‘बाब अल–मन्डेब’ बन्द गर्ने इरानको चेतावनी, होर्मुजमा चुनौती कायमै

२ साउन , काठमाण्डौ ।

इरानको सशस्त्र बल इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेको दाबी गरेको छ । आईआरजीसीको विज्ञप्ति अनुसार कुवेतको अल उदइद एयर बेसमा रहेको एउटा गोलाबारुद डिपोमा ड्रोनबाट आक्रमण गरिएको हो ।

यसका साथै कुवेतको अली अल सालेम एयर बेसमा रहेको एउटा मुख्यालय भवन र गोलाबारुद भण्डारण केन्द्रहरू एवं केही सञ्चार हबहरूमा पनि आक्रमण भएको छ । आईआरजीसीले जोर्डनको अल अजराक एयर बेसमा रहेका इन्धन भण्डारण ट्याङ्कहरूमा पनि ड्रोनहरूले आक्रमण गरेको कुरा थपेको छ ।

Advertisement

यस प्रतिवेदनका अनुसार आफ्नो लोकेसन, इन्फ्रास्ट्रक्चर, सैन्य उपकरण र वासिङ्टनको ठूलो लगानीका कारण अल अजराक एयर बेस यस क्षेत्रकै एउटा प्रमुख अमेरिकी बेस मानिन्छ । यस आक्रमणको बारेमा आईआरजीसीले भनेको छ, ‘ड्रोनहरूले कुवेतको अल उदइद एयर बेसमा रहेको गोलाबारुद डिपो, अली अल सालेम एयर बेसको एउटा मुख्यालय भवन र गोलाबारुद भण्डारण केन्द्रहरूका साथै केही सञ्चार हबहरूमा आक्रमण गरे।’

आफ्नो भनाइमा थप स्पष्ट पार्दै आईआरजीसीले भनेको छ, ‘ड्रोनहरूले जोर्डनको अल अजराक एयर बेसमा रहेका इन्धन भण्डारण ट्याङ्कहरूमा पनि आक्रमण गरे।’ यसैबीच अमेरिकाले आफ्ना ऊर्जा तथा अन्य पूर्वाधारमाथि आक्रमण जारी राखेमा लाल सागरको प्रवेशद्वारमा रहेको बाब अल–मन्डेब जलमार्ग पनि बन्द गराउन सक्ने इरानले चेतावनी दिएको छ ।

Advertisement

इरानले यमनमा रहेका आफ्ना सहयोगी हुथी विद्रोहीहरूलाई उक्साएर बाब अल–मन्डेब जलमार्ग बन्द गराउन सक्ने चेतावनी दिएको अलजजिराले जनाएको छ । अमेरिका र इरानबीच तनाव चर्किंदै गइरहेको छ । वासिङ्टनले आफ्नो ऊर्जा पूर्वाधारलाई निसाना बनाएमा जलमार्ग बन्द गर्ने तयारी गर्न इरानले आग्रह गरेको खबर सार्वजनिक भएको हो ।

यदि यस्तो अवस्था सिर्जना भयो भने विश्वका प्रमुख समुद्री व्यापारिक मार्गहरू थप प्रभावित हुने, अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा आपूर्ति तथा ढुवानी क्षेत्रमा गम्भीर असर पर्ने चिन्ता व्यक्त गरिएको छ । बाब अल–मन्डेब जलमार्गले लाल सागर र एडेनको खाडीलाई जोड्छ । यो विश्वव्यापी तेल तथा ऊर्जा व्यापारका लागि अत्यन्तै महत्त्वपूर्ण समुद्री मार्ग हो ।

इरानले होर्मुज जलमार्ग बन्द गरेयता यसको रणनीतिक महत्त्व अझ बढेको छ । सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल र ग्यास होर्मुज जलमार्ग हुँदै ओसारपसार हुने गर्छ । यदि बाब अल–मन्डेब जलमार्ग पनि बन्द भयो भने यसले केवल जारी युद्धलाई मात्र नभई विश्वव्यापी ऊर्जा आपूर्तिमा समेत गम्भीर संकट निम्त्याउन सक्छ ।

त्यसको प्रभाव विश्वभरका उद्योग, यातायात, विद्युत् उत्पादन र इन्धन बजारमा पर्नेछ भने ऊर्जा मूल्य थप बढ्न सक्ने बताइएको छ। बिजनेस स्ट्यान्डर्डका अनुसार, बाब अल–मन्डेब विश्वका सबैभन्दा महत्त्वपूर्ण रणनीतिक समुद्री ‘चोकप्वाइन्ट’हरूमध्ये एक हो । करिब ३२ किलोमिटर चौडा यो साँघुरो जलमार्ग हिन्द महासागरबाट लाल सागर प्रवेश गर्ने मुख्य समुद्री मार्ग हो ।

