१ साउन , काठमाण्डौ ।
‘जेन–जी’ आन्दोलनको राप र तापबाट उदाएर झन्डै दुई तिहाइ बहुमतसहित सत्ताको बागडोर सम्हालेका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह यतिबेला आन्तरिक मात्र होइन, बाह्य मिडियाको समेत कडा निगरानी र आलोचनाको केन्द्रमा छन्। सत्ता सम्हालेको चार महिना पनि नबित्दै प्रधानमन्त्री शाहको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै दक्षिणतर्फको छिमेकी भारतका मिडियाहरूले समाचार बनाउन थालेका छन्।
विशेषगरी छिमेकी राष्ट्र भारतका मूलधारका सञ्चारमाध्यमहरूले प्रधानमन्त्री शाहको कार्यशैली र नेपालमा भइरहेका पछिल्ला राजनीतिक तथा सामाजिक घटनाक्रमलाई उच्च प्राथमिकताका साथ प्रकाशन र प्रसारण गरिरहेका छन्। कुनै बेला ‘जेन–जी’ को आइकनका रूपमा भारतीय मिडियामा समेत चर्चा कमाएका बालेन अहिले तिनै मिडियाको तारो किन बनिरहेका छन् ?
यो विषय यतिबेला नेपालको राजनीतिक वृत्तमा चासोको विषय बनेको छ। भारतीय मिडियाले विशेषगरी सुकुम्बासीको व्यवस्थापन प्रक्रिया , प्रश्न सोध्ने मिडियाको गेटमा सरकारी संरक्षणमै गाडी तेर्साएर गरिएको अवरोध, र गणेश नेपालीको आत्मदाह जस्ता मानवअधिकार र सुशासनसँग जोडिएका विषयलाई आफ्नो समाचारको मुख्य आधार बनाएका छन्।
प्रधानमन्त्री शाहले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै चुलिएको आन्तरिक असन्तुष्टिलाई भारतीय मिडियाले प्रमुखताका साथ उठाएका छन्। ‘बीबीसी हिन्दी’ ले त एउटा विशेष रिपोर्ट नै बनाएको छ। उसले रास्वपाभित्र प्रधानमन्त्री बालेन शाहका विरुद्ध आवाज उठ्न थालेको भन्दै समाचार बनाएको छ।
बीबीसी हिन्दीले ‘बालेन शाहविरुद्ध उनकै पार्टीका सांसदहरूमा किन बढ्दै छ असन्तुष्टि ?’ शीर्षकमा लामो रिपोर्ट प्रकाशित गरेको हो। रिपोर्टमा भनिएको छ, “बालेन शाह नेपालको प्रधानमन्त्री बनेको चार महिना पनि भएको छैन, तर उनीविरुद्ध थुप्रै प्रश्न उठ्न थालेका छन्। यो प्रश्न नेपालका विपक्षी दलले त उठाएकै छन्, बालेनको रास्वपाभित्र रहेको आन्तरिक विवाद पनि सतहमा आएको छ। सबैभन्दा बढी प्रश्न बालेन शाहको कार्यशैलीलाई लिएर छ।”
बीबीसीले नेपालमा सरकारविरुद्ध विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित भएका प्रधानमन्त्री वालेन्द्र शाहविरुद्धका समाचारहरूलाई समेटेको छ। सधैँजसो कालो चस्मामा देखिने प्रधानमन्त्री शाहको पहिरन शैलीलाई समेत जोडेर भारतीय मिडियाले सरकारको पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएका छन्।
