२४ साउन , काठमाण्डौ ।
नेपाली क्रिकेटप्रेमीका लागि अत्यन्तै खुसीको खबर बाहिर आएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आधिकारिक रूपमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अर्थात् एनपीएल २०२६ को मिति सार्वजनिक गरेको छ ।
क्यानका सचिव पारस खड्काद्वारा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार यसपटकको प्रतियोगिता आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म (अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६) सञ्चालन हुने भएको छ। क्यानले घोषणा गरेको मिति दशैं र तिहारको बीचमा परेको छ ।

मिति अनुसार तिहार सोही बेला परेको छ । यसअघि भने एनपीएल तिहारपछि मंसिरमा हुँदै आएको थियो । मिति तोकेपनि खेलतालिका भने सार्वजनिक भएको छैन । तिहारमा दुई दिन बाहेक अरु दिन खेल गर्ने क्यानको तयारी छ ।
नेपाली घरेलु क्रिकेटको इतिहासमा फ्रेन्चाइज लिगको रूपमा अभूतपूर्व सफलता हासिल गरेको एनपीएलको यो तेस्रो संस्करण झनै भव्य र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।प्रतियोगिताको समय तालिका सार्वजनिक भएसँगै यसको आन्तरिक तयारी र व्यवस्थापकीय पाटोले पनि तीब्रता पाएको छ।
करिब एक महिनासम्म चल्ने यो महाकुम्भमा देशका विभिन्न प्रमुख सहरहरूको प्रतिनिधित्व गर्ने आठवटा शक्तिशाली फ्रेन्चाइज टिमहरूले उपाधिका लागि कडा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता सुरु हुनभन्दा धेरै अघिदेखि नै क्यान र सहभागी फ्रेन्चाइज टिमहरू आन्तरिक तयारीमा जुटिसकेका छन्।
यसैक्रममा, प्रतियोगिताका लागि आवश्यक पर्ने खेलाडीहरूको अक्सन (निलामी) प्रक्रिया यसअघी अत्यन्तै सफलताका साथ सम्पन्न भइसकेको छ। अक्सनको यो चरण पार गरेसँगै अहिले आठवटै फ्रेन्चाइज टिमहरूले विश्वस्तरीय विदेशी खेलाडीहरूलाई आफ्नो टिममा अनुबन्ध गर्ने क्रमलाई तिब्र बनाइरहेका छन्।
टिमहरूले उत्कृष्ट विदेशी र स्थानीय खेलाडीहरूको सन्तुलन मिलाउँदै मैदानमा आफ्नो दाबेदारी बलियो बनाउन कसरत गरिरहेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) ले निकै छोटो समयमै नेपाली खेलकुद जगतमा एक ऐतिहासिक र क्रान्तिकारी फड्को मारेको छ।
यसअघि सम्पन्न भइसकेका दुई संस्करणहरूले नेपाली क्रिकेटको क्रेज र सम्भावना कति धेरै छ भन्ने कुरा प्रमाणित गरिसकेका छन्। पहिलो संस्करण नै अत्यन्तै रोमाञ्चक र सफल रह्यो, जहाँ उत्कृष्ट र अनुशासित प्रदर्शन गर्दै जनकपुर बोल्ट्स ले पहिलो उपाधि चुम्न सफल भयो।
उक्त पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेर पनि उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो। यसैगरी, दोस्रो संस्करणमा भने लुम्बिनी लायन्स ले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि आफ्नै पोल्टामा पा¥यो। संयोगवश, दोस्रो संस्करणमा पनि सुदूरपश्चिम रोयल्स नै फाइनलमा पराजित हुन पुग्यो।
यसले के देखाउँछ भने सुदूरपश्चिम टिम समग्रमा बलियो देखिए पनि फाइनलको उच्च दबाब झेल्न चुक्दै आएको छ भने अन्य टिमहरूको प्रदर्शन पनि उत्तिकै उत्कृष्ट र सन्तुलित रहेको छ। अघिल्ला दुई संस्करणहरूको अपार सफलता, लोकप्रियता र दर्शकीय क्रेजलाई मध्यनजर गर्दै, तेस्रो संस्करणलाई अझ बढी परिष्कृत, व्यावसायिक र आकर्षक बनाउने तयारी क्यानको रहेको छ।
पहिलो र दोस्रो संस्करणमा मैदानमा देखिएको दर्शकहरूको अपार भिड र डिजिटल माध्यममा प्राप्त भएको रेकर्ड ब्रेक भ्युअर्ससिपले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद ब्रान्ड बनाइसकेको छ । यस फ्रेन्चाइज क्रिकेटका कारण नेपाली खेलाडीहरूले राम्रो पारिश्रमिक पाउनुका साथै ठूला अन्तर्राष्ट्रिय स्टार खेलाडीहरूसँग एकै ड्रेसिंग रुमसेयर गर्ने र उनीहरूबाट सिक्ने सुवर्ण अवसर पाइरहेका छन्।
यसले खेलाडीहरूको व्यक्तिगत विकासमा मात्र नभई समग्र नेपाली क्रिकेटको गुणस्तर उकास्न ठूलो टेवा पु¥याएको छ। साथै, एनपीएलले नेपालमा खेल पर्यटन लाई पनि ठूलो टेवा पु¥याएको छ। विभिन्न फ्रेन्चाइज टिमहरूले स्थानीय प्रतिभालाई उजागर गर्दै, देशको अर्थतन्त्र र खेलकुद संस्कृतलाई नयाँ उचाइमा पु¥याउन अहम् भूमिका खेलेका छन्।
आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपीएल २०२६ ले नेपाली क्रिकेटप्रेमीहरूको ध्यान पूर्ण रूपमा खिच्ने निश्चित छ। जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स जस्तै यसपटक कुन नयाँ वा पुरानो टिमले च्याम्पियन बन्ने सौभाग्य पाउला भन्ने कौतूहल खेलप्रेमीहरूमा छाएको छ।
विश्वस्तरीय विदेशी खेलाडीहरूको सहभागिता, उत्कृष्ट व्यवस्थापन र खेलप्रेमीहरूको अभूतपूर्व साथसहित सञ्चालन हुने यो महाकुम्भले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय जगतमा अझ उचाइमा पु¥याउनेमा कुनै शंका छैन।




