काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा आर्थिक सुधारलाई प्रभावकारी कार्यान्वयनमा लैजान मौद्रिक र वित्तीय नीतिबीचको समन्वय थप सुदृढ बनाउनुपर्ने बताएका छन्। राष्ट्र बैंकमा बुधबार आयोजित छलफलमा अर्थमन्त्री वाग्लेले सरकारले ल्याएको बजेटलाई सामान्य वार्षिक बजेट नभई आर्थिक सुधार र संरचनागत रूपान्तरणको रोडम्यापका रूपमा प्रस्तुत गर्दै त्यसलाई सफल बनाउन राष्ट्र बैंकको भूमिका निर्णायक हुने बताए।
उनले पछिल्ला दिनमा उद्योगी–व्यवसायी तथा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग भएको छलफलबाट निजी क्षेत्रले सहुलियतभन्दा पनि स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयनको अपेक्षा गरेको उल्लेख गरे।
“हाम्रो सोच, प्राथमिकता र कार्यसम्पादन एउटै दिशामा उन्मुख हुनुपर्छ,” उनले भने।

अर्थमन्त्री वाग्लेले विगत एक दशकका आर्थिक नीतिको समीक्षा गर्दै नीति निर्माण भए पनि कार्यान्वयनमा अपेक्षित सफलता हासिल हुन नसकेको बताए। निजी क्षेत्रको लगानीमा आत्मविश्वास घट्नु, बैंकिङ प्रणालीमा तरलता बढ्दा पनि उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह हुन नसक्नु, पूँजी बजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध कमजोर हुनु तथा उत्पादन र उत्पादकत्वले अपेक्षित गति लिन नसक्नुजस्ता विषयमा गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ थियो।
उनले राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई सरकारले अघि सारेका आर्थिक सुधारलाई सफल बनाउन आवश्यक नीतिगत पहल, उत्पादनमुखी क्षेत्रमा कर्जा विस्तार, अधिक तरलतालाई उद्योग, उत्पादन र रोजगारीमा रूपान्तरण गर्ने उपाय, पूँजी बजार र बैंकिङ प्रणालीबीचको सम्बन्ध सुधार तथा मौद्रिक र वित्तीय नीतिबीच प्रभावकारी समन्वयका विषयमा धारणा राख्न आग्रह गरे।
त्यसैगरी, डिजिटल वित्त, फिनटेक, वैकल्पिक वित्त, स्टार्टअप वित्तपोषण र नयाँ वित्तीय उपकरणलाई सहज बनाउन पनि राष्ट्र बैंकले अग्रसर हुनुपर्ने उनले बताए।
अर्थमन्त्री वाग्लेले नियमनको उद्देश्य नियन्त्रणमा मात्र सीमित नरही उत्पादनशील आर्थिक गतिविधिलाई सक्षम बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए। “हामी ‘यो सम्भव छैन’ भन्ने सोचबाट होइन, ‘यसलाई सम्भव बनाउन के गर्नुपर्छ?’ भन्ने सोचबाट अघि बढ्नुपर्छ,” उनले भने।
सरकारले सुधार प्रक्रिया सुरु गरिसकेको, आवश्यक कानुनी संशोधन, संस्थागत सुधार र कार्यान्वयनलाई तीव्रता दिइरहेको उल्लेख गर्दै उनले मौद्रिक पक्षबाट पनि त्यही स्तरको स्पष्टता, गति र प्रतिबद्धता आवश्यक रहेको बताए।
राष्ट्र बैंकलाई उनले नियामक संस्थाका रूपमा मात्र नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सह–निर्माताका रूपमा हेर्न चाहेको उल्लेख गरे। बैठकमा उठेका सुझावलाई कार्ययोजनामा रूपान्तरण गरिने, आवश्यक परे संयुक्त कार्यदल गठन गरिने र नीतिगत समन्वयलाई संस्थागत गरिने पनि उनले जानकारी दिए।
अन्त्यमा अर्थमन्त्री वाग्लेले सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्र एउटै दिशा र आत्मविश्वासका साथ अघि बढे नेपालको आर्थिक रूपान्तरण कार्यान्वयनको चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरे।




