२४ असार , काठमाण्डौ।
विश्वचर्चित अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले फेरि नयाँ विश्व कीर्तिमान बनाएका छन् । उनले गएराति भएको इजिप्टविरुद्धको खेलमा विभिन्न विश्व रेकर्ड बनाएका हुन् । जुन खेल अहिलेको विवादको भूमरीमा परेको छ । विश्वकपको हालसम्म भएका खेलमा ८ गोल गरेर सर्वाधिक गोलकर्ता बनेका मेसीले विश्वकप इतिहासमा पनि सर्वाधिक गोलकर्ताको आफ्नै रेकर्डलाई अझ विस्तार गरेका छन् ।
इजिप्टविरुद्ध उनले गरेको १ गोलसँगै उनले विश्वकपमा गरेको गोल संख्या २१ पुगेको छ । त्यसैगरी उनी लगातार ९ विश्वकप खेलमा गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् । विश्वकप इतिहासमा लगातार ६ नकआउट खेलमा गोल गर्ने मेस्सी पहिलो खेलाडी बने ।
पछिल्ला नौ विश्वकप खेलमा १६ गोलमा प्रत्यक्ष योगदान दिएका छन्, जसमा १३ गोल र ३ असिस्ट छन् । त्यसैगरी उनको नाममा अर्को एउटा नकारात्मक रेकर्ड पनि बनेको छ । मेसीले जारी विश्वकपमा आफूले पाएका दुई पेनाल्टीमा गोल गर्न सकेनन् ।
इजिप्टविरुद्धको खेलमा उनले पेनाल्टीमा गोल गर्न सकेनन्। तर, पेनाल्टी मिस गरे पनि उनले उत्कृष्ठ पुनरागमन गर्दै अर्जेन्टिनालाई जित दिलाए । यसअघि उनी जारी विश्वकपको समूह चरणको खेलमा अष्ट्रियाविरुद्ध पनि पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए । यता मेस्सीलाई यो विश्वकपमा गोल संख्यामा फ्रान्सका किनियल एमबाप्पे र नर्वेका इर्लिङ हालान्डले ७÷७ गोलसहित पछ्याइरहेका छन् ।
यससंगै व्यक्तिगत अवार्डको रुपमा रहने ‘गोल्डेन बुट’को लागि पनि तिव्र प्रतिस्पर्धा हुने भएको छ। २७ वर्षीय एमबाप्पे ३९ वर्षीय मेस्सीभन्दा १ गोलले पछि भए पनि उनको नाममा २ असिस्ट गोलसमेत छ । मेस्सीले जारी विश्वकप २०२६ का सबै ५ खेलमा गोल गरेका छन् भने २५ वर्षीय स्टार खेलाडी हालान्डले पनि आफूले खेलेका सबै पाँचै खेलमा गोल गरेका छन् ।
एमबाप्पे भने जारी विश्वकपमा आफूले खेलेको १ खेलमा गोल गर्नबाट चुकेका छन् । एमबाप्पेले समूह चरणमा फ्रान्सले नर्वेविरुद्ध खेलेको खेलमा गोल गर्न सकेनन् । जुन खेलमा फ्रान्स ४–१ ले विजयी भएको थियो । त्यसबाहेक उनले इराक, सेनेगल, स्विडेन र पाराग्वेविरुद्ध गोल गरेका छन् ।
त्यसैगरी इंग्ल्यान्डका कप्तान ह्यारी केनले पनि जारी विश्वकपमा ६ गोल गरेर मेसी, एमबाप्पे र हालान्डलाई पछ्याइरहेका छन् । यता जारी विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । गएराति र आज बिहान भएका खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्ड विजयी भएपछि क्वार्टरफाइनल खेल्ने ८ टोलीको टुंगो लागेको हो ।
फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्यान्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड अन्तिम ८ मा पुगेका छन् । बाँकी ४० टोली विश्वकप २०२६ को दौडबाट बाहिरिएका छन् । अब क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्यान्डसँग र अर्जेन्टिनाले स्विट्जरल्यान्ड सँग भिड्ने छन् ।
क्वाटरफाइनलमा युरोपबाट सबैभन्दा धेरै ६ टोली पुगेका छन् भने दक्षिण अमेरिका र अफ्रिकाबाट १–१ टोलीले स्थान बनाए छन् । क्वाटरफाइनलका खेल बिहीबार रातिदेखि सुरु हुँदैछन् । क्वाटरफाइनलको पहिलो खेल साविक उपविजेता फ्रान्स र २०२२ को सेमिफाइनलिस्ट मोरक्कोबीच हुनेछ ।
यी दुई टोली चार वर्षअघि कतारमा सेमिफाइनलमा भिडेका थिए । जहाँ फ्रान्स मोरक्कोलाई २–० ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो । यस पटक त्यस खेलको रिम्याच जस्तै हुनेछ । यस्तै सन् २०१० को विजेता स्पेनले अर्को युरोपियन टोली बेल्जियमसँग दोस्रो क्वाटरफाइनलमा खेल्नेछ ।
स्पेन १६ वर्षपछि र बेल्जियम ८ वर्षपछि विश्वकपको क्वाटरफाइनल पुगेका हुन् । सन् २०१० मा दषिण अफ्रिकामा पहिलो पटक विश्वकप उपाधि जितेको स्पेन त्यसयता पहिलो पटक क्वाटरफाइनल खेल्दैछ । बेल्जियम भने सन् २०१८ मा चौथो भएको थियो र २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो ।
यसैगरी पहिलो पटक क्वाटरफाइनलमा स्थान बनाएको नर्वेले तेस्रो क्वाटरफाइनलमा सन् १९६६ को विश्वकप विजेता इंग्ल्यान्डको सामना गर्नेछ । २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले ब्राजिललाई हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो । सन् १९६६ को विजेता इंग्ल्यान्डले भने त्यसयता फाइनल समेत पुग्न सकेको छैन ।
यस्तै साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्ड अन्तिम क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ । १९औं पटक विश्वकप खेलिरहेको अर्जेन्टिनाले ६ पटक फाइनल खेल्दा ३ पटक विश्वकप उपाधि जितेको छ र ६४ वर्षपछि विश्वकपको उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने लक्ष्यमा छ । स्विट्जरल्यान्ड ७२ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
क्वाटरफाइनलमा हालान्डको नर्वे र केनको इंग्ल्यान्ड भिड्ने भएकोले यी दुई खेलाडीबीचको प्रतिस्पर्धा अझ रोमाञ्चक हुने अपेक्षा छ । हालान्ड र केन मध्ये एक खेलाडी मात्र गोल्डेन बुटको होडमा कायम रहँदा एक बाहिरिनेछन् । सेमिफाइनल हुँदै फाइनलसम्म पुग्दा यो होडमा रहने खेलाडीको संख्या अझै घट्न सक्छ । तर अहिलेका लागि भने गोल्डेन बुटको होड तात्तिएको छ ।




