२२ साउन , काठमाण्डौ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने आफ्नो अभियानलाई नयाँ स्वरूप दिँदै दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। अमेरिकी सर्वोच्च अदालतले यसअघि उनको पुरानो आदेश कार्यान्वयन गर्न नपाइने निर्णय गरेपछि ट्रम्पले नयाँ उपायमार्फत नीति अघि बढाएका हुन्।
अमेरिकी सर्वोच्च अदालतले केही साताअघि उनको अघिल्लो प्रयास असंवैधानिक ठहर गर्दै रोक लगाएपछि ट्रम्पले बिहीबार दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । नयाँ आदेशमध्ये पहिलोले अमेरिकामा जन्मिएका केही शिशुले स्वतः अमेरिकी नागरिकता नपाउने अवस्थाको दायरा विस्तार गरेको छ ।

दोस्रो आदेशले ‘बर्थ टुरिजम’ अर्थात् बच्चालाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले अमेरिका पुगेर सुत्केरी हुने अभ्यासमा प्रतिबन्ध लगाएको छ । ट्रम्पले आप्रवासनसम्बन्धी दुईवटा कार्यकारी आदेशमा हस्ताक्षर गरेको जानकारी दिएका छन्।
बिहीबार सार्वजनिक गरिएको लिखित कार्यकारी आदेश यसअघिको सर्वोच्च अदालतले खारेज गरेको आदेशभन्दा सीमित दायराको छ। यसले विशेष गरी विदेशी दूतावास वा अन्तर्राष्ट्रिय संस्थासँग सम्बन्ध भएका व्यक्तिका सन्तान, अमेरिकाले ‘विदेशी शत्रु’ मानेका व्यक्तिका सन्तान तथा जालसाजी गरेर नागरिकता प्राप्त गर्ने प्रयास गरेका अभिभावकका सन्तानलाई स्वतः नागरिकता नदिने व्यवस्था गर्न खोजेको देखिन्छ।
दोस्रो आदेशले ट्रम्पले ‘बर्थ टुरिजम’ भनेको अभ्यासलाई नियन्त्रण गर्न अमेरिकामा शिशु जन्माउने उद्देश्यले भिसा लिएर आउने विदेशीमाथि थप प्रतिबन्ध लगाउने व्यवस्था गरेको छ। ट्रम्पको यो नयाँ प्रयास कत्तिको सफल हुन्छ भन्ने तत्काल स्पष्ट छैन।
उनले आफ्ना नयाँ आदेश संविधानअनुकूल रहेको विश्वास व्यक्त गर्दै भने, हामी सर्वोच्च अदालतमा जित्छौँ भन्ने लागेको थियो। दुर्भाग्यवश, अत्यन्तै अन्यायपूर्ण निर्णय आयो। त्यसको असर देशले भोगिरहेको छ, त्यसैले हामी फरक तरिकाले यसलाई अन्त्य गर्दैछौँ।
माइग्रेसन पोलिसी इन्स्टिच्युटले सन् २०२६ को आफ्नो अध्ययनमा, शिशुलाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले मात्र भिसा लिनु पहिलेदेखि नै जालसाजी मानिने र त्यस्तो अवस्थामा भिसा सीमित गर्न सकिने उल्लेख गरेको छ।
अघिल्ला अमेरिकी प्रशासनहरूले पनि गर्भवती महिलालाई गर्भ लुकाएर अमेरिका ल्याउने ‘बर्थ टुरिजम’ योजनामाथि कानुनी कारबाही चलाएका थिए। ट्रम्पको दोस्रो कार्यकालमा जन्मसिद्ध नागरिकता उनको आप्रवासन नीतिको प्रमुख एजेन्डामध्ये एक बनेको छ।
ट्रम्प र उनका समर्थकहरूका अनुसार यो व्यवस्थाले अमेरिकालाई आप्रवासीहरूको आकर्षणको केन्द्र बनाएको छ र अमेरिकी नागरिकता त्यसलाई वास्तविक रूपमा सम्मान गर्ने व्यक्तिका लागि मात्र हुनुपर्छ।
तर, आप्रवासन अधिकारकर्मी र धेरै कानुनविद्हरूले अमेरिकी संविधानले नागरिकता पाउने आधार स्पष्ट रूपमा उल्लेख गरेको भन्दै जन्मसिद्ध नागरिकता हटाउन नमिल्ने बताएका छन्।
उनीहरूका अनुसार यो व्यवस्थाले सबैलाई देशको भविष्यमा समान अधिकार र जिम्मेवारी दिन्छ, जबकि यसलाई सीमित गर्दा अमेरिकामा दोस्रो दर्जाका नागरिकको अवस्था सिर्जना हुन सक्छ। ट्रम्प प्रशासनले ‘बर्थ टुरिजम’लाई व्यापक समस्या भएको दाबी गर्दै आएको छ। यद्यपि यसको आधिकारिक तथ्यांक छैन।
