२१ वैशाख , काठमाण्डौ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले सोमबारदेखि होर्मुज जलडमरूमध्य मा रोकिएका जहाजहरूलाई मुक्त गर्न सहयोग गर्ने घोषणा गरेका छन् । यसले अमेरिका इरानद्वारा लगाइएको नाकाबन्दी तोड्ने प्रयासतर्फ अघि बढ्न सक्ने संकेत दिएको छ, जसले द्वन्द्व फेरि चर्किने जोखिम बढाएको छ।
ट्रम्पले यस पहललाई प्रोजेक्ट फ्रिडम नाम दिँदै तटस्थ देशहरूको आग्रहमा मानवीय कदमका रूपमा अघि बढाइने बताएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै इरान, मध्यपूर्व र अमेरिकाको हितका लागि ती देशका जहाजहरूलाई सुरक्षित रूपमा प्रतिबन्धित जलमार्गबाट बाहिर निकालिने बताए।
यद्यपि कुन देशहरूले सहयोग मागेका हुन् भन्ने खुलाइएको छैन। उनले केही जहाजमा खाद्यान्न र आवश्यक सामग्री अभाव भएको उल्लेख गर्दै यो कदमलाई मानवीय पहलका रूपमा व्याख्या गरेका छन्। तर, इरान ले यसलाई मानवीय अभियानका रूपमा नहेर्ने विश्लेषण गरिएको छ।
विज्ञहरूका अनुसार अमेरिकी सेनाको उपस्थिति इरानी आक्रमणको दायराभित्र नजिक पुग्ने भएकाले तनाव थप बढ्न सक्छ। अमेरिका–इरानबीचको नाजुक युद्धविराम तीन सातादेखि कायम रहे पनि यस कदमले पुनः द्वन्द्व चर्किन सक्ने चिन्ता बढेको छ। नाकाबन्दी र सैन्य घेराबन्दीका कारण तेलको मूल्य उच्च रहँदा अमेरिका मा पेट्रोल मूल्य प्रति ग्यालोन ४.४४ डलरसम्म पुगेको छ, जसले महँगी र जनअसन्तोष बढाएको छ।
स्ट्रेट अफ होर्मुजमा रोकिएका पानीजहाजहरूलाई सुरक्षित निकास दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा केही गिरावट आएको छ। ट्रम्पले थुनिएका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिकाले सहयोग गर्ने बताएपछि सोमबार तेलको मूल्य ओरालो लागेको हो।
बजारमा ब्रेन्ट क्रुडको मूल्य ६४ सेन्टले घटेर प्रतिब्यारेल १०७.५३ डलर कायम भएको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) ८४ सेन्टले घटेर १०१.१० डलरमा झरेको छ। ट्रम्पले इरान, मध्यपूर्व र अमेरिकाको हितका लागि भन्दै प्रतिबन्धित जलमार्गबाट जहाजहरूलाई सुरक्षित रूपमा बाटो देखाउने र व्यापारिक गतिविधि सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
ट्रम्पको यो कदमले बजारमा केही राहत दिए पनि अमेरिका र इरानबिच शान्ति सम्झौता हुन नसक्दा तेलको मूल्य अझै पनि १०० डलर माथि नै रहेको छ। स्ट्रेट अफ हर्मुजमा व्यापारिक आवागमन अझै पनि सीमित छ र दुवै देशबीच भइरहेका वार्ताहरू निष्कर्षमा पुग्न सकेका छैनन्।
विश्लेषकहरूका अनुसार दुवै पक्ष आ–आफ्नो अडानबाट पछि हट्न तयार नभएका कारण शान्ति वार्ताहरू सुस्ताएका छन्। ट्रम्पले तेहरानसँगको आणविक सम्झौतालाई प्राथमिकतामा राखेका छन् भने इरानले युद्ध अन्त्य नभएसम्म र खाडी क्षेत्रको ढुवानीमा लगाइएको नाकाबन्दी नहटेसम्म आणविक मुद्दामा छलफल नगर्ने अडान राख्दै आएको छ।
यसैबिच, पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक प्लस) ले जुन महिनाका लागि तेल उत्पादनको लक्ष्य दैनिक १ लाख ८८ हजार ब्यारेलले बढाउने निर्णय गरेको छ। यता पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मोघादामले अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानको मध्यस्थताको प्रयास यथावत् रहेको बताएका छन् ।
इरानको आधिकारिक समाचार संस्था आइआरएनए (इर्ना) सँगको अन्तर्वार्तामा राजदूत मोघादामले भने, “अमेरिकासँगको द्वन्द्व अन्त्य गर्ने इरानको नयाँ वार्ता योजना हालको प्रक्रियाको मुख्य मध्यस्थकर्ताका रूपमा पाकिस्तानले प्रयास गरिएको छ । पाकिस्तानी नेतृत्वले इरानी प्रस्तावलाई वाशिङ्गटनसमक्ष हस्तान्तरण गरेको छ भने यसको औपचारिक जवाफ आइसकेको छैन ।”
“तेहरान आफ्नो स्थिति र मागमा पारदर्शी छ । यो संयुक्त राज्य अमेरिकामा निर्भर छ । यदि उसले इमान्दारीपूर्वक मुद्दाहरू समाधान गर्न र वार्तामा सफलता हासिल गर्न खोज्छ भने उसले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्छ,” राजदूत मोघादामले भने । उनले मध्यपूर्व क्षेत्र र विश्वका सबै समुदाय वार्ताको परिणामको प्रतीक्षामा रहेको र इरानले देशको रक्षाका लागि आवश्यक उपायहरू प्रदान गर्दा कूटनीतिको बाटो पछ्याउन प्रतिबद्ध रहेको बताए ।
उनले भने,“संयुक्त राज्य अमेरिकाले आफ्नो अत्यधिक र आक्रामक आचरण अन्त्य गर्नुपर्दछ र यसको सट्टा इरानको अधिकारको सम्मान गर्ने दृष्टिकोण अपनाउनु पर्छ।” अमेरिकाले इरानसँग सम्झौता गर्ने वा युद्ध गर्ने दुई मात्र विकल्प रहेको इरानको सेना ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)’ ले आइतबार जनाएको छ।
आइआरजिसीको गुप्तचर एकाईले अब अमेरिकाले निर्णय लिने दायरा निकै कम भएको दाबी गरेको छ। सामाजिक सञ्जाल एक्समा एक पोस्टमा ट्रम्पले अब इस्लामिक गणतन्त्र इरानसँग ‘असम्भव सैन्य अभियान’ वा ‘खराब सम्झौता’ मध्ये एक रोज्नुपर्ने बताएका छन् ।
इरानी सञ्चारमाध्यमका अनुसार तेहरानले अमेरिकी सेनालाई इरानी बन्दरगाहमाथिको नाकाबन्दी अन्त्य गर्न समयसीमा तोकेको थियो, यद्यपि मिति भने खुलाइएको छैन। आईआरजीसीका अनुसार वासिङटनविरूद्ध चीन, रुस र युरोपको अडानमा पनि परिवर्तन आएको छ ।
“यी सबै घटनाक्रमलाई मध्यनजर गर्दै अब अमेरिकासँग निर्णय लिनका लागि धेरै सीमित र कठिन विकल्पहरू छन्,” रिभोलुसनरी गाड्र्सले दावी गरेको छ।


