२३ साउन , काठमाण्डौ ।
रूस–यूक्रेन युद्धकाबीच अर्को पनि एउटा ठूलो खतराको खुलासा भएको छ । र त्यसको खुलासा अमेरिकी गुप्तचर एजेंसीहरुले गरेका हुन् । अमेरिकी गुप्तचर अधिकारीहरुले रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले आगामी केही वर्षमा नेटोको शक्ति जाँच्नका लागि यसको कुनै एक सदस्य देशमाथि सीमित हमला गर्न सक्ने चेतावनी दिएका छन् ।
यो खबर यस्तो बेलामा आएको छ जब अमेरिकामा हतियारहरुको भण्डार रित्तिँदै गएका दाबीहरु आइरहेका छन् । सीएनएनको रिपोर्ट अनुसार, यो हमला पूर्ण युद्धजस्तो नभई, एक यस्तो कदम हुनसक्छ, जसले नेटोको एकता र उसको सबैभन्दा महत्वपूर्ण सिद्धांत आर्टिकल ५ को परीक्षण लिने खालको हुनसक्छ ।

आर्टिकल ५ अन्तर्गत कुनै एक सदस्य देशमा हमला भए सबै सदस्यहरुमा भएको मानिन्छ । अमेरिकी आँकलन अनुसार, पुटिनको आगामी कदम बाल्टिक देशहरु (लाटभिया, लिथुआनिया, एस्टोनिया) वा पोल्याण्डतर्फ बढ्न सक्छ । गुप्तचर रिपोट्र्समा रूसले साइबर अट्याकदेखि लिएर सीमित सैन्य घुसपैठसम्म कयौं विकल्पहरुमा विचार गरिरहेको भनिएको छ ।
एक यस्तो हमला जसले तनाव बढाउने छ, तर नेटोलाई सिधा युद्धमा धकेल्नु भन्दा थोरै पछाडीको कदम हुनसक्छ । हालैका दिनमा पनि यस्ता केही घटनाहरु देखिसकेका छन् । यसैसाता जर्मनीबाट आएको एउटा घटनाले चिन्ता थप बढाइदिएको थियो । त्यहाँ एक एयरपोर्टको कार्गो एरियामा विस्फोटक पदार्थ भएको ड्रोन फेला परेको थियो ।
अमेरिकी आँकलन अनुसार यो रूसी गुप्तचर एजेंसीसंग जोडिएको विषय हो । सो ड्रोनमा मिलिट्री–ग्रेड विस्फोटक थिए । जर्मनीका गृह मंत्री अलेक्जेंडर डोब्रिन्ड्टले यसलाई ‘नयाँ खतरा’ भनेका छन् र यसका पछाडी ‘विदेशी शक्तिको हात’ रहेको बताएका छन् ।
यो घटनापछि जर्मनीको नेशनल सेक्योरिटी काउंसिलको इमरजेंसी मिटिंग पनि बोलाइएको थियो । पछिल्ला केही समययता नेटो आसपास यस्ता घटनाहरुको संख्या बढ्दै गएको छ । मे महिनामा रोमानियामा एउटा भवनमा विस्फोटक ड्रोन खसेको थियो, जसमा दुई जना घाइते भएका थिए ।
गत वर्ष सेप्टेम्बरमा पोल्याण्डको एयरस्पेसमा प्रवेश गरेका रूसी ड्रोनलाई नेटोको फाइटर जेट्सले खसाएको थियो । अहिले जर्मनीमा पनि विस्फोटक ड्रोन बरामद भएको हो । यी घटनाहरु जोडेर हेर्दा यसले यस्तो प्यार्टनतर्फ संकेत गर्दैछ, जसलाई विशेषज्ञहरुले ‘हाइब्रिड वारफेयर’ को हिस्सा मानिरहेका छन् ।
नेटोको यो खतरा बढिरहँदा यता अमेरिकाको पनि हतियार भण्डार खाली हुँदै गएको छ । रिपोट्र्सका अनुसार, इरानसंगको युद्धमा अमेरिकाले आफ्नो करिब ८०% थाड मिसाइल इंटरसेप्टर र लगभग ५०% प्याट्रियट सिस्टमको प्रयोग गरिसकेको छ ।
यसले भविष्यमा नेटोमाथि हुने कुनै पनि संभावित टकराव वा चीनविरुद्ध रणनीति बनाउने कुरामा अमेरिकालाई असर गर्न सक्छ । यद्यपि, राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रुपमै अमेरिकासंग अझै ठूलो मात्रामा गोला–बारूद’ रहेको र उत्पादन पनि तीव्र पारिएको दाबी गरेका छन् ।
यसबीच नयाँ नयाँ खतराहरु मडारिरहँदा रूस–यूक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरु पनि अहिले ठप्प भएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार, यस वर्ष जनवरीदेखि जूनका बीच रूसी लामो दूरीका हमलाहरुमा नागरिकहरुको मृत्यु गत वर्षको तुलनामा ६०% बढेको छ ।
यसै साता भएको एक हमलामात्रै १७ जनाको ज्यान गएको थियो र कयौं मानिसहरु घाइते भएका थिए । युक्रेनले पछिल्ला दिनहरुमा रुसबाट आएका मिसाइलहरुलाई रोक्न सकिरहेको छैन । यसैबीच अब रुसले अन्य नेटो देशहरुको पनि शक्ति र एकता परीक्षण गर्न लागेका हुन् ।
