२३ साउन , काठमाण्डौ ।
हिजोआज समाचार पत्रपत्रिका तथा अनलाइनका न्युजफिड हेर्दा एउटा डरलाग्दो समाचारले सबैको मनमा एउटा गम्भीर प्रश्न उब्जाइरहेको छ, के हाम्रो समाज लागुऔषधको दलदलमा फस्दै गएको हो ? हालैका सार्वजनिक केही घटनाहरूले तस्करहरूको डरलाग्दो जालो र उनीहरूले अपनाइरहेका तस्करीका नयाँ–नयाँ शैलीलाई छताछुल्ल पारेका छन् ।
आजैमात्रै एकातर्फ खोटाङ र सुनसरीमा ट्रक, कार र मोटरसाइकलमा गरी क्विन्टलका क्विन्टल गाँजा बरामद भएको छ भने अर्कोतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अत्याधुनिक सुरक्षा घेरालाई छलेर थाइल्यान्डबाट ल्याइएको महँगो गाँजा रिसिभ गर्न दिल्लीबाटै मानिसहरू प्लेन चढेर काठमाडौँ ओर्लिन्छन् ।

यी घटनाहरूले नेपालमा लागुऔषध तस्करी अब सामान्य सीमापार अवैध कारोबार मात्र नरही, एउटा संगठित र अन्तर्राष्ट्रिय जालोमा परिणत भइसकेको स्पष्ट संकेत गर्छन् । पछिल्लो समय सुरक्षा निकायले देशका विभिन्न भागबाट बरामद गरेका लागुऔषधका ठूला परिमाण र तस्करहरूले अपनाएका नयाँ शैलीहरूले हाम्रो समाज कुन दिशातिर जाँदैछ भन्ने गम्भीर प्रश्न उब्जाएको छ ।
एकातर्फ ग्रामीण तथा सहरी क्षेत्रहरू लागुऔषधको भण्डारण र ओसारपसारका सुरक्षित ट्रान्जिट बन्दै गएका छन् भने अर्कातर्फ अन्तर्राष्ट्रिय गिरोहहरूले अत्याधुनिक सुरक्षा घेरालाई समेत छल्न विभिन्न नवीन उपायहरू अपनाउन थालेका छन् । यी सम्पूर्ण घटनाक्रमले राज्यको सुरक्षा संयन्त्र र समग्र समाजका लागि एक ठूलो चुनौती खडा गरेको छ ।
खोटाङ र सुनसरी जिल्लामा भएका लागुऔषध बरामदका घटनाले तस्करहरूको जालो कति गहिराइमा पुगेको छ भन्ने स्पष्ट पार्छ । खोटाङमा एउटा ट्रकको फल्स बटम (गुप्त चेम्बर) भित्र लुकाएर अज्ञातस्थलतर्फ लाँदै गरिएको अवस्थामा १३२५ किलो गाँजा बरामद भएको छ भने यसका चालक फरार रहेका छन् ।
यस्तै प्रकृतिको अर्को घटनामा सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । बराहक्षेत्र–चतरा सडकखण्डमा जाँचका क्रममा एउटा कार र मोटरसाइकलमा रहेका २२ वटा पोकाबाट उक्त परिमाणको गाँजा फेला परेको थियो ।
यस घटनामा संलग्न थमन राई, जीवनी राई, अमर कामत र शङ्कर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई महेन्द्रनगरस्थित इलाका कार्यालयको हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको छ । यी घटनाहरूले नेपालका राजमार्गहरू लागुऔषध ओसारपसारको मुख्य मार्ग बनिरहेको देखाउँछन् ।
