काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसरमा व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थप गरी कर्जा पाउनेछन्।
हालको आधारदरअनुसार उक्त कर्जाको न्यूनतम ब्याजदर ५.२५ प्रतिशत कायम हुने बैंकले जनाएको छ। बैंकको आधारदर घटबढ भएअनुसार कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुनेछ।
यस्तै, एक्सपोमा नयाँ विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्ने ग्राहकका लागि बैंकले तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको योजना ल्याएको छ। तीन वर्षपछि भने उक्त कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप हुने बैंकले जनाएको छ।

गाडी खरिदका लागि कर्जा लिन इच्छुक ग्राहकलाई लक्षित गर्दै बैंकले नाइमा अटो एक्सपोमै आफ्नो स्टल राखेको छ। ग्राहकले स्टलबाटै कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।आवश्यक कागजात पूरा गरेपछि अधिकतम तीन दिनभित्र गाडी कर्जाको स्वीकृतिपत्र प्रदान गर्ने व्यवस्था गरिएको बैंकको भनाइ छ।
आधुनिक प्रविधि र ग्राहक सेवाका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरेको जनाएको छ। बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरलगायतका पुरस्कारसमेत प्राप्त गरेको छ।
ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक भएको बैंकको दाबी छ। हाल बैंकले ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको जनाएको छ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई र भारतलगायत मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा विप्रेषण भित्र्याउँदै आएको जनाएको छ।