यसले उत्तरपश्चिममा रहेको लाल सागरलाई दक्षिणपूर्वमा रहेको एडेनको खाडी र अरब सागरसँग जोड्छ । यही मार्ग हुँदै जहाजहरू स्वेज नहर पार गरेर एसिया र युरोपबीच आवतजावत गर्छन् । भौगोलिक रूपमा यस जलमार्गले अरब प्रायद्वीपस्थित यमनलाई अफ्रिकाको हर्न क्षेत्रमा रहेका जिबुटी र इरिट्रियाबाट अलग गर्छ ।

बाब अल–मन्डेब एसिया, पश्चिम एसिया र युरोपलाई जोड्ने विश्वकै सबैभन्दा व्यस्त समुद्री व्यापारिक मार्गहरूमध्ये एक हो । हरेक वर्ष विश्व व्यापारको करिब १०–१२ प्रतिशत हिस्सा यही मार्गबाट हुने गर्छ । विश्वव्यापी कन्टेनर ढुवानीको झन्डै ३० प्रतिशत यही जलमार्ग हुँदै सञ्चालन हुन्छ ।

फारसको खाडी र एसियाबाट युरोप तथा उत्तर अमेरिकातर्फ जाने कच्चा तेल, पेट्रोलियम पदार्थ र तरल प्राकृतिक ग्यासका लागि पनि यो अत्यन्तै महत्त्वपूर्ण पारगमन मार्ग हो । ऊर्जा बजारसम्बन्धी संस्था केपलरका अनुसार, जुन महिनामा दैनिक करिब ७४ लाख ब्यारेल पेट्रोलियम पदार्थ यही मार्ग हुँदै ढुवानी भएको थियो ।

जुन विश्वको कुल तेल उत्पादनको करिब ७ प्रतिशतबराबर हो । गत वर्ष यही परिमाण दैनिक ४२ लाख ब्यारेल मात्र थियो । यस जलमार्गमार्फत खाडी मुलुकहरूले स्वेज नहर र इजिप्टको स्वेज–मेडिटेरेनियन पाइपलाइनमार्फत युरोपमा कच्चा तेल र एलएनजी निर्यात गर्छन् ।

साउदी अरेबियाले कच्चा तेल निर्यातका लागि लाल सागरस्थित यान्बु बन्दरगाहको प्रयोग बढाउँदै लगेको छ । यसले बाब अल–मन्डेबको रणनीतिक महत्त्व अझ बढेको बिजनेस स्ट्यान्डर्डले उल्लेख गरेको छ । रोयटर्सका अनुसार, रियादले आफ्नो कच्चा तेल पाइपलाइन सञ्जाललाई लाल सागरको तटसम्म विस्तार गर्ने सम्भावनाबारे पनि अध्ययन गरिरहेको छ ।

यदि होर्मुज जलमार्ग र बाब अल–मन्डेब दुवै अवरुद्ध भए भने विश्वको करिब एक–चौथाइ तेल र प्राकृतिक ग्यास आपूर्ति प्रभावित हुन सक्छ । यसले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो मूल्यवृद्धि निम्त्याउने र विश्वव्यापी आपूर्ति शृंखलामा गम्भीर अवरोध सिर्जना गर्ने सम्भावना छ ।

बाब अल–मन्डेब बन्द भएमा एसिया–युरोपबीच चल्ने जहाजहरूले स्वेज नहर प्रयोग गर्न नसकी अफ्रिकाको दक्षिणी टुप्पोस्थित केप अफ गुड होप हुँदै लामो मार्ग अपनाउनुपर्ने हुन्छ । यसले समुद्री यात्रामा करिब १० देखि १४ दिन थपिने, ढुवानी लागत, इन्धन खर्च र बिमा शुल्क उल्लेख्य रूपमा बढ्ने तथा विश्वव्यापी व्यापार थप महँगो हुने विश्लेषण गरिएको छ ।

यता ‘स्ट्रेट अफ होर्मुज’को नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच लगातार तनाव बढिरहेको छ । यस्तो बेला अमेरिकाले यो रणनीतिक समुद्री मार्गबाट इरानको प्रभाव अन्त्य गर्न खोज्यो भने त्यसका लागि कति ठूलो सैन्य शक्ति आवश्यक पर्ला भन्ने एउटा महत्त्वपूर्ण प्रश्न उठेको विश्लेषण गरिएको छ ।

