९ जेठ , काठमाण्डौ।
विश्व प्रतिष्ठित फिल्म महोत्सव कान्समा नेपालले इतिहास रचेको छ । नेपाली फिल्म ’एलिफेन्ट्स इन द फग’ले कान्समा महत्त्वपूर्ण पुरस्कार ‘जुरी प्राइज’ जितेको छ । फ्रान्समा भएको ७९औँ कान्स फिल्म फेस्टिभलमा अविनाश विक्रम शाह निर्देशित फिल्म ’एलिफेन्ट्स इन द फग’ले दोस्रो महत्त्वपूर्ण विधा ’अन सर्टेन रिगार्ड’तर्फ क्लोजिङ सेरोमनीमा उक्त अवार्ड जितेको हो ।
नेपाली फिल्मले विश्वप्रसिद्ध फेस्टिभलको मञ्चमा यो महत्वपूर्ण पुरस्कार जितेको हो । शाह निर्देशित छोटो फिल्म ‘लोरी’ले यसअघि पनि कान्समा स्पेसल मेन्सन पुरस्कार जितेको थियो । यस विधाको मुख्य ‘अन सर्टेन रिगार्ड प्राइज’ अस्ट्रियाली निर्देशक सान्द्रा वोल्नरको फिल्म ‘एभ्रिटाइम’ले जित्यो ।
त्यसपछिको दोस्रो मुख्य अवार्ड नेपालले पाएको हो । ‘स्पेशल जुरी प्राइज’ फ्रान्सेली निर्देशक लुइस क्लिसीको फिल्म ‘आइरन बोई’लाई प्रदान गरियो । उत्कृष्ट अभिनेतातर्फ ‘कंगो ब्वाय’का अभिनेता ब्राड्ली फियोमोना डेम्बेआसेट पुरस्कृत भए । उक्त फिल्मका निर्देशक राफिकी फारियाला हुन् ।
उत्कृष्ट अभिनेत्रीको पुरस्कार ‘सिएम्प्रे सोय तु एनिमल मातेर्नो’का कलाकार मरिना डे टाभिरा, डानिएला मारिन नाभारो र मारिएन्जेल भिलेगासलाई संयुक्त रूपमा प्रदान गरिएको हो । फिल्मको निर्देशन भालेन्टिना माउरेलले गरेकी हुन् । यसवर्षको कान्स फेस्टिभल आज सकिँदैछ र सोही क्रममा मुख्य विधाको विजेता समेत घोषणा हुनेछ ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल पनि सहभागी भएकी थिइन् । उनले खुसी हुँदै शुक्रबार राति सामाजिक सञ्जालमा लेखेकी छन्, ‘नेपालले भर्खरै ७९औँ कान्स फिल्म फेस्टिभलमा इतिहास रच्यो। अविनाश विक्रम शाह निर्देशित एलिफ्यान्ट्स इन द फगले कान्स २०२६ मा अन सर्टेन रिगार्डमा निर्णायक पुरस्कार जितेको छ।
यो केवल एउटा फिल्मको जित मात्र होइन, यो नेपाली सिनेमाको लागि ऐतिहासिक क्षण हो।’ फ्रान्सको कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुन गत आइतबार फ्रान्स प्रस्थान गरेकी थिइन्। कान्स र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् ।
यही जेठ ७ गते कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ को वल्र्ड प्रिमियर भएको थियो । प्रिमियरअघि निर्देशक अविनाश विक्रम शाहसहित फिल्मका मुख्य कलाकारहरू पुष्प थिङ लामा, सहद दिन मिया, जस्मिन विश्वकर्मा, अलिज घिमिरे, चयन अधिकारीलगायत कान्सको रेड कार्पेटमा प्रस्तुत भएका थिए ।
कान्समा फिल्मको प्रिमियर हेरेर विश्वका चर्चित चलचित्रकर्मीले ‘एलिफेन्ट्स इन द फग’को तारिफ गरेका थिए । भारतका चर्चित निर्देशक अनुराग कश्यपले लेटरबक्सडी (फिल्महरूको मूल्यांकन र समीक्षा गर्ने प्लाटफर्म) मार्फत फिल्मको खुलेर प्रशंसा गरेका थिए । कान्समा प्रिमियर भएपछि अन्तर्राष्ट्रिय मिडियामा समेत फिल्म ‘एलिफेन्ट्स इन द फग’को समीक्षा प्रकाशन भएको थियो।
प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीले एक ट्रान्सजेन्डर समुदायमा आधारित मन छुने फिल्म भनेर लेखेको छ। निर्देशक अविनाश विक्रम शाहले दक्षिण एसियामा ट्रान्स पहिचानप्रतिको स्वीकृतिको लेनदेनमुखी स्वरूपलाई सूक्ष्म रूपमा प्रस्तुत गरेको समीक्षामा उल्लेख छ । अविनाशको लेखन र निर्देशनमा बनेको फिल्म ‘एलिफेन्ट्स इन द फग’मा जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा छ ।
यो फिल्मले २०८१ सालमा ६ लाख नर्वेजियन क्रोनर (झन्डै ७६ लाख रुपैयाँ) को ‘सरफन्ड ग्रान्ट’ जितेको थियो। फिल्ममा मुख्य अभिनेत्री पुष्पा थिङ छिन् । उनीसहित दिपीका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, जोएल गुरुङ, उमेश पाण्डेलगायतले अभियन गरेका छन्। गौरी मल्ल, माओत्से गुरुङ, शान्ति गिरी, संजय गुप्ता दुरा, महिमा नवबाग, आशान्त शर्मा, अनिल कुर्मी, आकांक्षा कार्कीलगायत पनि यस फिल्ममा छन्।
जयन्ती क्रिएसनबाट कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल, प्रचण्डमान श्रेष्ठ निर्माता छन्। अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट अनुप पौडेल निर्माता रहेको यस चलचित्रमा फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स र पल जिश्लर, ब्राजिलबाट तातियाना लेइते तथा लेओनार्दो मेक्की र नर्वेबाट भेरोना मेइर स्टोर्म अन्तर्राष्ट्रिय निर्माता हुन् ।
चलचित्रलाई चलचित्रकर्मी मिन भाम, चलचित्रकर्मी प्रवेश गुरुङ, अभिनेत्री केकी अधिकारि, प्रतीक सुवेदी, प्रतिभा जोशी, सन्तोष भट्टराई, आदित्य बस्ने र अनोज पौड्यालले निर्माताको रूपमा योगदान दिएका छन् ।



