समुदायले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी परम्पराअनुसार लामाको तस्बिरमा पूजाअर्चना गरी दीर्घायुको कामना गरेका थिए ।

विशेष समारोहमा नेपालस्थित विदेशी कूटनीतिज्ञ एवम् प्रतिनिधि, संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) का प्रतिनिधि सहभागी थिए । यस्तै बौद्ध गुम्बाहरुमा पनि दलाई लामाको जन्मदिन मनाइएको थियो । यसैबीच सोमबार राति चिनियाँ कम्युनिस्ट पार्टीका नेतासमेत रहेका वाणिज्य उपमन्त्री यान काठमाडौं आइपुगेका हुन् ।

Advertisement

उनी अर्थ मन्त्रालयको निमन्त्रणामा आएका हुन् । गोन्जाउ हुँदै चाइना साउथनको जहाजबाट काठमाडौं आएका थिए । उनी सन् २०२५ फेब्रुअरीदेखि चीनको वाणिज्य मन्त्रालयका उपमन्त्री तथा मन्त्रालयको पार्टी नेतृत्व समूहका सदस्यका रूपमा कार्यरत छन् । उनीसहित ६ जना उच्चअधिकारीहरु काठमाडौं आएका छन् ।

उनीहरुलाई नेपालस्थित चिनियाँ राजदूत चाङ माओमिङले उनलाई स्वागत गरेका थिए । नेपाल–चीन संयुक्त आर्थिक तथा व्यापार समितिको बैठकमा सहभागी हुन उनी नेतृत्वको काठमाडौं आएका हुन् । परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणबाट फर्केपछि चीनबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

Advertisement

आज बस्ने द्विपक्षीय बैठकको नेतृत्व नेपालको तर्फबाट अर्थ सचिव र चीनका तर्फबाट वाणिज्य उपमन्त्री यानले गर्ने बताइएको छ । मन्त्री खनालको भ्रमणको क्रममा नेपाल र चीनबिचको द्विपक्षीय व्यापार, आर्थिक, प्राविधिक सहायता, कनेक्टिभिटी, सडक सञ्जाललगायतको विषयमा भएको कुराकानीबारे पनि थप छलफल हुने बताइएको छ ।

चिनियाँ उपमन्त्री यानले अर्थमन्त्री स्वर्णिम वाग्ले लगायत उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । तर उनी नेपाल भ्रमणमा आएको समय विशेष छ । दलाई लामाको ९१ औँ जन्मदिन काठमाडौंमा मनाइरहँदा त्यसअघि आइतबार भने काठमाडौं जिल्ला प्रशासन कार्यालय प्रमुखको संयोजकत्वमा बसेको सुरक्षा समीतिको बैठकले भने सोमबारका लागि सुरक्षा व्यवस्था कडा बनाउने बताएका थियो ।

खासगरी जेनजी आन्दोलनमा टीओबीको संलग्नताबारे राजनीतिवृत्तमै चर्चा हुने गरेको छ । सो घटनाले नेपालप्रति चीन सशङ्कित बनेको छ । त्यसमाथि जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई दलाई लामाले शुभकामना एवं बधाई दिएका थिए ।

गत मे २७ मा तिब्बती निर्वासित सरकारको प्रमुखको शपथग्रहण समारोहमा सहभागी हुन नेपाललाई पनि निम्तो थियो । तर चीनको आग्रहमा सो शपथ समारोहमा नेपालको तर्फबाट कोही पनि सहभागी नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अहिले बालेन सरकारले पनि तिब्बतबारे बेइजिङले व्यक्त गर्दै आएको सुरक्षा चासोप्रति आफू संवेदनशील रहेको र त्यसलाई सम्बोधन गर्न तयार जनाएको छ ।

गत महिना परराष्ट्रमन्त्री शिशिर खनालले चीनको औपचारिक भ्रमण गरेका थिए । त्यस बेला चिनियाँ विदेशमन्त्री वाङ यीले “नजिकको छिमेकी टाढाको आफन्त“भन्दा उपयुक्त हुने धारणा राखेका थिए। उता अमेरिकाले भने नेपालमा निर्वासित तिब्बती समूदायको मानवअधिकार हनन भएको भन्दै वर्षैपिच्छे रिपोर्ट सार्वजनिक गर्दै आएको छ ।

