२० साउन , काठमाण्डौ ।
के बजारमा साँच्चै खाना पकाउने एलपी ग्यासको अभाव भएको हो ? कि यो केवल उपभोक्तामा देखिएको मनोवैज्ञानिक त्रासको उपज मात्रै हो ? पछिल्लो समय राजधानीलगायत देशका विभिन्न सहरी क्षेत्रमा ग्यास सिलिन्डर पाउनै मुस्किल भएको गुनासो बढेसँगै यो गम्भीर प्रश्न अहिले चौतर्फी रूपमा उब्जिरहेको छ।
सरकार ग्यास पर्याप्त रहेको भन्दै लाइन नबस्न आग्रह गरिरहेको छ भनेउपभोक्ता ग्यास अभाव रहेको भन्दै लामो लाइन लागिरहेका छन् । यही प्रश्नको उत्तर खोज्न र बजारको आपूर्ति प्रणालीलाई सहज बनाउन नेपाल सरकारले कूटनीतिक तथा प्रशासनिक पहल तीव्र पारेको छ।

ग्यास अभावको समस्यालाई समाधान गर्न नेपाल सरकारका मुख्य सचिवको पहलमा उद्योगी र व्यवसायीहरूसँग उच्चस्तरीय र निर्णायक छलफल सम्पन्न भएको छ। नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीको विशेष पहलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार उच्चस्तरीय बैठक सम्पन्न भएको हो।
बैठकमा बजारमा अचानक ग्यास अभाव हुनुको खास कारण, यसको समूल समाधानका उपायहरू तथा सम्बद्ध मन्त्रालय, नियमनकारी विभाग, उद्योगी र ग्यास वितरण व्यवसायीहरूको भूमिकाबारे गम्भीर समीक्षा गरिएको छ।
प्रधानमन्त्री कार्यालयमा भएको उक्त छलफलका क्रममा ग्यास व्यवसायी तथा उद्योगीहरूले भने हाल बजारमा ग्यासको वास्तविक अभाव नरहेको स्पष्टीकरण दिएका छन्।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष कृष्णभक्त श्रेष्ठले मध्यपूर्वको क्षेत्रमा उत्पन्न भूराजनीतिक द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा असर परेपछि सरकारले यसअघि ७.१ किलोग्रामको आधा सिलिन्डर वितरण गर्ने व्यवस्था मिलाएको स्मरण गराएका छन्।
तर, हाल परिस्थिति केही सहज भएपछि पुनः १४.२ किलोग्रामकै भरी सिलिन्डर वितरण गर्न सुरु गरिएको र यसले बजारमा एकाएक उपभोक्ताहरूको माग अत्यधिक बढाएको व्यवसायीहरूको तर्क छ ।
अध्यक्ष श्रेष्ठका अनुसार, पछिल्लो ६ महिनाको अवधिमा नियमित खपतको तुलनामा झन्डै ४५ हजार मेट्रिक टन कम ग्यास आयात भएको थियो। सो अवधिभर आधा सिलिन्डर मात्र प्रयोग गरिएका कारण आम उपभोक्तामा ’भोलिका दिनमा ग्यास पाइँदैन कि’ भन्ने खालको मनोवैज्ञानिक त्रास उत्पन्न भएको थियो।
अहिले सोही मनोविज्ञानका कारण उपभोक्ताहरूले आवश्यकताभन्दा बढी परिमाणमा ग्यास भण्डारण गर्न खोज्दा बजारमा एकाएक चाप र कृत्रिम अभाव देखिएको व्यवसायीहरूको ठहर छ।
सङ्घले प्रस्तुत गरेको आधिकारिक तथ्यांकअनुसार गएको अप्रिल र मे महिनामा निर्धारित कोटाभन्दा निकै कम मात्र ग्यास आयात भएको कारणले हाल बजारमा चाप पर्न गएको हो।अप्रिल महिनामा ५१ हजार २८२ मेट्रिक टनको निर्धारित कोटामध्ये जम्मा ३४ हजार ०८१ मेट्रिक टन मात्र ग्यास आयात भएको थियो।
मे महिनामा ४९ हजार ५०० मेट्रिक टनको कोटामध्ये केवल २८ हजार ५०४ मेट्रिक टन मात्र ग्यास भित्रिएको थियो। यद्यपि, वर्तमान अवस्थामा व्यवसायीहरूले पहिलेको तुलनामा धेरै परिमाणमा ग्यास आयात गरिरहेको र बजारमा ग्यासको कुनै कमी हुन नदिन आफूहरू लागिपरेको अध्यक्ष श्रेष्ठले बैठकमा प्रतिबद्धता व्यक्त गरेका छन्।