भारतको लोकप्रिय न्युज च्यानल ‘आजतक’ को डिजिटल संस्करणले निकै आक्रामक शीर्षक राखेर समाचार छापेको छ— ‘कालो चस्मा फुकाल्नुस् भन्दै नेपालमा जेन–जीको प्रदर्शन, प्रम बालेन शाहको राजीनामा माग’। आजतकले गणेश नेपालीको दुःखद मृत्युलाई जोड्दै लेखेको छ, “नेपालमा एक राइड सेयर चालकको मृत्युले केवल कानुनी व्यवस्था मात्र होइन, सरकारकै कार्यशैलीमाथि पनि गम्भीर प्रश्न खडा गरेको छ। काठमाडौंबाट सुरु भएको विरोधले अब राजनीतिक रूप लिएको छ। युवा प्रदर्शनकारी, विपक्षी दल एवं सामाजिक संगठनले सरकारसँग जवाफदेहिता तय गर्न र जिम्मेवार अधिकारीहरूमाथि कारबाही गर्न माग गरेका छन्।”
संसद्भित्रै सांसदहरूले प्रधानमन्त्रीलाई कालो चस्मा उतारेर जनताको सामना गर्न चुनौती दिएको विषयलाई पनि आजतकले महत्त्वका साथ छापेको छ। त्यसैगरी, इन्डिया टुडे ग्रुपकै सह–प्रकाशन ‘इन्डिया टुडे’ को डिजिटल संस्करण र टेलिभिजनले प्रधानमन्त्री शाहको चुनावी प्रचारको फुटेज र अहिले भइरहेको विरोध प्रदर्शनको दृश्यलाई एकैसाथ राखेर तुलनात्मक भिडियो रिपोर्ट प्रसारण गरेको छ।
इन्डिया टुडेले प्रश्न गरेको छ, “जेन–जी आइकन नै जेन–जीको एंगर (रिस) मा परिणत भइरहेका त छैनन् ?” समाचार संस्था एएनआईका भिडियोसहित सेयर बजारका लगानीकर्ताको निराशा र आक्रोशलाई पनि इन्डिया टुडेले आफ्नो सामग्रीमा समेटेको छ।
भारतीय अंग्रेजी न्युज च्यानल ‘एनडीटीभी’ ले त झन् कडा शब्दमा सरकारको आलोचना गरेको छ। एनडीटीभीले ‘बालेनबाट जेन–जीलाई धोका’ भन्दै पछिल्ला प्रदर्शनलाई सत्ताको असफलतासँग जोडेको छ। “काठमाडौंका सडकमा फेरि अशान्ति फर्किएको छ। तर यसपटक आक्रोश परिवर्तनको वाचा गरेका तिनै नेतातर्फ सोझिएको छ,” एनडीटीभीले आफ्नो रिपोर्टमा भनेको छ, “केही महिनाअघि जेन–जी र विद्यार्थीहरूको विशाल आन्दोलनको लहरमा सत्तामा पुगेका प्रधानमन्त्री बालेन शाह अहिले आफैंलाई जिताउने युवा मतदाताको कडा विरोधको सामना गरिरहेका छन्।”
यता ‘टाइम्स नाउ’ ले गणेश नेपालीको मृत्युपछि जेन–जीको प्रदर्शनले नेपाल तरंगित) भन्दै भिडियो सामग्री प्रसारण गरेको छ। राज्यको नीतिका कारण आम नागरिक कसरी प्रताडित छन् भन्ने देखाउन टाइम्स नाउले किसानहरूले तरकारीको उचित मूल्य नपाएपछि माइतीघर मण्डलमा टमाटर फालेर गरेको विरोध प्रदर्शनलाई पनि आफ्नो समाचारको हिस्सा बनाएको छ।
त्यस्तै ‘जी न्युज’ ले पनि आफ्नो फेसबुक पेजमार्फत गणेश नेपालीको मृत्युपछि चर्किएको प्रदर्शनको भिडियो पोस्ट गर्दै नेपालको अस्थिरतालाई झल्काएको छ। भारतको पुरानो र प्रभावशाली अंग्रेजी दैनिक ‘हिन्दुस्तान टाइम्स’, ‘इन्डियन एक्सप्रेस’ र न्युज पोर्टल ‘फस्र्टपोस्ट’ ले नेपालको आन्तरिक सुशासन र मानवअधिकारका विषयमा लामा व्याख्यात्मक रिपोर्ट छापेका छन्।
