२३ साउन , काठमाण्डौ ।
एउटा १४ वर्षको बालकको हातमा के हुनुपर्छ ? कापी, कलम, या भोलिको सपना ? तर थाइल्यान्डको राजधानी बैंककमा एउटा यस्तो भयावह घटना घट्यो, जसले सिंगो विश्वलाई स्तब्ध बनाएको छ । १४ वर्षीय किशोर, जो हिजोसम्म परिवारका लागि शान्त र ज्ञानी छोरो थियो, ऊ एकाएक आठ जनाको ज्यान लिने एउटा निर्दयी अनुहार बनेर निस्किएको छ ।
आफ्नै हजुरबुबा–हजुरआमाबाट सुरु भएको यो हत्याको शृङ्खला बैंककको एउटा विद्यालयमा पुगेर टुङ्गियो । ५ जना शिक्षक र १ जना विद्यार्थीसहित ८ जनाको ज्यान गयो, २२ जना अस्पतालमा जीवन र मृत्युको लडाइँ लडिरहेका छन् । देब्सिरिन विद्यालयमा भएको यो नरसंहारले एउटा डरलाग्दो सत्य उजागर गरेको छ— घरभित्र लुकेका हतियार र इन्टरनेटको अन्धकारले कसरी बालबालिकालाई मेशिन बनाउँदैछ ।

आखिर किन एउटा सानो बच्चाले यति ठूलो नरसंहार मच्चायो? के उसलाई कसैले उक्साएको थियो? या त ऊ कुनै मानसिक चपेटामा थियो? आज हामी थाइल्यान्डको यो दुःखद घटनाको भित्री पाटो, ती किशोरको पृष्ठभूमि र थाइल्यान्डमा बढ्दो बन्दुक संस्कृतिको विश्लेषण गर्नेछौँ ।
घटना शुक्रबार बिहानको हो । जब बैंककका मानिसहरू आफ्नो दैनिकी सुरु गर्दै थिए, १४ वर्षीय ती किशोरको मनमा भने अर्कै योजना बुनिरहेको थियो । प्रहरीका अनुसार, बिहान ५ः०० बजे, पहिलो हमला उनले आफ्नै घरमा गरे । उनले आफ्नै ७३ वर्षीय हजुरबुबा र ७४ वर्षीया हजुरआमालाई गोली हाने ।
बिहान ७ः३० – ८ः३० बजे । हजुरआमा–हजुरबुबाको हत्या गरेपछि उनी विचलित भएनन् । बरु, उनले हजुरबुबाको लाइसेन्स प्राप्त बन्दुक र दर्जनौँ गोलीहरू झोलामा हाले र शान्त भएर विद्यालय जाने बस चढे । रोयटर्सका अनुसार, उनले बसमा चढ्दा कसैलाई शंका समेत हुन दिएनन् ।
बिहान ८ः३० – ९ः२० बजे । उनी बैंककको ऐतिहासिक ‘देब्सिरिन’ विद्यालय पुगे । अचम्मको कुरा के छ भने, उनले बिहानको पहिलो पिरियडको कक्षा पनि लिए । उनी अरू सामान्य विद्यार्थी जस्तै बेन्चमा बसेर पढिरहेका थिए। तर उनको झोलामा भने मृत्युको हतियार लुकेको थियो ।
बिहान ९ः५० बजे । दोस्रो पिरियड सुरु भएको आधा घण्टा भएको थियो । एकाएक विद्यालयको छैटौँ तलामा गोलीको आवाज गुञ्जियो । ती किशोरले अचानक बन्दुक निकाले र आफ्नै शिक्षकहरूमाथि अन्धाधुन्ध गोली बर्साउन थाले। छैटौँ तलामा मात्रै ३ जना शिक्षकको घटनास्थलमै मृत्यु भयो ।
त्यसपछि उनी भ¥याङबाट तल झर्दै गर्दा बाटोमा भेटिएका जोकोहीमाथि गोली प्रहार गरे । थप दुई शिक्षक र एक विद्यार्थी उनको सिकार बने । १०ः४० बजेसम्ममा विद्यालय युद्धमैदान जस्तै बनिसकेको थियो । जब प्रहरी टोलीले उनलाई घेर्यो, उनले अन्तिम गोली आफैँलाई हाने ।

सबैको मनमा एउटै प्रश्न छ— एउटा १४ वर्षको बच्चा कसरी यति क्रुर हुन सक्छ ? जब प्रहरीले ती किशोरको पृष्ठभूमि अनुसन्धान ग¥यो, केही डरलाग्दा तथ्यहरू बाहिर आए । परिवारका सदस्यहरू उनलाई शान्त र कम बोल्ने स्वभावको भन्थे । तर यो शान्त स्वभाव भित्र एउटा ठूलो आँधी लुकेको रहेछ ।
उनका काकाले दिएको बयान अनुसार, उनी अधिकांश समय घरभित्रै एक्लै बस्थे । उनी बाहिर साथीहरूसँग खेल्नुको साटो कोठामा बन्द भएर ‘हिंस्रक भिडियो गेम’ खेल्ने गर्थे । कतिपय विज्ञहरू भन्छन्, लगातारको भर्चुअल हिंसाले गर्दा वास्तविक संसारको पीडा र मृत्युप्रति उनी संवेदनाशून्य भएका हुन सक्छन् ।
प्रहरीले उनको मोबाइल र कम्प्युटर जाँच गर्दा एउटा अझै गम्भीर कुरा फेला पा¥यो । उनले अमेरिकामा भएका विभिन्न स्कुल सुटिङ (विद्यालय गोलीकाण्ड) का भिडियोहरू बारम्बार हेर्ने गरेका थिए । उनले ती हत्याराहरूको शैली, हतियार चलाउने तरिका र योजनाको अध्ययन गरिरहेको देखिन्छ ।
