रुसको भीषण हवाई आक्रमणः किएभमा १७ जनाको मृत्यु,दर्जनौँ घाइते

२१ साउन , काठमाण्डौ ।

Advertisement

रुसले युक्रेनको राजधानी किभ र यसका आसपासका रणनीतिक क्षेत्रहरूलाई लक्षित गर्दै बुधवार मध्यरातपछि एकैसाथ व्यापक रूपमा भीषण हवाई आक्रमण गरेको छ। जारी द्वन्द्वका क्रममा यस वर्ष किभ क्षेत्रमा भएको सबैभन्दा घातक र ठूलो हमलामध्ये एक मानिएको यस घटनामा परी कम्तीमा १७ जना नागरिकले ज्यान गुमाएका छन् भने ४५ भन्दा बढी व्यक्तिहरू गम्भीर रूपमा घाइते भएका छन्।

मध्यरातको शान्तिलाई चिर्दै भएका श्रृंखलाबद्ध विस्फोटहरूले राजधानी र यस वरपरका क्षेत्रमा ठुलो मानवीय तथा भौतिक क्षति पु¥याएको छ। युक्रेनी राज्य आपतकालीन सेवा विभाग, स्थानीय प्रशासन र क्षेत्रीय सैन्य अधिकारीहरूले दिएको औपचारिक जानकारी अनुसार, रात्रिकालीन यस भीषण आक्रमणबाट सबैभन्दा बढी क्षति किभ क्षेत्रमा पुगेको छ।

Advertisement

त्यहाँ मात्रै १६ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी मानिसहरू घाइते अवस्थामा विभिन्न अस्पतालमा उपचाररत छन्। किभ क्षेत्रीय सैन्य प्रशासनका अनुसार विशेष गरी ब्रोभरी जिल्लामा मात्रै नौ जना नागरिकले ज्यान गुमाएका छन् भने १२ जना गम्भीर घाइते भएका छन्।

यसैगरी, राजधानी किभ सहरको भित्री भूभागमा भएको छुट्टै आक्रमणमा एक जनाको मृत्यु भएको र २६ जना घाइते भएको विवरण सार्वजनिक भएको छ।किभका मेयर भिताली क्लिच्कोले राजधानीमा उद्धारकर्मीहरूले भग्नावशेष हटाउने र खोजबिन गर्ने काम युद्धस्तरमा जारी राखेको जानकारी दिएका छन।

Advertisement

क्षतिको परिमाण धेरै ठुलो भएकाले भग्नावशेषमा अझै पनि केही मानिसहरू फसेको हुन सक्ने आशङ्का गरिएको छ, जसले गर्दा आगामी घण्टाहरूमा मृतकको सङ्ख्या अझै बढ्न सक्ने खतरा रहेको छ।युक्रेनी वायुसेनाका अनुसार रुसले यस रातको आक्रमणमा आफ्नो अत्याधुनिक सैन्य क्षमता र घातक हतियारहरूको विशाल भण्डार प्रयोग गरेको थियो ।

रुसले रातभरको अवधिमा युक्रेनी आकाशमा कुल ११५ वटा आक्रमणकारी ड्रोनहरू, २४ वटा इस्कान्डर–एमएस–४०० ब्यालिस्टिक क्षेप्यास्त्रहरू तथा चारवटा जिरकोन र ओनिक्स जहाजविरोधी क्षेप्यास्त्रहरू प्रहार गरेको वायुसेनाले पुष्टि गरेको छ।

युक्रेनी हवाई प्रतिरक्षा प्रणालीले उच्च सतर्कता अपनाउँदै तीव्र गतिमा प्रतिक्रिया जनाएर ९८ वटा ड्रोनलाई आकाशमै खसाल्न सफल भए पनि उच्च गतिका र शक्तिशाली ब्यालिस्टिक क्षेप्यास्त्रहरूलाई भने रोक्न पूर्ण रूपमा असफल भएको उल्लेख छ ।

अत्याधुनिक र अदम्य गतिका ब्यालिस्टिक क्षेप्यास्त्रहरूलाई निष्प्रभावी बनाउन विशेष किसिमको उन्नत र महँगो प्रतिरक्षा प्रणालीको आवश्यकता पर्छ। तर, युक्रेनसँग हाल त्यस्तो प्रविधि र क्षमताको व्यापक अभाव रहेको रक्षा विश्लेषकहरूले बताएका छन्।

