२१ वैशाख , काठमाण्डौ।
मध्यपूर्वमा तनाव चर्किंदै जाँदा विश्व राजनीतिमा मात्र नभएर डिजिटल क्षेत्रमा पनि अनौठा प्रवृत्ति देखा पर्न थालेका छन् । खासगरी चीनमा सामाजिक सञ्जालमार्फत प्रसारित केही भिडियोले अन्तर्राष्ट्रियस्तरमै ध्यान खिच्न सफल भएका छन्। ती भिडियोमा प्राविधिक रूपमा दक्ष केही चिनियाँ नागरिकहरू इरानलाई अमेरिकी सैन्य शक्तिसँग कसरी सामना गर्ने भन्नेबारे ‘ट्युटोरियल’ प्रदान गरिरहेका छन् ।
अझ रोचक कुरा के छ भने यी सामग्री सिर्जना गर्नेहरूले न त कुनै सरकारी सहयोग लिएका छन्, न आर्थिक लाभका लागि नै काम गरिरहेका छन् । यस्तै प्रवृत्तिको एउटा उदाहरण गत मार्च १४ मा देखा प–यो । त्यस दिन चिनियाँ सामाजिक सञ्जालमा अमेरिकी अत्याधुनिक ‘एफ–३५’ लडाकु विमानलाई कसरी खसाल्ने भन्ने व्याख्या गरिएको विस्तृत भिडियो सार्वजनिक भयो ।
‘लाहौ टक्स वल्र्ड’ नामको एउटा अकाउन्टबाट पोस्ट भएको त्यो भिडियोमा एकदमै प्राविधिक एवं व्यवस्थित ढंगले इरानले कसरी आफ्नो सस्तो र उपलब्ध सैन्य प्रविधि प्रयोग गर्दै अत्याधुनिक स्टेल्थ फाइटरलाई लक्ष्य बनाउन सक्छ भन्ने कुरा व्याख्या गरिएको थियो ।
इरानी दर्शकले विस्तृतमा बुझ्न अझ सहज होस् भनेर भिडियोमा पर्सियन भाषामा ‘सब–टाइटल’ समेत राखिएको थियो । उक्त भिडियोले सामाजिक सञ्जालमा केही दिनमै करोडौँ दर्शकको ध्यान आकर्षित ग–यो । सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भएको यस्तो सामग्रीले सामान्य प्रयोगकर्ताहरूको मात्रै नभएर सैन्य विश्लेषक तथा अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाताहरूको समेत ध्यान खिच्यो ।
अझ चाखलाग्दो कुरा त भिडियो सार्वजनिक भएको पाँच दिनपछि अर्थात् मार्च १९ मा इरानले अमेरिकी ‘एफ–३५’ लडाकु विमानमाथि आक्रमण गरेको दाबीसमेत ग¥यो । यस्तो अनौठो संयोगले धेरै प्रश्न उब्जाएको छ । यस प्रकारका भिडियो एकाध अपवादका रुपमा मात्रै देखा परेका छैनन् ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेयता यस्ता सामग्रीहरूको संख्या उल्लेखनीय रूपमा बढेको देखिन्छ । विभिन्न चिनियाँ ‘कन्टेन्ट क्रिएटर’हरूले युद्ध रणनीति, राडार प्रणाली, मिसाइल प्रक्षेपणको प्रविधि तथा ड्रोनको प्रभावकारी प्रयोग जस्ता विषयमा विस्तृत विश्लेषण प्रस्तुत गर्न थालेका छन् ।
यी भिडियोमा प्रयोग गरिएका ‘ग्राफिक्स’, ‘एनिमेसन’ तथा ‘डेटा’ को प्रस्तुति सामान्य छैनन् । उनीहरूले उत्पादन गरेको सामग्री व्यवस्थित र पेसेवरजस्ता देखिन्छन् । यसले ती भिडियोमा प्रस्तुत सामग्रीबारे दर्शकहरूलाई थप विश्वसनीयता प्रदान गरिरहेको छ । यो सामान्य घटना पक्कै पनि होइन । यसले डिजिटल युगमा युद्धको स्वरूप कसरी फेरिँदैछ भन्ने स्पष्ट सङ्केत दिइरहेको छ ।
पहिले युद्धहरू केवल भौतिक मैदानमा सीमित हुन्थे, तर अहिले भने सूचना र ज्ञान पनि महत्त्वपूर्ण ‘हतियार’ बनेका छन् । कुनै देशको नागरिकले आफ्नै पहलमा अर्को देशलाई रणनीतिक सहयोग पु¥याउनु, त्यो पनि सार्वजनिक अनलाइनमार्फत, यो पक्कै पनि सामान्य होइन । यसलाई विश्लेषकहरूले आधुनिक विश्वको जटिलता र विकसित अन्तरसम्बन्धको उदाहरण बताएका छन् ।
यो मामिलाले केही गम्भीर प्रश्न पनि उठाएको छ । यस्ता सामग्री केवल व्यक्तिगत रुचि वा प्राविधिक जिज्ञासाकै परिणाम मात्र हुन् वा यसमा कुनै घुमाउरो राजनीतिक लक्ष्य पनि अन्तर्निहित छ ? यस्ता भिडियोहरूले युद्धलाई अझ चर्काउने सम्भावना कत्तिको छ ? ‘डिजिटल प्लेटफर्म’ हरूले यस्ता संवेदनशील सामग्रीको नियन्त्रण कसरी गर्न सक्छन् ? यी प्रश्न अबको दिनमा अझै ज्वलन्त हुँदै जाने निश्चित छ ।
