विदेशबाट फर्किने नेपालीलाई विमानस्थल प्रहरीको आग्रह: दलालको प्रलोभनमा परेर सुन वा बहुमूल्य सामान नल्याउनु

१९ साउन ८३, बुधबार

काठमाडौं, साउन १९ — नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेशबाट नेपाल फर्किने नेपाली नागरिकलाई दलाल तथा सुन तस्करहरूको प्रलोभनमा नपरी सुन वा अन्य बहुमूल्य धातुका सामान नल्याउन विशेष अनुरोध गरेको छ। कार्यालयले बुधबार जारी गरेको सूचनामा दुबई, कतार लगायत विभिन्न मुलुकमा श्रम स्वीकृतिमा कार्यरत नेपालीहरू नेपाल फर्किने क्रममा अपरिचित व्यक्ति, दलाल तथा सुन तस्करहरूले आर्थिक प्रलोभन देखाएर सुनका सिक्री, बहुमूल्य धातु तथा अन्य सामान नेपाल ल्याइदिन आग्रह गर्ने र त्यसका लागि खरिद बिलसमेत उपलब्ध गराउने गरेको पाइएको उल्लेख गरिएको छ।

Advertisement

यस्ता वस्तु बोकेर नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कानुनबमोजिम जाँचका क्रममा अवैध रूपमा सुन ओसारपसार गरेको अभियोगमा पक्राउ परी कानुनी कारबाहीको सामना गर्नुपर्ने अवस्था सिर्जना भइरहेको भन्दै प्रहरीले त्यस्ता गतिविधिबाट टाढा रहन आग्रह गरेको छ।

प्रहरीले अपरिचित व्यक्ति वा दलालले दिएको सुन, बहुमूल्य धातु वा अन्य सामान आफ्नो नाममा बोकेर नेपाल नल्याउन, अरूको झोला वा प्याकेट त्यसको वास्तविक विवरण नबुझी आफ्नो जिम्मामा नलिन तथा खरिद बिल वा अन्य कागजात भएकै आधारमा कानुनी जिम्मेवारीबाट उन्मुक्ति पाइन्छ भन्ने भ्रममा नपर्न पनि सचेत गराएको छ।

Advertisement

साथै, सानो लापरवाहीले ठूलो कानुनी समस्या निम्त्याउन सक्ने भएकाले दलालको प्रलोभनमा नपर्न, अवैध सुन ओसारपसारबाट टाढा रहन तथा विमानस्थलमा शंकास्पद गतिविधि वा प्रलोभन देखिए तत्काल सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन विमानस्थल सुरक्षा कार्यालयले सबैमा अपिल गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top