काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले रोपाइँको मुख्य समय सकिँदासमेत मधेशसहित देशका विभिन्न क्षेत्रमा रासायनिक मलको अभाव कायमै रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत दाहालले सरकारले पर्याप्त मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि किसानले सहज रूपमा मल पाउन नसकेको बताएका हुन्।
उनले उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समान रूपमा पुग्न नसकेको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
मल आयातका लागि समयमै तयारी आवश्यक हुने उल्लेख गर्दै दाहालले आफ्नो नेतृत्वको तत्कालीन सरकारले समयमै मल आपूर्ति र वितरण गर्नुका साथै आगामी आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरेको स्मरण गराएका छन्।




