भोको पेटलाई बाँच्ने आधार बनेको फूलको सहर (राइडरहरूको साझा कथा)

२९ असार ८३, मंगलबार

३० असार , काठमाण्डौ ।

हिजो बिहान कपुरधाराबाट बानेश्वर जान हतार थियो ।

सधैंझैँ मैले पठाओ बुक गरेँ । म सामान्यतया राइडरहरूसँग धेरै कुरा गर्दिनँ ।

Advertisement

उहाँहरूले कुरा गर्नुभयो भने आवश्यकताअनुसार जवाफ दिन्छु, तर यात्रा गरिरहेको बेला अनावश्यक कुरा गरेर उहाँहरूको ध्यान विचलित गर्नु उचित लाग्दैन ।

त्यसैले हिजो पनि हाम्रो यात्रा लगभग मौनतामै बित्यो।

Advertisement

बाटोभरि न उहाँले केही भन्नुभयो, न मैले केही सोधेँ ।

काठमाडौंको भीड, गाडीको हर्न, धुवाँ र दौडधुपबीच हामी आ आफ्नै सोचमा हराइरहेका थियौँ ।

बानेश्वर पुगेपछि म मोटरसाइकलबाट झर्न लाग्दा उहाँले एकाएक भन्नुभयो, ‘म चिया खान्छ’ ।

म एकछिन झस्किएँ। उहाँले किन मलाई यो कुरा भन्नुभयो? मैले फेरि सोधेँ, के भन्नुभयो ?

उहाँले हल्का मुस्कानसहित फेरि भन्नुभयो,

बिहानदेखि काम गरेको। निन्द्रा लागेजस्तो भयो। चिया खानुपर्‍यो सर ।

यति मात्रै ।

तर, त्यो चिया खानुपर्‍यो भन्ने वाक्य मेरो कानमा साधारण वाक्य जस्तो लागेन ।

त्यसमा एउटा थकित शरीरको आवाज थियो सायद । एउटा श्रमिकको मौन चिच्याहट थियो ।

सायद त्यो केवल चियाको इच्छा थिएन, केहीबेर विश्रामको चाहना थियो ।

कसैले आफ्नो थकान बुझिदियोस् भन्ने अपेक्षा थियो ।

मैले उहाँलाई सोधेँ, बिहान कति बजेदेखि काम गर्नुभएको हो ?

उहाँले छोटो उत्तर दिनुभयो, पाँच बजेदेखि ।

मैले फेरि सोधेँ, बेलुका कति बजेसम्म ?

उहाँले भन्नुभयो, मान्छे हेरेर हुन्छ सर । कहिले ९ देखि १० सम्म ।

यति सुनेपछि म आफ्नो कामतिर लागेँ । उहाँ सायद कुनै चिया पसलतिर मोडिनुभयो होला ।

तर, दिनभरि मेरो मनमा एउटा प्रश्नले मनमा गरिरह्यो

किन उहाँले त्यो कुरा मलाई सुनाउनुभयो ?

के उहाँ केवल चिया खान जानुभएको जानकारी दिन चाहनुहुन्थ्यो ?

कि उहाँ आफ्नो थकान कसैसँग बाँड्न चाहनुहुन्थ्यो ?

कि उहाँको मनमा धेरै दिनदेखि थुप्रिएको पीडा थियो, जसले एउटा अपरिचित व्यक्तिसँग पनि बोल्न बाध्य बनायो?

उसो त आफै पनि सामाजिक कार्यकर्ता भए पछि झन नजिक बाट उनको समस्या बुझन खोजे

सायद हामीले देख्ने मुस्कानभित्र धेरै पीडा लुकेका हुन्छन्।

सायद धेरै मानिसहरूलाई आफ्नो कथा सुनाउन एउटा कान मात्रै चाहिएको हुन्छ ।

त्यो दिन म एउटा प्रश्न लिएर हिँडिरहेँ,

एउटा नागरिक बिहान ५ बजेदेखि राति १० बजेसम्म, अर्थात् १६ घण्टा भोक, थकान र निन्द्रासँग लड्दै काम गर्छ ।

त्यसपछि पनि किन उसको जीवन सहज हुँदैन ? किन उसले मेहनत गरेअनुसार सम्मान र सुरक्षा पाउँदैन ?

