१९ साउन , काठमाण्डौ ।
आज देशैभर मनसुनी वायुको प्रभाव अत्यन्तै सक्रिय रूपमा फैलिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त ताजा विवरण अनुसार, हाल नेपालमा मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानभन्दा केही उत्तरतर्फ सर्दै नेपालको तराई भूभागको नजिक आइपुगेको छ ।
यसरी न्यून चापीय रेखा नेपाल नजिकिँदा मनसुनी प्रणाली थप शक्तिशाली बनेको छ, जसको प्रत्यक्ष प्रभाव स्वरूप आज दिनभर देशभरको मौसम प्रणाली पूर्ण रूपमा प्रभावित रहने देखिएको छ।
आकाशमा बाक्लो बादल लाग्ने क्रम बढेको छ भने धेरैजसो स्थानमा पानी पार्ने प्रणाली विकास भइरहेको मौसमविद्हरूले बताएका छन्।आज बिहान सबेरैदेखि नै देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ।
प्राप्त ताजा तथ्यांक अनुसार विशेषगरी कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही भूभागहरूमा तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
बिहानको यो समयदेखि नै देशका धेरैजसो क्षेत्रमा आकाश कालो बादलले ढाकिएको छ भने कतिपय स्थानमा रिमझिम त कतिपय स्थानमा मुसलधारे वर्षाको प्रभाव सुरु भइसकेको छ।आज दिउँसोको समयमा पनि देशभरको मौसममा सुधार आउने कुनै सम्भावना देखिएको छैन।
दिउँसोभर देशका अधिकांश भूभागमा साधारणतयादेखि पूर्ण बदली रहनेछ। देशका हिमाली र तराई भूभागका केही स्थानहरूमा तथा पहाडी भूभागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने प्रबल सम्भावना रहेको छ।
पहाडी क्षेत्रका धेरैजसो जिल्लाहरूमा लगातारको वर्षाका कारण जनजीवन केही हदसम्म प्रभावित बन्न सक्नेछ।मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरेर कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा यसपटक भारी वर्षाको तीव्र सम्भावना रहेको छ।
यी क्षेत्रहरूमा आकस्मिक बाढी र पहिरोको जोखिम उच्च रहने हुनाले विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ। रातिको समयमा पनि मौसमको यो प्रणाली कायम रहनेछ। आज राति देशभर साधारणतयादेखि पूर्ण बदली रहने प्रक्षेपण गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ।
हिमाली क्षेत्रका पदमार्गहरूमा यसले केही कठिनाइ उत्पन्न गर्न सक्छ।यसैगरी, रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग, मधेस प्रदेशका धेरै स्थानहरू तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ।
विशेषगरी कोशी, बागमती, गण्डकी तथा मधेस प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने हुनाले सचेत रहन आग्रह गरिएको छ। मनसुनको यो सक्रिय अवस्थासँगै देशका ठूला तथा साना नदीनालाहरूमा पानीको बहाव उल्लेख्य मात्रामा बढ्नेछ।
कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका विभिन्न क्षेत्रमा पर्न सक्ने भारी वर्षाका कारण पहाडी भूभागमा पहिरो , भू–क्षय तथा गेग्रान बहावको जोखिम अत्यन्तै उच्च रहेको छ।
तसर्थ, नदी किनारका बस्तीहरू तथा बाढीको उच्च जोखिम भएका क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण नागरिकहरूलाई सुरक्षित स्थानमा रहन वा विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ।
उता वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय, म्याग्दीले आग्रह गरेको छ। मुस्ताङ तर्फबाट लेदोसहितको बाढी मिसिएर नदीको बहाव बढिरहेको जनाउँदै प्रहरीले नदी किनार तथा जोखिमयुक्त ठाउँमा नजान र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई अनुरोध गरेको हो।
तटीय क्षेत्रमा आउनसक्ने सम्भावित जोखिमलाई दृष्टिगत गरी सतर्क रहन सूचित गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए।पहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक अझै खुलाउन नसकिएको उनले बताए।
रघुगङ्गा गाउँपालिका–२ बैसेरीमा हिजो दिउँसो पहिरो जाँदा कालीगण्डकी करिडोरअन्तर्गतको उक्त सडकखण्डमा यातायात सेवा बन्द छ। प्रतिकूल मौसमको यो सिर्जनाले हाम्रो दैनिक जनजीवनलाई प्रत्यक्ष असर पार्ने निश्चित प्रायः छ ।
विशेषगरी लामो तथा छोटो दूरीका सडकहरूमा पहिरोका कारण यातायात अवरुद्ध हुन सक्ने भएकाले यात्रा तय गर्नुअघि सडकको अवस्था र मौसमको ताजा जानकारी लिनुसमेत अनुरोध गरिएको छ ।
आफ्नो क्षेत्रको मौसमसम्बन्धी पछिल्ला र आधिकारिक सूचनाहरूका लागि नियमित रूपमा अद्यावधिक राख्न र आवश्यक पूर्वतयारीसहित विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।आफू सतर्क रहौं, अरुलाई पनि सुरक्षित राखौं।