एमपीआईका अनुसार अमेरिकामा वार्षिक करिब ३५ लाख जन्ममध्ये अनुमानित २६ हजार जन्म मात्र ‘बर्थ टुरिजम’सँग सम्बन्धित हुन सक्छन्। गत जुनमा अमेरिकी सर्वोच्च अदालतले गैरकानुनी रूपमा वा अस्थायी रूपमा अमेरिका बसिरहेका अभिभावकका सन्तानलाई अमेरिकी नागरिकता नदिने ट्रम्पको अघिल्लो प्रयास अस्वीकार गर्दै जन्मसिद्ध नागरिकताको व्यापक व्याख्यालाई यथावत् राखेको थियो।
अमेरिकन सिभिल लिबर्टिज युनियनले ट्रम्पको नयाँ प्रयास पनि अदालतबाट अस्वीकार हुने दाबी गरेको छ। आप्रवासी अधिकार परियोजनाका उपनिर्देशक कोडी वोफ्सी ले बिहीबार जारी गरेको विज्ञप्तिमा भने, “सर्वोच्च अदालतले यो विषयमा पहिले नै निर्णय गरिसकेको छ। जन्मसिद्ध नागरिकता संविधानले सुनिश्चित गरेको अधिकार हो। कुनै पनि नयाँ कार्यकारी आदेशले संविधानको अर्थ परिवर्तन गर्न सक्दैन। जन्मसिद्ध नागरिकताको व्यवस्था फेरबदल गर्ने प्रयास गर्ने कुनै पनि आदेशको अन्त्य पनि अघिल्लो आदेशकै जस्तो हुनेछ।”
दोस्रो कार्यकालको पहिलो दिन ट्रम्पले अमेरिकामा जन्मिने सबै व्यक्तिले स्वतः अमेरिकी नागरिकता पाउने व्यवस्था अन्त्य गर्ने उद्देश्यले कार्यकारी आदेश जारी गरेका थिए। त्यसविरुद्ध तत्काल मुद्दा दायर गर्दै विपक्षीहरूले उक्त आदेश अमेरिकी गृहयुद्धपछि पारित भएको संविधानको १४औँ संशोधन विपरीत रहेको बताएका थिए।
उक्त संशोधनले सीमित अपवादबाहेक अमेरिकामा जन्मिने सबैलाई नागरिकता सुनिश्चित गर्छ। त्यसपछि तल्लो तहका विभिन्न अदालतहरूले आदेश कार्यान्वयनमा रोक लगाए र त्यो कहिल्यै लागू हुन सकेन।
गत जुनमा सर्वोच्च अदालतले ६–३ को बहुमतले ट्रम्पको आदेश खारेज ग¥यो।
यद्यपि धेरै आप्रवासन अधिकारकर्मी र कानुनी विश्लेषकहरूका लागि यो मतान्तर अपेक्षाभन्दा निकै कम थियो, किनकि उनीहरूका अनुसार जन्मसिद्ध नागरिकताको प्रश्न धेरैअघि नै कानुनी रूपमा टुंगिसकेको विषय हो। संविधानले जन्मसिद्ध नागरिकताको संरक्षण गर्छ कि गर्दैन भन्ने मूल कानुनी प्रश्नमा भने पाँच जना न्यायाधीशले मात्र संविधानले यो अधिकार सुनिश्चित गरेको निष्कर्ष निकाले।
अर्का न्यायाधीश ब्रेट काभानाफ ले ट्रम्पको आदेश अस्वीकार गरे पनि उनले आफ्नो निर्णय अमेरिकी संघीय कानुनले जन्मसिद्ध नागरिकता प्रदान गर्ने व्यवस्था गरेको आधारमा दिएका थिए। ह्वाइट हाउसका उपप्रमुख तथा होमल्यान्ड सुरक्षा सल्लाहकार स्टिफन मिलरले पर्यटक वा आगन्तुकको रूपमा अमेरिका प्रवेश गर्ने केही व्यक्तिको वास्तविक उद्देश्य शिशु जन्माएर अमेरिकी नागरिकता प्राप्त गराउनु रहेको दाबी गरे ।
उनका अनुसार त्यसपछि ती बालबालिकाले अमेरिकी नागरिकका रूपमा विभिन्न सुविधा र अधिकार प्राप्त गर्छन् । यद्यपि, अमेरिकी कानुनविद गेब्रियल चिनले ट्रम्पले जारी गरेका नयाँ आदेशका केही प्रावधान कानुनी रूपमा टिक्न सक्ने भए पनि केही व्यवस्थाले गम्भीर संवैधानिक प्रश्न उठाउने बताए ।
बीबीसीसँग कुरा गर्दै उनले राष्ट्रपतिलाई केवल बच्चा जन्माउने उद्देश्यले अमेरिका आउने व्यक्तिमाथि केही सीमा लगाउने अधिकार हुन सक्ने स्वीकार गरे । तर एकपटक अमेरिका भित्र बच्चा जन्मिइसकेपछि उसलाई अमेरिकी नागरिक नमान्ने अधिकार राष्ट्रपतिसँग नभएको तर्क उनले गरेका छन् ।