नेटो सदस्य राष्ट्रहरूको गठबन्धन कत्तिको सुदृढ छ भन्ने कुरा परीक्षण गर्नका लागि रूसले केही वर्षमै कुनै एउटा सदस्य राष्ट्रमाथि हमला गर्न सक्ने खुफिया रिपोर्ट रहेको भनेर अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले पहिलोपटक सार्वजनिक गरेको हो ।
र यो आक्रमण साइबर हमलादेखि सानो भूभागमा सैन्य घुसपैठसम्म हुनसक्ने सूचना रहेको पनि वालस्ट्रिटले जनाएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अहिले युक्रेनविरूद्धको लडाइँमा तत्कालै जित निकाल्न सहज नभएकाले नेटो सदस्य राष्ट्रहरूमाथि अशान्ति सिर्जना गर्नका लागि कुनै एउटा देशमा हमला गर्न सक्ने बताइएको छ ।
अमेरिकी गुप्तचर निकायका पछिल्ला आकलनबारे जानकार तीन स्रोतले पुटिनले नेटोको सामूहिक रक्षा प्रतिबद्धता कति बलियो छ भनेर परीक्षण गर्न सीमित स्तरको कारबाही गर्न सक्ने भनेको हो । यस्तो कदमले नेटोको ऐक्यबद्धता र प्रतिबद्धतालाई चुनौती दिने तर तत्कालै गठबन्धनको सामूहिक सैन्य प्रतिक्रिया निम्त्याउने स्तरसम्म नपुग्ने पनि खुफिया रिपोर्टमा भनिएको छ ।
नेटोको धारा ५ अनुसार गठबन्धनका कुनै एक सदस्यविरुद्ध आक्रमण भए त्यसलाई सबै सदस्य विरुद्धको आक्रमण मानिन्छ । तर साइबर आक्रमण, हाइब्रिड कारबाही वा सानो स्तरको घुसपैठजस्ता घटनामा धारा ५ लागू हुने अवस्था स्पष्ट नहुन सक्छ ।
त्यसैलाई उपयोग गर्दै रुसले नेटोको प्रतिक्रिया परीक्षण गर्न सक्ने अमेरिकी आकलनमा उल्लेख छ । खुफिया रिपोर्टमा रूसबाट हुने हमलाको समय समेत आकलन गरिएको छ । उक्त हमला यही शरद ऋतुदेखि सन् २०२९ भित्र हुन सक्ने भनेर रिपोर्टमा उल्लेख रहेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ ।
जमिनबाट हुने गम्भीर आक्रमणको सम्भावना भने कम रहेको बताइएको छ । तर समय बित्दै जाँदा यसको जोखिम बढ्न सक्ने आकलन गरिएको छ । एक स्रोतका अनुसार पुटिनले नेटोविरुद्ध कुनै कदम चाल्ने हो भने बाल्टिक क्षेत्रका देश वा पोल्यान्डलाई निशाना बनाउन सक्ने सम्भावना बढी हुन्छ। तर पुटिनले कहिले र कुन स्वरूपमा यस्तो कदम चाल्न सक्छन् भन्ने अझै खुला प्रश्न रहेको स्रोतहरूले बताएका छन् ।
अमेरिकी तथा नेटो अधिकारीहरूका अनुसार युक्रेन युद्धबाट पुटिनले आफूलाई सम्मानजनक रूपमा बाहिर निकाल्ने बाटो अर्थात् ‘फेस सेभिङ अफ–र्याम्प’ पाउन नसके उनले नेटोविरुद्ध तनाव बढाउन सक्ने सम्भावना पनि छ ।
रुसले युक्रेनमा अपेक्षित सैन्य सफलता हासिल गर्न नसकेको र घरेलु दबाब बढिरहेको अवस्थामा अमेरिकी गुप्तचर निकायले आफ्नो अघिल्लो आकलन परिवर्तन गरेको जनाइएको छ । यसअघि पुटिन युक्रेन युद्ध चलिरहेका बेला नेटो सदस्य राष्ट्रलाई उत्तेजित गर्ने कदम नचाल्ने अमेरिकी आकलन थियो ।
नेटोका वरिष्ठ सैन्य प्रवक्ता मार्टिन ओ’डोनेलले वर्गीकृत गुप्तचर आकलनबारे टिप्पणी गर्न अस्वीकार गरे। तर उनले नेटोले जुनसुकै अवस्थाका लागि निरन्तर सोच्ने र तयारी गर्ने बताएका छन् । ‘नेटोले निगरानी गरिरहेको छ र आवश्यक परे प्रतिरोध तथा रक्षा गर्न तयार छ, जसको हामी निरन्तर प्रदर्शन गरिरहेका छौं,’ उनले भने ।
युक्रेन युद्ध अन्त्य गर्न अमेरिका र युरोपको नेतृत्वमा भइरहेका कूटनीतिक प्रयास पनि पछिल्लो समय सुस्ताएका छन् । रुसमाथि लगाइएका अमेरिकी तथा युरोपेली प्रतिबन्धले रुसी अर्थतन्त्रमा प्रभाव पारे पनि पुटिनलाई युक्रेनमा सैन्य कारबाही रोक्न बाध्य बनाउन सकेका छैनन् ।
अमेरिकी गुप्तचर आकलनले त्यसैले युक्रेन युद्धको भविष्यसँगै रुसले नेटोको सामूहिक रक्षा प्रणालीलाई प्रत्यक्ष रूपमा परीक्षण गर्न सक्ने सम्भावनालाई पनि आगामी वर्षहरूको प्रमुख सुरक्षा जोखिमका रूपमा अघि सारेको छ ।