तर, केवल हवाई आक्रमण वा मिसाइल प्रहार गरेर मात्र यस्तो लक्ष्य हासिल गर्न सम्भव नरहेको अमेरिकी अखबार वाल स्ट्रिट जर्नलको रिपोर्ट गरेको छ । रक्षा विज्ञहरूका अनुसार, यसका लागि ठूलोस्तरको नौसैनिक अभियान वा जमिनी सैन्य कारबाही आवश्यक पर्न सक्छ, जसमा हजारौँ सैनिक र ठूलो संख्यामा युद्धपोत परिचालन गर्नुपर्ने हुन्छ ।

रिपोर्टअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसैसाता स्ट्रेट अफ होर्मुज खुला रहेको र अमेरिकाको नियन्त्रणमा रहेको दाबी गरेका थिए । तर, जहाजहरूको आवतजावतसम्बन्धी तथ्यांकले भने फरक अवस्था देखाएको छ । हालैका आक्रमणपछि यस जलमार्गबाट गुज्रिने जहाजहरूको संख्या घटेको छ ।

धेरै अन्तर्राष्ट्रिय सिपिङ कम्पनीहरूले अझै पनि यस मार्गलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा लिइरहेका छन् । रक्षा विज्ञहरूका अनुसार, केवल मिसाइल वा हवाई आक्रमण गरेर जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न सकिँदैन । यदि अमेरिकाले होमुजलाई पूर्ण रूपमा सुरक्षित बनाउन चाहन्छ भने निरन्तर नौसैनिक सुरक्षा अभियान सञ्चालन गर्नुपर्ने वा आवश्यक परे जमिनी सैन्य कारबाही समेत गर्नुपर्ने हुनसक्छ ।

वाल स्ट्रिट जर्नलका अनुसार, अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मध्यपूर्वमा थप १० हजार स्थल सैनिक पठाउने सम्भावनाबारे विचार गरिरहेको छ । यसअघि नै करिब पाँच हजार मरीन र ८२औँ एयरबोर्न डिभिजनका दुई हजार प्याराट्रुपर त्यस क्षेत्रमा परिचालन गरिसकिएको छ ।

यस आधारमा राष्ट्रपति ट्रम्पको स्वीकृति पाएमा अमेरिका इराननजिक १७ हजारभन्दा बढी सैनिक तैनाथ गर्न सक्ने अवस्थामा पुग्नेछ । यद्यपि, रिपोर्टले यति मात्र सैन्य शक्ति इरानविरुद्ध पूर्णस्तरको भूमिगत आक्रमणका लागि पर्याप्त नहुने उल्लेख गरेको छ ।

यदि अमेरिकाले व्यापारिक जहाजहरूको सुरक्षाका लागि नौसैनिक एस्कर्ट अभियान सञ्चालन गर्छ भने एउटा तेल ट्यांकरको सुरक्षाका लागि करिब दुईवटा युद्धपोत आवश्यक पर्न सक्ने बताइएको छ । पाँचदेखि १० वटा ट्यांकरको काफिलालाई सुरक्षित रूपमा पार गराउन भने करिब १२ वटा युद्धपोत आवश्यक हुन सक्ने रक्षा विज्ञहरूको अनुमान छ ।

रिपोर्टका अनुसार, यदि अमेरिकाले स्ट्रेट अफ होर्मुज वरपरको क्षेत्रमै प्रत्यक्ष नियन्त्रण कायम गर्न खोज्यो भने हजारौँ सैनिक सहभागी हुने र महिनौँसम्म चल्न सक्ने जमिनी सैन्य अभियान सञ्चालन गर्नुपर्ने हुन सक्छ । रिपोर्टले इरानले लामो समयदेखि यस्ता सम्भावित सैन्य कारबाहीका लागि तयारी गर्दै आएको उल्लेख गरेको छ ।

इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग करिब एक लाख ९० हजार सैनिक रहेको छ । नियमित इरानी सेना पनि त्यसको साथमा परिचालन हुने बताइएको छ । पूर्वअमेरिकी रक्षा अधिकारी डेभिड डेस रोशेसले वाल स्ट्रिट जर्नलसँग कुरा गर्दै इरानको तटीय क्षेत्रमा हुने कुनै पनि जमिनी अभियान अमेरिकी सेनाका लागि अत्यन्त जोखिमपूर्ण हुने बताएका छन् ।

उनका अनुसार, त्यहाँ अमेरिकी सैनिकहरू चारैतिरबाट हुने आक्रमणको जोखिममा रहनेछन् । रक्षा विज्ञहरूको निष्कर्षमा होर्मुज जलमार्गमा प्रत्यक्ष सैन्य नियन्त्रण कायम गर्ने प्रयास अमेरिकाका लागि अत्यन्त खर्चिलो, लामो समय लाग्ने र उच्च जोखिमयुक्त अभियान हुन सक्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top