काठमाडौं- चीनको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली आँधी ‘डोल्फिन’ प्रवेश गर्ने भएपछि १६ सयभन्दा बढी उडान रद्द गरिएको छ भने करिब ५ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनएमसी)ले आइतबार आँधीसम्बन्धी सबैभन्दा उच्च तहको ‘रेड अलर्ट’ जारी गरेको छ । आँधीसँगै तीव्र वर्षा र शक्तिशाली हावा चल्ने भएकाले बाढी तथा पहिरोको जोखिम बढेको अधिकारीहरूले बताएका छन् ।
चीकाे सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार सांघाईका हङछियाओ र पुडोङ विमानस्थलबाट मात्रै करिब १ हजार ४ सय उडान रद्द भएका छन् । छिमेकी झेजियाङ प्रान्तको हाङझाउ विमानस्थलका २७० आन्तरिक तथा बाह्य उडानसमेत रद्द गरिएको छ ।
आँधीको जोखिमलाई ध्यानमा राख्दै झेजियाङको ताइझोउ सहरबाट करिब ३ लाख ९० हजार र सांघाईबाट ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । फुजियान प्रान्तमा पनि करिब ९९ हजार मानिसलाई जोखिमयुक्त क्षेत्रबाट स्थानान्तरण गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

झेजियाङ र फुजियानमा २०० भन्दा बढी फेरी सेवा स्थगित गरिएको छ । मौसम विज्ञान केन्द्रका अनुसार झेजियाङका केही क्षेत्रमा २५० देखि ५०० मिलिमिटरसम्म भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ ।
‘डोल्फिन’ आइतबार राति र सोमबार चीनको पूर्वी तटमा पुग्ने तथा त्यसबेला हावाको गति प्रतिघण्टा १६२ किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । त्यसपछि आँधी कमजोर हुँदै भित्री भूभागतर्फ सर्ने मौसम विज्ञान केन्द्रले जनाएको छ ।