हामी बारम्बार भन्छौँ, मेहनत गर, सफलता आउँछ ।

तर, कहिलेकाहीँ लाग्छ, नेपालमा सबैभन्दा धेरै मेहनत गर्ने मानिस नै सबैभन्दा धेरै संघर्ष गरिरहेको हुन्छ ।

कसैको सडकमा पसिना बगाइरहेको छ ।

कसैले मोटरसाइकलमै आफ्नो जीवन बिताइरहेको छन ।

कसैले दिनभरि यात्रु खोजिरहेको छ । कसैले रातभरि डेलिभरी गरिरहेको छ ।
तर, महिनाको अन्त्यमा उसको हातमा बाँकी रहने कुरा के हो?

ऋण ।

घरभाडा ।

छोराछोरीको स्कुल शुल्क ।

बुढाबुढी आमाबुवाको औषधि खर्च ।

र फेरि अर्को दिन बिहान ५ बजे सुरु हुने संघर्ष ।

त्यो दिन मेरो मनमा अर्को प्रश्न पनि आयो

यति नै मेहनत उसले कुनै विकसित देशमा गरेको भए, के उसको जीवन यस्तै हुन्थ्यो ?

सायद होइन ।

सायद उसको श्रमको उचित मूल्य हुन्थ्यो ।

सायद उसको विश्रामको अधिकार हुन्थ्यो ।

सायद उसको स्वास्थ्यको सुरक्षा हुन्थ्यो ।

सायद उसको परिवारसँग बिताउने समय हुन्थ्यो ।

सायद ।
तर, हामी यतै छौँ ।

एउटा यस्तो शहरमा, जहाँ हजारौँ मानिसहरू आफ्नो सपना बोकेर आउँछन, तर बिस्तारै सपना होइन, केवल जिम्मेवारी बोक्न थाल्छन्।

साँझ भयो ।

अचानक सामाजिक सञ्जालमा एउटा खबर देखेँ ।

गणेश नेपाली ।

मन एक्कासी भारी भयो ।

दिउँसो एउटा राइडरको थकान सुनेको थिएँ । बेलुका अर्को राइडरको जलेर मृत्यु भएको खबर पढ्नुप‍र्याे ।

एकछिन त मन झस्कियो ।

कतै बिहान भेटेको त्यहीँ व्यक्ति त होइन ?

जब विस्तृत समाचार पढेँ, उहाँ अर्कै व्यक्ति हुनुहुँदो रहेछ । मनले एकछिन राहतको सास फर्याे ।

तर, त्यो राहत लामो समय टिकेन ।

किनभने त्यो खबरमा एउटा मानिसको मृत्यु मात्रै थिएन ।

त्यहाँ एउटा सानी छोरीको भविष्य जलिरहेको थियो ।

एउटी श्रीमतीको सिन्दूर मेटिँदै थियो ।

दुई जना वृद्ध आमाबुवाको जीवनभरको भरोसा समाप्त हुँदै थियो ।

एउटा घर उजाडिँदै थियो ।

र एउटा श्रमिकको सपना सधैँका लागि खरानी बन्दै थियो ।

खासमा, गणेश नेपालीको जीवनमा भएको घटना मृत्यु रोज्नुपर्ने प्रकारको थिएन भन्ने धेरैको धारणा हुन सक्छ ।

विवाद थियो भने समाधान पनि खोज्न सकिन्थ्यो ।

छलफल हुन सक्थ्यो । न्यायको बाटो अपनाउन सकिन्थ्यो ।

तर, अन्ततः उनले जीवनभन्दा मृत्यु रोजे ।

यहीँनेर मन बारम्बार अड्किन्छ ।

के यस्तो पीडा थियो, जसले मृत्युलाई जीवनभन्दा सहज बनायो ?

कति ठूलो मानसिक दबाब थियो ?

कति धेरै अन्याय थियो ?

कति धेरै अपमान थियो?

कति धेरै निराशा थियो ?