यता अन्तर्राष्ट्रिय स्तरका तस्करहरूले अपनाउने शैली अझ बढी चिन्ताजनक बन्दै गएको छ । लागुऔषध नियन्त्रण ब्युरोले सार्वजनिक गरेको एक तथ्यअनुसार, थाइल्याण्डबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हुने तस्करीमा तस्करले हवाई मार्ग र अन्तर्राष्ट्रिय उडानहरूको समेत दुरुपयोग गर्न थालेका छन्।
थाइल्याण्डबाट मगाइएको गाँजा रिसिभ गर्न भारतीय नागरिकहरू नै विमान चढेर काठमाडौँसम्म आउने गरेको रहस्य खुल्नुले सुरक्षा निकायलाई समेत छक्क पारेको छ। बैङ्ककबाट थाई एयरवेजमार्फत आएका तस्करबाट एप्रोन एरियामै गाँजा बुझ्न एयर इन्डियाको विमानमार्फत दिल्लीबाट काठमाडौँ आएका मोहम्मद सब्बिर पक्राउ पर्नुले विमानस्थलको आन्तरिक सुरक्षामा रहेका छिद्रहरूलाई छताछुल्ल पारेको छ।
अनुसन्धानबाट थाइल्याण्डमा सस्तो मूल्यमा पाइने गाँजा नेपाललाई ट्रान्जिट बनाएर भारत पु¥याउँदा प्रतिकेजी ५० लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको खुलेको छ, जसले गर्दा मोटो रकमको प्रलोभनमा परेर अन्तर्राष्ट्रिय गिरोहहरू यस धन्दामा सक्रिय भइरहेका छन्।
यसैबीच, केन्द्रीय प्रहरी समाचारकक्षले हालै सार्वजनिक गरेको तथ्याङ्कले नेपालको समग्र भूभाग नै लागुऔषधको चपेटामा परेको पुष्टि गर्छ । नियमित गस्ती र विशेष अभियानका क्रममा देशका विभिन्न जिल्लाहरूबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसविना प्रयोग गर्न निषेध गरिएका ट्रामाडोलजस्ता नियन्त्रित औषधिहरू सहित ठूलो संख्यामा मानिसहरू पक्राउ परेका छन्।
भक्तपुर, रूपन्देही, नवलपरासी पश्चिम, मकवानपुर, पाल्पा, दाङ, झापा, धनकुटा र बारा जस्ता देशका पूर्वदेखि पश्चिमसम्मका विभिन्न क्षेत्रहरूबाट युवाहरू लागुऔषध कारोबारमा संलग्न रहेको पाइएको छ ।
पक्राउ पर्नेमा अधिकांश युवापुस्ता रहेका छन्, जसले नेपालको भविष्य मानिने जनशक्ति कसरी गलत बाटोतर्फ धकेलिँदैछ भन्ने तीतो यथार्थ उजागर गर्छ। यी सम्पूर्ण घटनाहरूले आजको समाज र राज्य व्यवस्थासामु गम्भीर आत्मसमीक्षाको खाँचो औंल्याएका छन् ।
क्षणिक आर्थिक लाभ र छिटो धनी बन्ने महत्वाकांक्षाले गर्दा युवाहरू यो दलदलमा फस्दै गएका छन् भने यसले पारिवारिक विखण्डन, सामाजिक अपराध र मानसिक स्वास्थ्यका समस्याहरूलाई भयावह रूपमा बढाएको छ ।
तस्करहरूले नयाँ प्रविधि र शैली अपनाइरहँदा हाम्रा सुरक्षा संयन्त्र, गुप्तचर प्रणाली र नियमनकारी निकायहरूलाई अझ बढी प्रविधिमैत्री, चुस्त र कठोर बनाउनु अपरिहार्य भइसकेको छ।
यदि समयमै सरकार, अभिभावक र सम्पूर्ण समाजले यसको विरुद्धमा कूटनीतिक कडाइ, कडा कानुनी कारबाही र व्यापक जनचेतना अभियान सञ्चालन नगर्ने हो भने, लागुऔषधको यो दुष्चक्रले हाम्रो आगामी पुस्ता र समग्र राष्ट्रको भविष्यलाई नै अन्धकारतर्फ धकेल्ने निश्चित छ ।




