१६ साउन , काठमाण्डौ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपासमा अवस्थित छ।

यस प्रणालीको प्रभावले गर्दा हाल लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बदली रहेको छ भने देशका बाँकी भूभागहरूमा साधारणतया बदली रहेको छ।
अहिले बागमती प्रदेशका थोरै स्थानहरू तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशभर मौसम साधारणतया बदली नै रहनेछ।
देशका हिमाली भूभागका केही स्थानमा र पहाडी भूभागका धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।
साथै, तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको समेत जोखिम रहेको छ।
यसैगरी, आज राति पनि देशभरको मौसम साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ।
रातिको समयमा देशको हिमाली र पहाडी भूभागका केही स्थानहरू तथा तराई भूभागका धेरैजसो स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग, मधेस प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षा र चट्याङ्गको जोखिम रहेकाले नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने, पहाडी क्षेत्रमा पहिरो जान सक्ने र तराईका होचा स्थानमा डुबान हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैमा आग्रह गरिएको छ।