इन्डियन एक्सप्रेसले ‘युवकको आत्मदाह प्रयासपछि बालेन सरकारविरुद्ध जेन–जीको आक्रोश’ शीर्षकमा समाचार छाप्दै उचित विकल्प र व्यवस्थापनबिना सुकुम्बासीहरूलाई उनीहरूको बासस्थानबाट उठाइएको विषयलाई गम्भीर मानवअधिकार हननको रूपमा चित्रण गरेको छ। गरिब र निमुखा वर्गमाथि डोजर चलाइएको र मिडियामाथि अंकुश लगाउन खोजिएको भाष्य यी समाचारहरूमा निर्माण भएको छ।
फस्र्टपोस्टले लेखेको छ, “प्रधानमन्त्रीको शपथ लिएको केही महिनामै बालेन्द्र शाह जेन–जीको आक्रोशको निशानामा परेका छन्। हालैका डोजर अभियान र पार्किङ विवादका क्रममा एक चालकले आत्मदाह गरेपछि नेपालका युवाहरू फेरि काठमाडौंका सडकमा उत्रिएका छन्।”
त्यसैगरी, युवा पुस्तामाझ निकै लोकप्रिय डिजिटल प्लेटफर्म ‘लल्लनटप’ ले पनि यसै विषयलाई आफ्नो प्रमुख सामग्री बनाएको छ। “को हुन् गणेश नेपाली, जसको मृत्युपछि सडकमा उत्रिए जेन–जी, बालेन शाहमाथि के–के आरोप लागेको छ ?” भन्दै लल्लनटपले लामो भिडियो रिपोर्ट बनाएको छ।
सुकुम्बासी बस्तीमाथिको दमन र जेन–जी अभियन्ता माजिद अन्सारीलाई सरकारले गरेको पक्राउको विषयलाई लल्लनटपले निकै प्राथमिकताका साथ उठाएको छ। भारतीय मिडियाले नेपालका प्रधानमन्त्रीका हरेक कमजोरीलाई सूक्ष्म रूपमा केलाएर निरन्तर प्रहार गरिरहेका बेला, कूटनीतिक वृत्तमा भने अर्कै तयारी भइरहेका समाचार पनि बाहिरिएका छन्।
भारतीय समाचार संस्था ‘एएनआई’ ले प्रधानमन्त्री शाह छिट्टै भारत भ्रमणमा जाने समाचार सम्प्रेषण गरेको छ। एएनआईको सोही समाचारलाई फस्र्टपोस्टलगायत अन्य भारतीय मिडियाले पनि स्थान दिएका छन्। काठमाडौं र नयाँदिल्ली दुवैले प्रधानमन्त्री शाहको उच्चस्तरीय भ्रमणको तयारी गरिरहेको एएनआईको दाबी छ।
काठमाडौंस्थित उच्च सरकारी स्रोतलाई उद्धृत गर्दै एएनआईले लेखेको छ, “भ्रमण छिट्टै नै हुनेछ। हामीले भ्रमणका विविध पक्षका बारेमा छलफल गरिरहेका छौँ, टुंगिएको भने छैन।” नेपालको आन्तरिक राजनीति र सरकारको कार्यशैलीलाई लिएर भारतीय मिडियाले देखाएको यो अभूतपूर्व चासोले दुईवटा कुरा प्रष्ट पार्छ।
पहिलो, परम्परागत राजनीतिक दलहरूलाई विस्थापित गर्दै ‘पपुलिजम’ र युवा भावनाको बलमा सत्तामा पुगेको नेतृत्वले जब डेलिभरी (परिणाम) दिन चुक्छ र निरंकुश शैली अपनाउँछ, तब उसले देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै साख गुमाउँछ।
दोस्रो, मिडियामाथि राज्य संरक्षित तवरले गरिएको अवरोध, सुकुम्बासीमाथिको व्यवहार र रोजगारीको खोजीमा रहेका एक युवाको आत्मदाह जस्ता घटनाले बालेन सरकारको लोकतान्त्रिक छविमाथि गम्भीर धक्का लागेको छ। जसलाई भारतीय मिडियाले नेपालको अस्थिरता र नेतृत्वको असफलताका रूपमा प्रस्तुत गरिरहेका छन्।