हामी बाहिरबाट एउटा घटना मात्र देख्छौँ ।

तर, कुनै पनि मानिस एकैछिनमा यस्तो निर्णयमा पुग्दैन ।

त्यहाँ धेरै दिनको थकान, धेरै महिनाको तनाव, धेरै वर्षको संघर्ष र अनगिन्ती मौन रातहरू लुकेका हुन्छन्। ।

हामी प्रायः मानिसको अन्तिम निर्णयलाई मात्र हेर्छौँ, तर त्यो निर्णयसम्म पुर्‍याउने हजारौँ कारणहरू देख्दैनौँ ।

सायद उनले धेरै पटक सहयोग माग्न खोजेका थिए ।

सायद धेरै पटक आफ्नो पीडा लुकाएका थिए ।

सायद धेरै पटक आफूलाई सम्हाल्ने प्रयास गरेका थिए ।

सायद ।

तर, अन्ततः उनी हार मान्न बाध्य भए ।

गणेश नेपालीको मृत्यु केवल एउटा व्यक्तिको मृत्यु होइन ।

यो एउटा श्रमिकको सम्मान माथिको प्रश्न हो ।

यो हाम्रो मानसिक स्वास्थ्य प्रणालीमाथिको प्रश्न हो ।

यो श्रमको मूल्य, सामाजिक न्याय र मानवीय संवेदनशीलता माथिको प्रश्न हो ।

आज हामीले आफूलाई एउटा गम्भीर प्रश्न सोध्नैपर्छ

किन एउटा जिम्मेवार बुबालाई आफ्नी छोरीको मुस्कानभन्दा मृत्यु सहज लाग्यो ?

किन एउटी श्रीमतीको साथभन्दा पीडा ठूलो भयो ?

किन बुढेसकालका आमाबुवाको सहाराभन्दा निराशा बलियो बन्यो ?

किन एउटा मेहनती श्रमिकले आफ्नो भविष्यभन्दा मृत्यू रोजे ?

यदि हाम्रो समाजमा श्रमिकको सम्मान हुन्थ्यो भने ।

यदि समयमै न्याय पाउने व्यवस्था हुन्थ्या भने ।

यदि मानसिक स्वास्थ्यलाई कमजोरी होइन, उपचार चाहिने अवस्था भनेर बुझ्ने समाज हुन्थ्या भने ।

यदि पीडितलाई दोषी होइन, सुन्ने कान र सम्हाल्ने हात भेटिने वातावरण हुन्थ्यो भने ।

सायद आज गणेश नेपाली आफ्नी छोरीलाई काखमा राखेर हाँसिरहेका हुन्थे ।

सायद आज उहाँ फेरि कुनै यात्रुलाई सुरक्षित गन्तव्य सम्म पुर्‍याइ रहनुभएको हुन्थ्यो ।

हामीले गणेश नेपालीलाई केवल श्रद्धाञ्जली दिएर मात्र आफ्नो जिम्मेवारी मुक्त हुनु हुँदैन ।

यस्ता घटना फेरि नदोहोरिउन् भनेर श्रमिकको अधिकार, मानसिक स्वास्थ्य, न्यायमा पहुँच र मानवीय व्यवहार सुनिश्चित गर्ने समाज निर्माण गर्न सक्नुपर्छ त्यसको जिम्मेवारी हरेक नागरिक हुनु पर्छ ।

काठमाडौँलाई फूलको सहर भनिन्छ ।

तर, यदि यही सहरमा हजारौँ श्रमिकहरू भोक, थकान, तनाव र निराशासँग एक्लै लडिरहेका छन भने त्यो फलको के काम ।

हामीले केवल फूल रोपेर पुग्दैन मानिसको जीवनमा आशा पनि रोप्नुपर्छ ।

किनभने, कुनै पनि श्रमिकको मौन पीडा अन्ततः एउटा परिवारको होइन, एउटा समाजको प्रतिको हार हो ।

 

लेखक : तिलक बहादुर बटाला
(सामाजिक कार्यकर्ता, युवा अभियन्ता तथा ऐना फाउन्डेशनका संस्थापक)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top