यसै वर्षको फ्रेबुअरीमा पनि अमेरिकी संसद्ले अनुमोदन गरेको एउटा कानुनले तिब्बती समुदायको मानवाधिकार उल्लङ्घनमा सक्रिय रहेको “विश्वस्नीय आधार“ देखिएको खण्डमा दक्षिण एशियाको सरकारका अधिकारीहरूलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाउन सक्ने र सम्पत्ति रोक्का गर्न सक्ने व्यवस्था गरेको थियो ।

यसबीच गत महिना परराष्ट्रमन्त्री खनाल चीनको भ्रमणमा जाँदा चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्नो छिमेक कूटनीतिमा नेपाललाई चीनले सदैव उच्च महत्त्व दिएको धारणा राखेका थिए । नेपालले ’एक चीन’ सिद्धान्तप्रति जनाएको प्रतिबद्धता, ताइवान र तिब्बत मामिला अनि चीनको आधारभूत स्वार्थ जोडिएका अन्य मुद्दाहरूमा समर्थन गरेकोमा वाङले नेपालको प्रशंसा गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको थियो ।

तर सँगसँगै उनले “नजिकको छिमेकी टाढाको आफन्त“ भन्दा उपयुक्त हुने धारणा राखेका थिए । कतिपय विज्ञहरूले त्यसलाई चीनले काठमाण्डू “पश्चिमा शक्तिहरूप्रति ढल्केको“ संशयका रूपमा प्रतिक्रिया व्यक्त गरेको अथ्र्याएका थिए । परराष्ट्रमन्त्री शिशिर खनालले भने नेपाल चीनसँगको सम्बन्धबारेको आफ्नो परम्परागत नीतिप्रति प्रतिबद्ध रहेको र चिनियाँ सुरक्षा चासोहरूलाई सम्बोधन गर्न तयार रहेको धारणा राखेको बताएका छन् ।

नेपाल र चीनबीच १४०० किलोमिटरभन्दा लामो नियन्त्रित सीमा छ र कैयौँ स्थानमा उच्च हिमाली भेग पनि रहेको उक्त सीमा क्षेत्रबाट अवैध आवतजावत वा अन्य किसिमका चीनविरोधी गतिविधि नहून् भन्नेमा बेइजिङले नेपाललाई ध्यानाकर्षण गराउने गरेको छ । सन् १९५९ मा दलाई लामा तिब्बतबाट भागेर भारतको धर्मशालामा निर्वासनमा गएका थिए।

त्यही बेलादेखि ठूलो सङ्ख्यामा तिब्बतीहरू नेपालमा प्रवेश गर्न थाले । दलाई लामा निर्वासनमा गएको वर्ष सन् १९५९ देखि १९८९ को बीचमा आफ्नो भूमि प्रवेश गरेका तिब्बतीहरूलाई दर्ता गरी नेपालले शरणार्थीको हैसियत दिएको छ । सन् १९९० यता नेपाल प्रवेश गरेका तिब्बतीहरूलाई शरणार्थीको मान्यता दिइएको छैन ।

त्यसयता प्रवेश गर्नेमध्ये धेरै तिब्बतीहरू नेपाल हुँदै भारतमा शरण लिन गएको ठानिन्छ । नेपालले अन्तिम पटक सन् १९९५ मा तिब्बती शरणार्थीलाई परिचयपत्र दिएको थियो । संयुक्त राष्ट्रसङ्घको शरणार्थी हेर्ने निकाय यूएनएचसीआरले नेपालमा बसिरहेका लगभग १२ हजार तिब्बतीमध्ये तीन चौथाइसँग आधिकारिक कागजपत्र नरहेको आकलन गरेको अमेरिकी सरकारको एउटा वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

नेपाल सरकारले केही अघि सार्वजनिक गरेको तथ्याङ्कमा सन् १९९३ को विवरणलाई उल्लेख गर्दै नेपालका २१ जिल्लामा १२ हजार ५४० तिब्बती शरणार्थीको बसोबास रहेको जनाइएको छ । विभिन्न जिल्लामा गरी २० वटा तिब्बती शरणार्थी शिविर नेपालमा रहेको अधिकारीहरू बताउँछन् ।

सरकारले ’विश्वसनीय स्रोतहरू’ लाई उद्धृत गर्दै अहिले नेपालमा झन्डै २० हजार तिब्बतीहरू भएको हुन सक्ने जनाएको छ । सन् २०१९ को अगस्ट महिनासम्म शिक्षा, भ्रमण र पारिवारिक भेटघाटका लागि ४ हजार ५०० भन्दा बढी तिब्बतीलाई शरणार्थी विदेश यात्राको अनुमतिपत्र दिइएको गृह मन्त्रालयले बताएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top