प्रधानमन्त्री शाहको आसन्न भनिएको भारत भ्रमण अगाडि भारतीय मिडियामा आएका यी शृंखलाबद्ध आलोचनात्मक समाचारहरूले उनको कूटनीतिक बार्गेनिङ क्षमतालाई समेत कमजोर बनाउने विश्लेषण कूटनीतिक वृत्तमा हुन थालेको छ। सत्य र तथ्यमा आधारित भएर जनजीविकाका सवाल हल नगरेसम्म चस्माभित्रको ‘आइकन’ छविले मात्र अबको राजनीति थेग्न नसक्ने सन्देश यी घटनाक्रमले दिएका छन्।
हुन त भारतीय मूलधारका सञ्चारमाध्यमहरूले नेपालका विषयमा विगतमा पनि आक्रामक, अतिरञ्जित र कहिलेकाहीँ त गम्भीर रूपमा खनिने गरेको कुरा नौलो होइन। यो आम नेपालीले लामो समयदेखि महसुस गर्दै आएको तितो यथार्थ हो। भारतीय मिडिया नेपालप्रति यसरी आक्रामक हुनु वा नकारात्मक भाष्य निर्माण गर्नुका पछाडि केही गम्भीर भूराजनीतिक, व्यावसायिक र मनोवैज्ञानिक कारणहरू छन्।
नेपाललाई एउटा सार्वभौम र स्वतन्त्र राष्ट्रको रूपमा भन्दा पनि भारत र चीनबीचको ‘बफर स्टेट’ को चस्माबाट मात्र हेर्ने गर्छन्। नेपालले चीनसँग गर्ने कुनै पनि व्यापारिक, पारदर्शी वा कूटनीतिक सम्झौतालाई भारतीय मिडियाले भारतको सुरक्षामाथिको खतराका रूपमा चित्रण गर्छन्।
नेपालमा जुनसुकै सरकार आओस् वा जसले नेतृत्व गरोस्, नेपालले आफ्नो हितमा स्वतन्त्र परराष्ट्र नीति अपनाउँदा वा भारतसँग कडा कूटनीतिक बार्गेनिङ गर्दा भारतीय मिडियाले पहिलादेखि नै नकारात्मक प्रचारबाजी गर्दै आएको तितो यथार्थ घाम जस्तै छर्लङ्ग छ। नेपालमा आउने राजनीतिक परिवर्तन, नयाँ राजनीतिक शक्ति वा युवा पुस्ताको उदय लाई उनीहरूले आफ्नो नियन्त्रण बाहिर गएको महसुस गरेका पनि हुन सक्छन्।
अर्को तर्फ नेपालको आन्तरिक राजनीतिबारे सतही बुझाइले पनि काम गरेको हुन सक्छ। अधिकांश भारतीय मिडियाका दिल्लीस्थित डेस्क सम्पादक वा रिपोर्टरहरूसँग नेपालको सामाजिक विविधता, यहाँको आन्तरिक राजनीतिक चेतना र संवेदनशीलताको गहिरो बुझाइ हुँदैन।
उनीहरू नेपालका स्थानीय आवश्यकता र जनभावना बुझ्नुको साटो केही सीमित कूटनीतिक स्रोत वा आफ्नै रिपोर्टहरूका आधारमा सतही विश्लेषण गर्छन्। जसले गर्दा समाचार तथ्यपरक हुनुको साटो पूर्वाग्रही बन्न पुग्छ। यद्यपि, सबै भारतीय मिडिया एकै नासका भने छैनन्।
त्यहाँका धेरै सञ्चारमाध्यमहरूले नेपालका विषयमा सन्तुलित र गम्भीर विश्लेषण पनि गर्छन्। के बालेन सरकारले भारतीय मिडियाहरुले भने जसरी नै काम गरिरहेको छ त ?तपाईंहरूको विचारमा भारतीय मिडियाको यो आक्रामक प्रवृत्तिको काउन्टर गर्न वा नेपालको वास्तविक र तथ्यपरक आवाज अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन नेपाली सञ्चारमाध्यम र सरकारले कस्तो रणनीति अपनाउनुपर्छ ? सुझाव र प्रतिक्रिया दिनु होला ।