यही प्राविधिक कमजोरीको फाइदा उठाउँदै रुसले पछिल्लो समय युक्रेनविरुद्ध ब्यालिस्टिक आक्रमणको दायरा र घनत्व दुवै बढाउँदै लगेको छ।आक्रमणबाट किएभ र यसका आसपासका क्षेत्रमा रहेका आवासीय अपार्टमेन्टहरू, रेल स्टेसन, ठुला गोदामहरू, खाद्य केन्द्रहरू, व्यावसायिक भवनहरू तथा विभिन्न औद्योगिक संरचनाहरूमा अपूरणीय क्षति पुगेको छ।

भीषण विस्फोटका कारण पाँच मुख्य स्थानमा आगलागी भएको थियो। प्रारम्भिक र आधिकारिक आँकडा अनुसार आगलागी र विस्फोटका कारण करिब दुई लाख ३० हजार वर्गमिटर क्षेत्रको सहरी तथा औद्योगिक पूर्वाधार नराम्ररी प्रभावित भएको छ।

यसले गर्दा स्थानीय नागरिकहरूको दैनिक जीवन थप कष्टकर बनेको छ।युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यस दुःखद घटनाप्रति गहिरो शोक तथा आक्रोश व्यक्त गर्दै मित्रराष्ट्रहरू र साझेदार देशहरूलाई समयमै प्रभावकारी कदम चाल्न गम्भीर आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यदि युक्रेनलाई समयमै पर्याप्त मात्रामा अमेरिकी प्याट्रियट तथा अन्य उच्चस्तरीय क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरू उपलब्ध गराइएको भए यति निर्दोष नागरिकहरूको ज्यान बचाउन सकिने बताएका छन् ।

मित्रराष्ट्रहरूबाट सुरक्षात्मक सैन्य सामग्री तथा प्रतिरक्षा प्रणाली प्राप्त गर्न भइरहेको ढिलाइले गर्दा युक्रेनी जनताले बारम्बार ठुलो जनधनको क्षति व्यहोर्न बाध्य हुनुपरेको उनले दोहोर्याए। समयमै आधुनिक सुरक्षा कवच उपलब्ध नहुनु नै यस्ता मानवीय त्रासदीहरू बारम्बार दोहोरिनुको प्रमुख कारण रहेको युक्रेनी पक्षको ठहर छ।

यता, रुसी रक्षा मन्त्रालयले भने किभ र यसका आसपासका क्षेत्रमा गरिएको यो ठुलोस्तरको आक्रमण पूर्ण रूपमा सैन्य उद्देश्यद्वारा प्रेरित र न्यायसङ्गत रहेको स्पष्ट पारेको छ। मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्तिमा नागरिक वस्तीहरूलाई लक्षित नगरिएको दाबी गर्दै, किएभ क्षेत्रमा रहेका अवैध हतियार भण्डारण केन्द्रहरू, ड्रोन उत्पादन तथा वितरण गर्ने स्थलहरू, अत्याधुनिक रोबोटिक प्रणालीहरू, विद्युतीय युद्ध उपकरणका केन्द्रहरू र महत्त्वपूर्ण यातायात तथा रसद पूर्वाधारहरूलाई मात्र निशाना बनाइएको उल्लेख गरिएको छ।

यसका अतिरिक्त, रुसी सेनाले ओडेसाको दक्षिणी क्षेत्रस्थित कृष्ण सागरमा सैन्य सामग्री र हतियार बोकेका युक्रेनका तीनवटा सुक्खा मालवाहक जहाजहरूमाथि पनि सफलतापूर्वक प्रहार गरिएको जनाएको छ। साथै, ओचाकिभको दक्षिणपूर्वी क्षेत्रमा युक्रेनका दुई वटा मानवरहित यानहरूलाई समेत नष्ट गरिएको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ।

युक्रेनी पक्षबाट भने रुसी दाबीका यी सैन्य पक्षहरूका बारेमा तत्काल कुनै विस्तृत प्रतिक्रिया आएको छैन। किभ लगायत युक्रेनका प्रमुख सहरहरूमा हाल उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

हवाई आक्रमणको खतरा कायमै रहेकाले स्थानीय प्रशासनले नागरिकहरूलाई अनावश्यक रूपमा घर बाहिर ननिस्कन, हवाई आक्रमणको साइरन बजेलगत्तै सुरक्षित आश्रयस्थल (बंकर) हरूमा जान र सुरक्षा निर्देशनहरूको कडाइका साथ पालना गर्न विशेष आग्रह गरेको छ। राजधानीमा भग्नावशेष पन्छाउने र हराएकाहरूको खोजी गर्ने कार्य अहिलेसम्म पनि निरन्तर जारी रहेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top