बधशालाबाट भागेको भैंसीले घोराहीमा मच्चायो आतंक, चार जना घाइते

१७ साउन ८३, सोमबार

१८ साउन , काठमाण्डौ ।

Advertisement

दाङको घोराहीमा बध गर्न लगिएको एउटा भैंसी बिच्किएर भाग्दा पाँच दिनसम्म क्षेत्रमा आतंक सिर्जना भएको छ । बधशालाबाट फुकेर भागेको उक्त भैंसीको आक्रमणबाट चार जना मानिस घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले जानकारी दिएका छन्।

भैंसीको लगातारको आक्रमण र त्रासले स्थानीय बासिन्दा त्रसित भएपछि अन्ततः यसलाई नियन्त्रणमा लिन प्रहरीलाई आग्रह गरिएको थियो।  सुन्दर र शान्त सहर घोराही। तर, यहाँ केही दिनयता एउटा यस्तो अनौठो घटना घट्यो, जसले सिंगो बस्तीलाई नै त्रसित बनायो। न कुनै जंगली जनावर, न त कुनै प्राकृतिक विपद्—यहाँ आतंकको कारण बनेको थियो, एउटा सामान्य पालेको भैंसी!

Advertisement

घटनाको सुरुवात केही दिनअघि घोराही–१० नारायणपुर क्षेत्रबाट हुन्छ। एक मासु व्यवसायीले रहरलाग्दो र बलियो भैंसी मासुका लागि किनेर ल्याए । त्यसलाई बिक्री गर्नका लागि घोराही–१४ रझेनास्थित एक बधशाला मा पु¥याइयो।

तर, जब त्यसलाई बध गर्ने ठाउँमा लगियो, त्यहाँको भिडभाड र माहोल देखेर भैंसी एक्कासि बिच्कियो। भैंसीले खरिदकर्तालाई नै आक्रमण गरेर एक्कासि छुटेर भाग्यो। त्यसपछि सुरु भयो, लुकामारी।

Advertisement

बधशालाबाट भागेको भैंसी समात्न खरिदकर्ताले चार दिनसम्म निकै प्रयास गरे। तर, त्यो जंगली बनेझैँ जसलाई भेट्यो, उसलाई नै लखेट्न थाल्यो। भागेर केही टाढा पुगेको त्यो भैंसी सुरुका तीन दिनसम्म एउटा बाँसघारीभित्र लुकेर बस्यो। मानिसहरूको आवतजावत देख्नासाथ जाइलाग्ने त्यो भैंसीले गर्दा स्थानीयहरू त्रसित थिए।

बाटामा हिँड्नेहरू बाटो बदलेर हिँड्न बाध्य भए। अन्ततः शनिबार र आइतबार गरी भैंसीले बाटामा हिँडिरहेका चार जना साधारण नागरिकलाई आक्रमण गरेर सामान्य घाइते समेत बनायो। स्थिति नियन्त्रण बाहिर जान थालेपछि मात्रै स्थानीयहरूले जिल्ला प्रहरी कार्यालयमा खबर गरे।

घटनाको गम्भीरतालाई बुझ्दै जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठ र प्रवक्ता डिएसपी डा. हेमबहादुर केसीको टोलीसहित दुई दर्जनभन्दा बढी प्रहरीको फौज घटनास्थलमा परिचालन भयो।

यहाँसम्म कि, स्थानीयको आग्रहमा सादा पोसाकमा नेपाली सेनाका जवानहरू पनि अवस्था बुझ्न पुगेका थिए। प्रहरीका लागि यो कुनै ठुलो अपराधी समात्नेभन्दा कम चुनौतीपूर्ण थिएन। भैंसीलाई गोली हान्न वा मार्न पनि मिलेन, जीवितै नियन्त्रणमा लिनु पर्ने चुनौती थियो।

खोजी गर्दै जाँदा त्यो विद्रोही भैंसी एक ठाउँको मकैबारीभित्र रहेको कुखुराको खोर नजिक आराम गरिरहेको अवस्थामा भेटियो।  त्यसपछि प्रहरीले एउटा जुक्ति निकाल्यो। बधशालाबाट अरू चार–पाँच वटा अन्य भैंसीलाई त्यहाँ ल्याएर छोडियो।

आफ्ना जातका अन्य साथीहरूलाई देखेपछि भागेको भैंसी केही शान्त भयो। त्यही मौका छोपेर प्रहरी र स्थानीयको संयुक्त टोलीले झन्डै ६ घण्टाको अथक प्रयासपछि त्यसलाई सकुशल नियन्त्रणमा लिन सफल भयो।

त्यसपछि सुरक्षित रूपमा ट्र्याक्टरमा लोड गरेर त्यसलाई सम्बन्धित व्यापारीकै जिम्मा लगाइयो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top