२८ साउन, काठमाण्डौ ।
पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । पत्रकार श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित थियो । उनीविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
उनी जनआस्था साप्ताहिका सम्पादक हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेले श्रेष्ठविरुद्ध एक जना पीडितले उजुरी दिएको बताएका छन् । ’केही दिनअघि उहाँको सञ्चारमाध्यममा आएको तस्बिरसँग सम्बन्धित विषय हो,’ उनले भनेका छन् ’अहिलेसम्म एउटा मात्र उजुरी आएको हो ।’

यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंमा श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयता ऐनसम्बन्धी कसुरमा जाहेरी दर्ता भएपछि त्यसैका आधारमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले पुष्टि गरेका छन् ।
साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशित भएको थियो। उक्त सामग्रीमा एक युवतीको नाम जोडिएको थियो। सोही सामग्रीलाई लिएर नाम जोडिएकी युवतीले प्रहरीमा जाहेरी दिएको उल्लेख छ ।
यस्तै उपसभामुख रुवीकुमारी ठाकुरले पनि हिजो नै जनआस्था डटकमको सामाजिक सञ्जाल पेजबाट आफ्नो तस्बिरसहित आपत्तिजनक र धम्क्याउने किसिमको सामग्री प्रकाशित भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी थिइन् ।
उनको उजुरीमा सामग्रीमा उल्लिखित आरोप र दाबीको स्रोत तथा प्रमाण झिकाई निष्पक्ष छानबिन गर्न माग गरिएको थियो । श्रेष्ठले केही दिनअघि उपसभामुखको तस्विरसहित “सुध्रिनुस् म्याडम अझै समय छ” भन्ने शिर्षकमा समाचार प्रकाशित गरेका थिए ।
उक्त समाचारमा भ्रामक, पद प्रतिस्ठा र सामाजिक चरित्रमा आँँच पुर्याउने गरि विषयवस्तु सम्प्रेषण गरिएको उपसभामुखको उजुरीमा उल्लेख गरिएको छ । उनीविरुद्ध काठमाडौँ प्रहरी परिसरले अदालतबाट पक्राउ पूर्जी लिएको थियो।
उनलाई थुनुवा पुर्जी दिएर जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको छ । आज उनलाई अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ । वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा पक्राउ परेका श्रेष्ठमाथि अनुसन्धानका क्रममा प्रकाशित सामग्रीको प्रकृति, त्यसमा उल्लेखित विवरण तथा सम्बन्धित व्यक्तिको गोपनीयतामा परेको असरलगायत विषयमा छानबिन हुने उल्लेख छ ।
श्रेष्ठ लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन्। उनको पक्राउ प्रकरणपछि पत्रकारिता क्षेत्र तथा अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित उजुरीका विषयमा प्रेस काउन्सिलले हेर्नुपर्नेमा पक्राउ गरिएको भन्दै बहस हुन थालेको छ।
यता श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गरेपछि पत्रकारिता क्षेत्र आन्दोलित भएको छ। श्रेष्ठको पक्राउको विरोधमा पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायत पत्रकार तथा सञ्चारकर्मीहरू काठमाडौं प्रहरी परिसर पुगेका थिए।
उनीहरूले परिसर अगाडि नाराबाजी गर्दै श्रेष्ठको तत्काल रिहाइको माग गरेका थिए । पत्रकारहरूले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन्।
उनीहरूले समाचारमा चित्त नबुझे कानुनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न सकिने भन्दै पत्रकारलाई नै पक्राउ गरेर हिरासतमा राख्ने कार्य स्वीकार्य नहुने बताएका छन्।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारमाथि कुनै पनि प्रकारको हस्तक्षेप हुन नहुने भन्दै पत्रकार महासंघलगायतका संस्थाले सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन्।
उनीहरूले पत्रकारलाई निर्भीक रूपमा समाचार लेख्ने र प्रकाशित गर्ने वातावरण बनाउनसमेत माग गरेका छन्।
जनआस्थाका विगतका समाचारका विषयलाई लिएर यसअघि पनि सामाजिक संजालमा बहस हुने गरेका थिए ।
विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव हुन्।






