१४ साउन , काठमाण्डौ ।
नोबेल मेडिकल कलेज, विराटनगरले प्राविधिक तथा प्राज्ञिक सहयोगमा ग्रामीण भेगका महिलाहरूमा देखिने स्वास्थ्य समस्यालाई लक्षित गर्दै मोरङको रंगेलीमा आयोजना गरिएको निःशुल्क स्त्रीरोगसम्बन्धी स्वास्थ्य शिविरबाट सयौँ स्थानीय महिलाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
रंगेली नगरपालिकाको वडा नम्बर २, भलुवा मंगलबारेस्थित महेन्द्र माध्यमिक विद्यालयको फराकिलो प्राङ्गणमा आयोजना गरिएको यस बृहत् शिविरले ग्रामीण महिलाहरूलाई उनीहरूकै घरदैलोमा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने सुवर्ण अवसर प्रदान गरेको हो।

विभिन्न कारणले अस्पतालसम्म पुग्न नसकेका र रोग लुकाएर बस्न बाध्य महिलाहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै श्री कृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल, जिल्ला शाखा मोरङले यस उदाहरणीय शिविरको आयोजना गरेको थियो।
शिविरलाई पूर्ण रूपमा सफल बनाउन र उच्च स्तरको स्वास्थ्य सेवा प्रदान गर्न पूर्वाञ्चलकै प्रतिष्ठित स्वास्थ्य संस्था नोबेल मेडिकल कलेज, विराटनगरले प्राविधिक तथा प्राज्ञिक सहयोग उपलब्ध गराएको थियो।
नोबेल अस्पतालका अनुभवी प्रसूति तथा स्त्रीरोग विशेषज्ञसहितको टोलीले शिविरमा खटेर बिरामीहरूको परीक्षण तथा परामर्श गरेका थिए। दिनभर सञ्चालन भएको यस स्वास्थ्य शिविरमा उल्लेख्य सङ्ख्यामा महिलाहरूको सहभागिता रहेको थियो।
आयोजकका अनुसार शिविरमा कुल १५१ जना महिलाले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सकहरूबाट आफ्नो स्वास्थ्य समस्याका बारेमा प्रत्यक्ष परामर्श तथा परीक्षण गराएका छन्। बिरामीको रोगको प्रकृति र आवश्यकता हेरी शिविरमै आधुनिक उपकरणको समेत व्यवस्था गरिएको थियो।
जसअन्तर्गत १३० जना महिलाको भिडियो एक्सरे ९अल्ट्रासाउन्ड० सेवामार्फत आन्तरिक स्वास्थ्य अवस्थाको सूक्ष्म जाँच गरिएको थियो भने ९५ जना महिलाको रगत तथा पिसाबको आवश्यक प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) शिविर स्थलमै निःशुल्क रूपमा सम्पन्न गरिएको थियो।
विशेषगरी नेपाली महिलाहरूमा पाठेघरको मुखको क्यान्सरको जोखिम उच्च रहने गरेको यथार्थलाई मनन गर्दै शिविरमा क्यान्सर पहिचानका लागि विशेष जाँचको समेत व्यवस्था मिलाइएको थियो।
जसअन्तर्गत ७ जना महिलाको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक पहिचान गर्न अत्यन्तै महत्त्वपूर्ण मानिने ‘प्याप स्मियर’ जाँच गरिएको चिकित्सकहरूले जनाएका छन्। समयमै रोगको पहिचान हुन सकेमा यस प्रकारका गम्भीर रोगबाट सहजै ज्यान बचाउन सकिने भएकाले यस्ता परीक्षण शिविरको प्रमुख आकर्षण र उपलब्धि बनेको थियो।
महिलाहरूको स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने, उनीहरूलाई व्यक्तिगत सरसफाइ र खानपानमा ध्यान दिन प्रेरित गर्ने तथा समयमै रोगको पहिचान गरी जटिल अवस्थामा पुग्नबाट रोक्ने मुख्य उद्देश्यका साथ यो शिविर सञ्चालन गरिएको आयोजक समितिले जनाएको छ।
आर्थिक अभाव, चेतनाको कमी वा संकोचका कारण अस्पताल जान हिचकिचाइरहेका स्थानीय महिलाहरूले आफ्नै गाउँको विद्यालयमा विशेषज्ञ डाक्टरहरूबाट भिडियो एक्सरे र ल्याब टेस्टसहितको निःशुल्क सेवा पाउँदा निकै खुसी व्यक्त गरेका थिए।
यस प्रकारका शिविरहरूले ग्रामीण भेगका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रमाणित भएको छ। आगामी दिनहरूमा पनि ग्रामीण तहमा स्वास्थ्य सचेतना फैलाउन र विशेषज्ञ उपचार सेवालाई गाउँ–गाउँसम्म पुर्याउन यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने आयोजक तथा नोबेल मेडिकल कलेजले जनाएका छन्।