थाइल्यान्डका राष्ट्रिय प्रहरी प्रमुख जनरल कित्तरात फानफेतले एउटा अचम्मको खुलासा गरे। फरेन्सिक जाँचमा के देखियो भने, किशोरले चलाएका गोलीहरू निकै सटीक थिए । उनले मानिसको संवेदनशील अंगहरू जस्तै टाउको र मुटुलाई निशाना बनाएका थिए ।
यसको अर्थ, यो कुनै आवेगमा गरिएको काम थिएन, बरु यो एउटा वेल–प्लान्ड वा पूर्वतयारीसहितको नरसंहार थियो । यस घटनाले थाइल्यान्डको एउटा अँध्यारो पाटोलाई फेरि सतहमा ल्याइदिएको छ— त्यो हो ‘बन्दुक संस्कृति’। तपाईँलाई सुन्दा अचम्म लाग्न सक्छ, तर थाइल्यान्डमा नागरिकहरूको हातमा बन्दुकको संख्या निकै धेरै छ ।
तथ्याङ्क अनुसार थाइल्यान्डमा करिब १ करोड ३ लाख बन्दुक नागरिकहरूको स्वामित्वमा छ । तीमध्ये झण्डै ४० लाख बन्दुकहरू अवैध छन्, जसको कुनै दर्ता छैन । दक्षिणपूर्वी एसियामा थाइल्यान्डमा बन्दुकबाट हुने हत्याको दर उच्च मध्येमा पर्छ ।
यद्यपि थाइल्यान्डमा बन्दुक राख्ने कानुन कडा छ, तर यसको कार्यान्वयनमा ठूलो प्वाल छ। अवैध बन्दुक राखेमा १० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ, तर सस्तो मूल्यमा अवैध हतियारहरू सजिलै उपलब्ध हुने गर्छन् । यस पटकको घटनामा प्रयोग गरिएको बन्दुक भने कानुनी थियो
त्यो बन्दुक उनका हजुरबुबाको नाममा दर्ता भएको थियो । यसले अर्को ठूलो प्रश्न उठाएको छ— के घरमा राखिएका कानुनी हतियारहरू बालबालिकाको पहुँचबाट सुरक्षित छन् त ? यो विभत्स घटनापछि थाइल्यान्ड सरकार दबाबमा छ । प्रधानमन्त्री अनुतिन चार्नविराकुलले तत्कालै नयाँ र कडा कानुन ल्याउने घोषणा गरेका छन् ।
प्रधानमन्त्रीले अघि सारेका केही मुख्य योजनाहरूमा अब ड्युटीमा रहेका सुरक्षाकर्मी बाहेक कसैले पनि सार्वजनिक स्थानमा बन्दुक बोक्न पाउने छैनन् । सरकारले नयाँ बन्दुकको लाइसेन्स दिन अस्थायी रूपमा रोक लगाउने तयारी गरेको छ ।यस्तै, यो घटनाले गर्दा अब बन्दुक मालिकले आफ्नो हतियार कति सुरक्षित राखेका छन् भन्ने कुराको पनि कडाइका साथ अनुगमन गरिने भएको छ ।
तर प्रश्न उठ्छ, के कानुन कागजमा मात्रै सीमित हुनेछ कि व्यवहारमा पनि लागू होला? किनकि थाइल्यान्डमा यसअघि पनि यस्ता घटनाहरू भइसकेका छन् । सन् २०२२ मा एक पूर्व प्रहरीले डे–केयर सेन्टरमा ३६ जनाको हत्या गरेको घाउ अझै निको भएको छैन । जुन विद्यालयमा यो घटना घट्यो, त्यो कुनै सामान्य विद्यालय होइन ।
१८८५ मा स्थापना भएको देब्सिरिन विद्यालय थाइल्यान्डकै सबैभन्दा प्रतिष्ठित र ऐतिहासिक शैक्षिक संस्थामध्ये एक हो । यहाँबाट थाइल्यान्डका पूर्व प्रधानमन्त्रीहरू, ठूला कूटनीतिज्ञहरू र चर्चित खेलाडीहरू उत्पादन भएका छन् । यस्तो प्रतिष्ठित ठाउँमा भएको यो हत्याकाण्डले थाइल्यान्डको शिक्षा प्रणाली र सुरक्षा व्यवस्थामाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ ।
यो घटनाले केवल ८ जनाको ज्यान मात्र लिएको छैन, बरु हजारौँ विद्यार्थीहरूको मानसपटलमा कहिल्यै नमेटिने एउटा डर पैदा गरिदिएको छ । यो घटना एउटा चेतावनी हो । यो केवल थाइल्यान्डको मात्र समस्या होइन, यो विश्वभरि नै बढ्दो किशोर अपराध र मानसिक स्वास्थ्यप्रतिको बेवास्ताको परिणाम हो ।
हामी सोच्छौँ— छोराछोरी कोठाभित्रै छन्, सुरक्षित छन् । तर यो घटनाले प्रमाणित गरिदिएको छ कि, इन्टरनेटको माध्यमबाट हिंसा हाम्रो बेडरुमसम्मै पुगिसकेको छ । भिडियो गेमको भर्चुअल संसार र वास्तविक जीवनको भिन्नता छुट्याउन नसक्दा एउटा १४ वर्षे बालक ’सिरियल किलर’ बन्न पुगेका छन् ।




