काठमाडौं- तीव्र गतिमा फैलिएको डढेलोले घरहरू जलेर नष्ट भएपछि क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तमा आपतकाल घोषणा गरिएको छ । डढेलोका कारण ओकानागन ताल आसपासका बस्तीबाट २० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको विभिन्न अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।प्रान्तभर १०० भन्दा बढी डढेलो सक्रिय रहेकामा झन्डै आधा नियन्त्रणबाहिर रहेको अधिकारीहरूले बताएका छन् । अत्यधिक गर्मी, तीव्र हावा र लामो समयदेखिको खडेरीका कारण आगलागी थप फैलिने जोखिम बढेको भन्दै अधिकारीहरूले अन्य समुदायलाई समेत ‘विस्फोटक’ अवस्थाको खतरा रहेको चेतावनी दिएका छन् ।
करिब १२ हजार जनसंख्या रहेको समरल्यान्डबाट रातारात सबैलाई सुरक्षित स्थानमा सार्न आदेश दिइएको छ । नजिकैको पिचल्यान्ड तथा आसपासका क्षेत्रका करिब ८ हजार मानिसलाई पनि स्थानान्तरण गरिएको छ । अधिकारीहरूले ठूलो संख्यामा घर तथा संरचना जलेर क्षति भएको पुष्टि गरे पनि आगलागी अझै सक्रिय रहेकाले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताएका छन् ।
डढेलोको गति यति तीव्र थियो कि आपत्कालीन उद्धारमा खटिएका अधिकारीसमेत सुरक्षित स्थानतर्फ भाग्नुपरेको थियो । ओकानागन–सिमिल्कामिन क्षेत्रीय जिल्लाका आपत्कालीन अधिकारी एरिक थम्पसनले आफ्नो परिवारलाई सुरक्षित स्थानमा लैजान आपत्कालीन सञ्चालन केन्द्र नै छाड्नुपरेको ती सञ्चारमाध्यमसँग भनेका छन् ।

शुक्रबार साँझ पहिलोपटक देखिएको ‘बाल्ड रेन्ज’ डढेलो केही घण्टामै १०० वर्ग किलोमिटरभन्दा बढी क्षेत्रमा फैलिएको थियो । आगो करिब १५ किलोमिटर दूरी पार गर्दै ओकानागन तालतर्फ तीव्र गतिमा फैलिएको अधिकारीहरूले बताएका छन् ।
डढेलोले समरल्यान्डको उत्तरतर्फ रहेका धेरै घर भएका क्षेत्र हुँदै ओकानागन तालसम्म क्षति पुर्याएको छ ।




