काठमाडाैं– नेपाल पर्वतारोहण संघ (एनएमए) ले पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएका आफ्ना गण्डकी प्रदेश समितिका उपाध्यक्ष तथा मनाङ पर्वतारोहण विद्यालय समितिका सदस्य पुरबहादुर गुरुङ (युक्त) को पार्थिव शरीर बिहीबार साँझ काठमाडौं ल्याइने जनाएको छ।
संघका महासचिव राजेन्द्रबहादुर लामाले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार गुरुङको पार्थिव शरीर आज (६ अगस्ट २०२६) साँझ ४:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ।
पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज साँझ ५:३० बजे नक्सालस्थित नागपोखरीमा रहेको नेपाल पर्वतारोहण संघको सचिवालयमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ। त्यसैगरी, गुरुङको अन्त्येष्टि शुक्रबार (७ अगस्ट २०२६) बिहान ९:०० बजे स्वयम्भूमा गरिने कार्यक्रम तय गरिएको संघले जनाएको छ।

गत बुधबार पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा परी गुरुङको निधन भएको थियो।