चिनियाँ सामाजिक सञ्जालमा फैलिरहेका यस्ता ‘ट्युटोरियल’हरू केवल प्राविधिक भिडियोमात्र नभएर अत्याधुनिक युद्ध, अन्तर्राष्ट्रिय राजनीति र डिजिटल प्रभावबिच हुर्कदो जटिल अन्तरसम्बन्धका सङ्केत हुन् । विशेषज्ञहरू यस्ता गतिविधिले ‘सूचना युद्ध’ को नयाँ आयामको प्रतिनिधित्व गर्ने बताउँछन्
उनीहरूका अनुसार अबका युद्ध केवल बन्दुक र बमको भरमा मात्रै नभएर डेटा, त्यसको विश्लेषण र डिजिटल सामग्रीमार्फत पनि लडिन्छ । यसका धेरै जोखिमको अलावा साना देशहरूलाई केही अवसर पनि हुनसक्छ । साना मुलुकहरू पनि ठुला शक्तिहरूसँग प्रतिस्पर्धा गर्ने नयाँ अवसर सिर्जना हुन सक्छ, तर यस्तो अवसरले ल्याउन सक्ने जोखिम भने धेरै ठुलो हुनसक्छ ।
यसैबीच उता अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको पछिल्लो शान्ति प्रस्तावलाई अस्वीकार गर्ने संकेत दिएपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले आइतबार अमेरिकाले ‘असम्भव’ सैन्य कारबाही वा तेहरानसँगको खराब सम्झौतामध्ये एक रोज्नुपर्ने अवस्था रहेको बताएको छ ।
अप्रिल ८ देखि युद्धविराम लागू भएपछि दुई देशबीचको वार्ता गतिरोधमा रहेको र हालसम्म प्रत्यक्ष वार्ताको एक चरण मात्र सम्पन्न भएको सन्दर्भमा यो टिप्पणी आएको हो । तस्निम र फार्स लगायतका इरानी सञ्चारमाध्यमहरूले मध्यस्थकर्ता पाकिस्तानलाई तेहरानले १४ बुँदे प्रस्ताव बुझाएको जानकारी दिएका छन् ।
तर, ट्रम्पले उक्त प्रस्तावमाथि शंका व्यक्त गर्दै आफूले यसको समीक्षा गर्ने तर यो स्वीकार्य हुन सक्नेमा आफूलाई विश्वास नभएको बताएका छन् । ‘म इरानले हामीलाई भर्खरै पठाएको योजनाको छिट्टै समीक्षा गर्नेछु तर त्यो स्वीकार्य हुने कल्पना गर्न सक्दिनँ किनभने उनीहरूले पछिल्लो ४७ वर्षमा मानवता र विश्वप्रति जे–जे गरे त्यसको लागि उनीहरूले अझै पर्याप्त मूल्य चुकाएका छैनन्,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् ।
अर्कातर्फ ट्रम्पले आफ्ना प्रतिनिधिले इरानसँग सकारात्मक कुराकानी गरिरहेको पनि बताएका छन् । आइतबार उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा छलफल सक्रिय रूपमा जारी रहेको र यसबाट सबैका निम्ति धेरै राम्रो नतिजा निस्कन सक्ने उल्लेख गरेका छन् । ट्रम्पको यो भनाइले दुई देशबीच कूटनीतिक संवाद कायम रहेको संकेत गरेको छ ।
अमेरिकी विशेष दूत स्टिभ विटकफले पनि यसको पुष्टि गरेका छन् । वासिङटन र तेहरानबीच वार्ता भइरहेको उनले बताएका छन् । विटकफले ट्रम्पको गल्फ क्लबमा आयोजित एक कार्यक्रममा यसको उद्देश्य उक्त क्षेत्रमा जारी संघर्ष अन्त्यका निम्ति सम्भावित उपाय खोज्नु रहेको जानकारी दिए ।
ट्रम्पको पछिल्लो भनाइ अघिल्लो अभिव्यक्तिभन्दा केही फरक देखिएको छ । एक दिनअघि मात्र उनले इरानको प्रस्तावको कडा आलोचना गर्दै त्यो स्वीकार गर्न नसकिने बताएका थिए । इरानले मानवताविरुद्ध गरेका कार्यको अझै पर्याप्त मूल्य नचुकाएको उनको भनाइ थियो ।
एक फोन संवादका क्रममा पनि ट्रम्पले इरानका सर्त स्वीकार गर्न नसकिने र आफ्नो सैन्य अभियान निकै सफलतापूर्वक अघि बढिरहेको दोहो¥याएका थिए । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले पाकिस्तानमार्फत अमेरिकाको जवाफ प्राप्त भएको जानकारी दिएका छन् । इरानले हाल अमेरिकाको दृष्टिकोणको समीक्षा गरिरहेको र अन्तिम निर्णय भएपछि मात्र आफ्नो प्रतिक्रिया दिने जनाएको छ ।


