कोशी एमाले विवाद : हिक्मत गुण्डूमा, शेरधन पक्ष सांसदको हस्ताक्षर जुटाउँदै

१९ साउन ८३, बुधबार

काठमाडाैं- कोशी प्रदेशको विवाद समाधान गर्ने प्रयासस्वरूप मुख्यमन्त्री हिक्मतकुमार कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डू पुगेका छन्। अध्यक्ष ओलीको सचिवालयका अनुसार कार्कीसँगै प्रदेश अध्यक्ष घनश्याम खतिवडा र प्रदेश सचिव राजकुमार भण्डारी पनि छलफलमा सहभागी छन्। तर, प्रदेश इन्चार्ज शेरधन राई भने उक्त भेटमा सहभागी छैनन्। कोशी प्रदेशसभाका एक सदस्यका अनुसार उनी अहिले विराटनगरमै छन्।

Advertisement

गत शनिबार विराटनगरमा राई र कार्कीबीच करिब दुई घण्टा छलफल भएको थियो। उक्त छलफलमा राईले अध्यक्ष ओलीको निर्देशन कार्यान्वयन गर्न भन्दै कार्कीसँग मुख्यमन्त्रीबाट राजीनामा मागेका थिए। तर, कार्कीले आफूले राजीनामा दिनुपर्ने अवस्था आए पार्टीको संस्थागत निर्णय हुनुपर्ने अडान राखेका थिए। त्यसयता एमालेभित्रको विवाद प्रदेश तहमा थप चर्किएको छ।

यही विवाद समाधानका लागि अध्यक्ष ओलीले प्रदेशका नेताहरूलाई काठमाडौं बोलाएका हुन्। केन्द्रमा पुगेका मुख्यमन्त्री कार्कीले मंगलबार पनि अध्यक्ष ओलीसँग एक्लाएक्लै (वान–टु–वान) भेट गरेका थिए।

Advertisement

कार्की निकट स्रोतका अनुसार उक्त भेटमा उनले पार्टीले संस्थागत निर्णय गरे आफू एक क्षण पनि मुख्यमन्त्री पदमा नबस्ने स्पष्ट पारेका थिए।

आज पुनः सामूहिक छलफलबाट निष्कर्ष निकाल्ने तयारीका बीच कार्की गुण्डू पुगेका बेला विराटनगरमा भने प्रदेश इन्चार्ज शेरधन राई पक्षले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको एमालेका एक प्रदेशसभा सदस्यले नेपाल टाइम्सलाई बताए।

Advertisement

उनका अनुसार भोजपुरबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य सृजना राई र झापाबाट प्रतिनिधित्व गर्ने अर्का प्रदेशसभा सदस्य होमबहादुर थापाले हस्ताक्षर अभियानको नेतृत्व गरिरहेका छन्। सुनसरी पार्टी इन्चार्ज जगदीश कुसियैत पनि हिक्मत फेर्ने रणनितिमा छन् । त्यस्तै झापाका चिन्तन पाठक, मोरङका लीलाबल्लभ अधिकारी र ज्ञानेन्द्र सुवेदी, धनकुटाका इन्द्रमणि पराजुली तथा खोटाङका पाँचकर्ण राईलगायतले सहयोग गरिरहेका छन्।

ती सदस्यका अनुसार हालसम्म विजय राई, मिना श्रेष्ठ, बुद्धिकुमार राजभण्डारी, नुरसदी बेगमसहित १६ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरिसकेका छन्। इन्द्रमणि पराजुली र चिन्तक पाठक हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारका मन्त्रीसमेत हुन्।

‘मुख्यमन्त्री सहमतिका लागि भन्दै काठमाडौं जानुभएको छ। यता इन्चार्ज भने उहाँलाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर संकलनमा लाग्नुभएको छ,’ ती नेताले भने, ‘अब सहमति हुने सम्भावना कम देखिन्छ। नेताहरूको शक्ति संघर्षले अवस्था झन् टकरावउन्मुख बन्दै गएको छ।’

एमाले कोशी प्रदेश संसदीय दलको विधानअनुसार दलको नेता परिवर्तन गर्न दुईतिहाइ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। कोशी प्रदेशसभामा उपसभामुखसहित एमालेका ४० जना प्रदेशसभा सदस्य छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top