१९ वैशाख , काठमाण्डौ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागको थोरै ठाउँमा मेघ गर्जन र चट्याङ, हावाहुरी, असिनासहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ । बिहानपख केही ठाउँमा मौसम सफा रहे पनि दिउँसो धेरैजसो ठाउँमा बदली हुने अनुमान छ ।
दिउँसो देशका धेरैजसो ठाउँमा साधरणतया बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भागमा आंशिक बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार र बिहीबार हावाहुरीसहित वर्षा गराएको प्रणाली पूर्वबाट बाहिरिए पनि अरू स–साना प्रणाली कायमै रहेको मौसमविद् हरिप्रसाद दहालले जानकारी दिए ।
उनका अनुसार अबको एक हप्ता देशका विभिन्न ठाउँमा मध्यम र थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायमै छ । विशेषगरी यो हप्ता कोशी, बागमती र गण्डकीका तराई क्षेत्र तथा मधेश प्रदेशमा पानी पर्न सक्ने अनुमान छ । तराईमा शीतल महसुस हुनेछ । उच्च हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको पनि सम्भावना छ ।
प्रि–मनसुनमा वर्षासँगै मेघ गर्जन÷चट्याङ र हावाहुरी पनि चल्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह छ । आज विहान कोसी प्रदेशमा पूर्णतया बादल तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको छ ।
अनि कोसी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार नेपालमा अहिले पश्चिमी र स्थानीय वायुका साथै देशको पूर्वी क्षेत्रनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पनि छ ।
मौसम महाशाखाका अनुसार आज दिउँसो कोसी, बागमती, गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागका केही स्थान तथा मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन÷चट्याङ हावाहुरी, असिनासहित मध्यमसम्म वर्षा÷हिमपात हुने सम्भावना छ ।
आज राति पन कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ हावाहुरी, असिनासहित मध्यमसम्म वर्षा÷हिमपात हुने सम्भावना छ ।
आज काठमाडौँ उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज अपराह्न वा साँझपख काठमाडौँ उपत्यकामा हल्का खालको वर्षा हुने सम्भावना देखिएको हो ।
विहान भने काठमाडौँ उपत्यकाको आकाशमा आंशिक बादल लागेको छ । आंशिक बादल लाग्दा घाम पनि देखिन्छ । काठमाडौँ उपत्यकाको मौसम आज दिनभर नै करिब यस्तै रहने अनुमान मौसमविद् दाहालले गरेका छन् ।