बैठकको समापन गर्दै मुख्य सचिव गोविन्दबहादुर कार्कीले ग्यास अभावको समस्यालाई क्षणिक रूपमा मात्र नभई यसको दीर्घकालीन समाधान खोज्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन ।
उनले यस विषयमा सरोकारवाला निकायहरूसँग आगामी दिनहरूमा पनि छुट्टै र नियमित ढङ्गले छलफल तथा बजार अनुगमन जारी राखिने स्पष्ट पारे।नजिकिँदै गरेका दशैँ, तिहार तथा छठलगायतका चाडपर्वहरूमा हुन सक्ने उच्च उपभोक्ता मागलाई मध्यनजर गर्दै बैठकले निकै महत्त्वपूर्ण र दूरगामी निर्णय लिएको हो ।
निर्णयअनुसार, आगामी ३ महिनासम्म मासिक ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाइनेछ, जसले गर्दा बजारमा ग्यासको कुनैपनि प्रकारको अभाव वा हाहाकार हुन पाउने छैन।
त्यसैगरी, हाल देशका केही स्थान र जिल्लाहरूमा ग्यास आपूर्ति प्रणालीमा केही समस्या तथा अवरोध देखिएको गुनासो आएकाले त्यस्ता क्षेत्रमा वितरण प्रणालीलाई थप प्रभावकारी, नियमित र पारदर्शी बनाउन सम्बन्धित नियमनकारी निकायहरूबीच आवश्यक समन्वय तथा प्रशासनिक व्यवस्थापनलाई थप तीव्रता दिने निर्णयसमेत बैठकले गरेको छ।
सरकारको यस्तो किसिमको कडा अनुगमन, आयात वृद्धिको ठोस निर्णय र व्यवसायीहरूको प्रतिबद्धतासँगै आगामी दिनमा बजारको अवस्था स्वतः सामान्य बन्ने र उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास प्राप्त गर्ने दृढ विश्वास लिइएको छ।
यता नेपाल आयल निगमले बजारमा ग्यासको नियमित आपूर्ति भइरहेको र कुनै पनि किसिमको अभाव नरहेको बताएको छ । निगमका अनुसार देशमा दैनिक रुपमा माग अनुसार नै ग्यासको आपूर्ति भइरहेको छ ।
मासिक औसत खपत ४७ हजार मेट्रिक टन रहेकोमा वर्तमान आकस्मिक माग वृद्धिलाई मध्यनजर गर्दै यस महिनाको आयात परिमाणसमेत बढाइएको छ । साउन १ देखि १८ गतेसम्म मात्रै ३१ हजार ८१६ मेट्रिक टन ग्यास आयात भइसकेको छ ।
काठमाडौं उपत्यकामा उच्च माग भएका केही उद्योगहरुको ग्यास सहज रुपमा उपलब्ध गराउन टेकुस्थित निगमको कार्यालयबाट समेत बिक्री भइरहेको छ । नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यास बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म वितरण भइरहेको निगमले जनाएको छ ।
निगमले विक्रेताहरुलाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिन, खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर रेकर्ड राख्न कडा निर्देशन दिइएको छ । जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घ रोगीहरूलाई विशेष प्राथमिकतामा राखी ग्यास वितरण गर्न भनिएको छ ।
ग्यास नपाएको वा कुनै समस्या तथा गुनासो भएमा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न निगमले भनेको छ । उपत्यका बाहिरका उपभोक्ताले पनि सम्बन्धित प्रादेशिक कार्यालय, शाखा कार्यालय तथा डिपोहरूमा सम्पर्क राखी सेवा लिन सक्नेछन् ।




