पहिरोको उच्च जोखिमले मुग्लिन–नारायणगढ सडक अस्तव्यस्त

१२ साउन ८३, बुधबार

१३ साउन , काठमाण्डौ ।

Advertisement

देशभर मनसुनी वायुको प्रभाव अत्यन्त सक्रिय अवस्थामा पुगेसँगै नेपालको समग्र मौसमी प्रणालीमा ठूलो र बदली आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, आज दिनभरि नै देशका अधिकांश भूभागमा पूर्ण बदली रहनेछ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ रहेको छ।

Advertisement

जसको प्रभावले हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ । मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधरणतया बादल लाग्नेछ। मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

Advertisement

देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा कोशी प्रदेशको तराई र मधेस प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधरणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। तराई भूभागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यतिबेला नेपालभर मनसुन निकै सक्रिय अवस्थामा रहेसंगै राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने मुख्य जीवनरेखा मानिएको मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरोको जोखिम अझै गम्भीर बन्दै गएको छ ।

लगातारको वर्षा र भौगोलिक बनावटमा आएको फेरबदलका कारण यस मार्गमा नयाँ–नयाँ स्थानमा पहिरो जाने क्रम रोकिएको छैन, जसले गर्दा दैनिक यात्रा गर्ने हजारौं यात्रुहरूले ठूलो सास्ती व्यहोर्न बाध्य छन । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मंगलबार बिहान ७ः३० बजे मुग्लिन बजार नजिकै पर्ने खहरे खोलामा अचानक नयाँ पहिरो खस्यो।

यसअघि नियमित रूपमा पहिरो र ढुङ्गा खसिरहने स्थानभन्दा पूर्ण रूपमा नयाँ ठाउँमा पहिरो सुरु भएकाले यस क्षेत्रमा जोखिम कैयौं गुणा बढेको छ। बिहान करिब ५ घण्टा अवरुद्ध बनेको यो राजमार्ग साढे १ बजेमात्र केही समयका लागि एकातर्फ खुलाइएको थियो।

तर, स्थिति सामान्य बन्न नपाउँदै दिउँसो ३ बजे र साँझ ६ बजे पुनः सोही स्थानमा ठूलो पहिरो खस्यो। लगातारको अवरोधपछि सुरक्षा निकाय र सडक डिभिजनको टोलीले पन्छाउने काम गरे पनि जोखिम कायम छ।

यस खण्डमा यसअघि १७ किलो, सिमलताल, जलवीरे, तुइन खोला, मौरी पुल, नाम्सी पुल, कालीखोला, गाईघाट, डुम्रे पुल र घुमाउने क्षेत्रहरू अतिसंवेदनशील मानिंदै आएका थिए। मौसम विज्ञान विभागका अनुसार हाल देशका धेरैजसो स्थानमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ।

विशेषगरी पहाडी र चुरे क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण माटो खुकुलिएर बाटोघाटोमा आकस्मिक पहिरो जाने खतरा उच्च छ। मौसमविद्हरूले आगामी केही दिनसम्म पनि भारी वर्षाको सम्भावना रहेको बताएकाले यात्रा गर्दा अत्यधिक सावधानी अपनाउन अपिल गरेका छन्।

मौसमको यही प्रतिकूल अवस्थाले गर्दा सडकमा पानी जम्ने र सुख्खा तथा ओसिलो दुवै किसिमका पहिरो खस्ने क्रम बढेको छ। यात्रुको जीउधनको सुरक्षालाई सर्वोपरी ठान्दै जिल्ला प्रशासन कार्यालय चितवनले गएराति ८ बजेदेखि बिहान ५ बजेसम्म मुग्लिन–नारायणगढ सडक खण्डमा सबै प्रकारका सवारीसाधन चलाउन पूर्ण रोक लगाएको थियो ।

देशका विभिन्न भागमा अवरुद्ध सडकहरू तत्काल सञ्चालनमा ल्याउन सडक विभागले ठोस कदम चालिरहेको छ। विभागका अनुसार देशभरका सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा परिचालन गर्न अहिले २७७ वटा हेभी मेसिन र इक्विपमेन्टहरू तयारी अवस्थामा राखिएका छन्।

यसबाहेक चालु आर्थिक वर्षमा पहिरो नियन्त्रणलाई उच्च प्राथमिकता दिंदै ६० देखि ७० वटा अति जोखिमयुक्त स्थानको पहिचान गरिएको छ र तिनको व्यवस्थापनका लागि ३ अर्ब रुपैयाँ बजेट समेत छुट्टाइएको छ।

मौसम विज्ञान विभाग र सडक विभाग दुवैले लगातार पानी परिरहे पहिरो र डुबानको जोखिम अझै बढ्ने चेतावनी दिएका छन्। त्यसैले अत्यावश्यक कामबाहेक यात्रा नगर्नुहोला, विशेषगरी रातको समयमा राजमार्गको यात्रा गर्दै नगर्न अनुरोध गरिएको छ ।

प्रशासनको नियम पालना गर्नु नै तपाईंको सुरक्षित यात्राको पहिलो आधार हो। आफू सतर्क रहौं, अरुलाई पनि सुरक्षित राखौं। अहिलेलाई विशेष मौसम बुलेटिन यति नै, अन्य महत्त्वपूर्ण समाचारका लागि नेपाल टाइम्स अनलाइन टेलिभिजन, हेर्दै गर्नुहोला। नमस्कार ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top